ढाका — बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको दल अवामी लीगले मुहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारको राजीनामा माग गर्दै शृंखलाबद्ध विरोध प्रदर्शन गर्ने भएको छ । अवामी लिगले हसिनाविरुद्ध लगाइएका ‘झुटा मुद्दा’ र धार्मिक अल्पसंख्यकमाथि भइरहेको दमनको विरोधमा आमहडताल र राष्ट्रव्यापी नाकाबन्दीलगायत प्रदर्शन गर्न लागेको जनाएको छ ।
विद्यार्थी नेतृत्वको आन्दोलनपछि गत अगस्ट ५ मा प्रधानमन्त्री हसिना देश छाडेर भागेकी थिइन् । त्यसयता अवामी लीगका अधिकांश नेताहरू पक्राउ परिसकेका छन् । हसिनाले हाल भारतमा निर्वासित जीवन बिताइरहेकी छन् ।
पार्टीको फेसबुक पेजमा पोष्ट गरिएको विज्ञप्तिअनुसार फेब्रुअरी १ देखि हडताल तथा नाकाबन्दीका कार्यक्रम सुरू हुनेछन् । अवामी लिगले घोषणा गरेको आन्दोलन हसिनाको बहिर्गमनपछिकै ठूलो हुने ठानिएको छ ।
विज्ञप्तिअनुसार फेब्रुअरी १ देखि ५ सम्म पार्टी सदस्यहरूले पर्चा वितरण गर्ने, फेब्रुअरी ६ मा विरोध प्रदर्शन र जुलुस निकाल्ने, फेब्रुअरी १० मा दोस्रो विरोध प्रदर्शन तथा जुलुश गर्ने जनाइएको छ । त्यस्तै, फेब्रुअरी १६ मा देशव्यापी नाकाबन्दी र फेब्रुअरी १८ मा बिहानैदेखि साँझसम्म ‘आम हडताल’ गरिने पार्टीले जनाएको छ ।
‘देशका जनताको राजनीतिक र लोकतान्त्रिक अधिकार प्राप्तिका लागि यी कार्यक्रमहरूमा कुनै प्रकारको अवरोध आएमा थप कडा कार्यक्रम घोषणा गरिने’ अवामी लिगले चेतावनी दिएको छ ।
