काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजालाई स्वामित्वमा लिने भनेपछि हमासले कडा प्रतिक्रिया जनाएको छ । मंगलबार इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँगको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले गाजा क्षेत्रलाई स्वामित्वमा लिने र पुनः विकास गर्ने बताएका थिए ।
ट्रम्पको यस्तो भनाइलाई हमासका अधिकारी सामी अबु जौहरीले ‘हाँस्यास्पद’र ‘बेतुक’ को संज्ञा दिएका छन् । ट्रम्पको यो भनाइले युद्धविरामपछि जारी बन्दी रिहाइ प्रक्रियालाई प्रभावित पार्ने जौहरीले प्रतिक्रिया दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
इजरायली आक्रमणले ध्वस्त भएको गाजामा अमेरिकाले स्वामित्व लिएर त्यहाँका हतियारहरू नष्ट गर्ने ट्रम्पले बताएका थिए । उनले यथास्थितिमा प्यालेस्टिनीहरुलाई गाजामा नफर्कनसमेत आग्रह गरेका थिए । ‘गाजा बस्नका लागि उचित छैन । मध्यपूर्वकै अन्य देशहरूमा बस्नु उनीहरूलाई राम्रो हुन्छ,’ उनले भनेका थिए । ट्रम्पले दीर्घकालीन स्वामित्व लिने योजना सम्मेलनमा सुनाएका थिए ।
