हमासले बन्धक रिहाइ रोक्ने बताएपछि ट्रम्पले दिए अल्टिमेटम

बन्धक रिहा नगरिए युद्धविराम अन्त्य गरेर प्यालेस्टिनी समूह हमासलाई निमिट्यान्न पार्ने चेतावनी

माघ ३०, २०८१

एजेन्सी

Trump gave an ultimatum after Hamas said it would stop the release of the hostages

वासिङ्टन/जेरुसलेम — प्यालेस्टिनी समूह हमासले बन्धकको रिहाइ रोक्ने बताएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रोशित बनेका छन् । इजरायलले थुनामा रहेका थप प्यालेस्टिनी बन्दी रिहा गर्ने गरी शनिबार हमासले गाजामा बन्धक बनाइएका ३ जना इजरायलीलाई मुक्त गर्ने योजना थियो । तर इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको बताउँदै हमासले बन्धक रिहाइ स्थगित गरेको जनाएको हो । 

त्यसपछि रुस्ट ट्रम्पले शनिबार दिउँसो १२ बजेसम्म हमासले सबै बन्धक रिहा नगरे युद्धविराम अन्त्यको घोषणा गर्ने चेतावनी दिएका हुन् । उनले बन्धक रिहा नगरिए युद्धविराम अन्त्य गरेर हमासलाई निमिट्यान्न पार्ने चेतावनी दिएको सीएनएनले जनाएको छ । ‘मेरो विचारमा शनिबार १२ बजेसम्म उनीहरू सबै फर्कनुपर्छ । किस्ता किस्तामा गरेर होइन,’ ट्रम्पले भनेका छन्, ‘मैले मेरो विचार राखेको हुँ । इजरायलले यसलाई सच्याउन पनि सक्छ ।’

हमासको नियन्त्रणमा अझै ७६ जना छन् । तीमध्ये ७३ जनालाई हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा गरेको आक्रमणसँगै बन्धक बनाएर लगेको थियो । ७३ मध्ये एक नेपाली विपिन जोशी छन् । कञ्चनपुरका जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका थिए । ३ जना भने एक दशकअघिदेखि नै हमासको नियन्त्रणमा छन् ।

इजरायली रक्षामन्त्री इजरायल कात्सले बन्धकको रिहाइ रोक्नु युद्धविरामको पूर्ण उल्लंघन भएको बताएका छन् । उनले सेनालाई सतर्क अवस्थामा रहनसमेत निर्देशन दिएका छन् । ‘गाजामा सम्भावित जुनसुकै अवस्था र समुदायको सुरक्षाका लागि उच्च सतर्कतामा रहन आदेश दिएको उनको भनाइ छ । ‘हामी ७ अक्टोबरको वास्तविकता फर्कन दिने छैनौं,’ उनले भनेका छन् ।

तर इजरायले युद्धविराम सम्झौताअनुसार आफ्नो दायित्व पूरा गरेको खण्डमा भने शनिबार हुने बन्दी आदानप्रदानको ढोका खुला रहने हमासले जनाएको छ । समाचार संस्था एएफपीका अनुसार हमास प्रवक्ता अबु ओबेदाले इजरायलले विस्थापित प्यालेस्टिनीलाई उत्तरी गाजामा फिर्ता गर्न ढिलाइ गरेको, स्थानीयमाथि गोली चलाएको र सहमतिअनुसार मानवीय सहायता वितरणमा अनुमति नदिएको आरोप लगाएका छन् ।

हमास र इजरायलबीच १९ जनवरीदेखि युद्धविराम सुरु भएको थियो । त्यसयता १६ इजरायली र ५ जना थाई बन्धक रिहा भएका छन् । त्यसको बदलामा इजरायली जेलमा रहेका ५ सय ६६ जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरिएको छ ।

तीन चरणको युद्धविरामको पहिलो चरणमा हमासले बन्धक बनाएका ३३ जनालाई रिहा गर्ने सहमति भएको थियो । त्यसको बदलामा इजरायलले १९ सय प्यालेस्टिनीलाई रिहा गर्ने सम्झौतामा उल्लेख छ । इजरायली प्रधानमन्त्रीको कार्यालयका अनुसार ३३ मध्ये ८ जनाको मृत्यु भइसकेको छ ।

युद्धविराम सम्झौतामा दोस्रो चरणका लागि पहिलो चरण सुरु भएको १६ दिनपछि वार्ता हुने उल्लेख छ । तर वार्ता भने सुरु हुन सकेको छैन । युद्धविरामको दोस्रो चरणमा बाँकी बन्धकहरू रिहा गरिने तथा गाजाबाट इजरायली फौज पूर्ण रूपमा फिर्ता हुने उल्लेख छ । तेस्रो चरणमा गाजाको पुनर्निर्माणको योजना समेटिएको छ । 

एजेन्सी

Link copied successfully