गाजाबाट प्यालेस्टिनीलाई हटाउने अमेरिकी राष्ट्रपति ट्रम्पको तयारी 

माघ १३, २०८१

एजेन्सी

US President Trump's preparations to remove Palestinians from Gaza

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा क्षेत्रबाट प्यालेस्टिनीहरूलाई हटाउने तयारी गरिरहेको बताएका छन् । राष्ट्रपति ट्रम्पले प्यालेस्टिनीहरूलाई गाजाबाट इजिप्ट र जोर्डन पठाउन चाहेको बताएका हुन् । 

गाजा 'ध्वस्त स्थल' भएकाले उनीहरूलाई त्यहाँबाट अन्यत्र सार्नुपर्ने उनको भनाइ छ । उनीहरूलाई 'अस्थायी' वा 'दीर्घकालीन' रूपमै इजिप्ट र जोर्डनमा राख्न सकिने उनको भनाइ छ । 

केही दिनअघि जोर्डनका राजा अब्दुल्लाहसँगको टेलिफोन कुराकानीमा ट्रम्पले त्यस्तो प्रस्ताव गरेको बताएका  छन् । 'म अहिले सम्पूर्ण गाजा पट्टीलाई हेर्दै छु । यो निकै ध्वस्त छ,' उनले भनेका छन् । इजिप्टका राष्ट्रपतिलाई पनि यस्तै अनुरोध गर्ने योजना बनाएको ट्रम्पको भनाइ छ । 

प्यालेस्टिनी समूह हमासले भने स्थानीयलाई अन्यत्र सार्ने कुनै पनि कार्यको विरोध गर्ने बताएको छ । ट्रम्पको टिप्पणीले गाजालाई आफ्नो पुर्खाको घर मान्ने प्यालेस्टिनीहरू आक्रोशित हुने बनाउने देखिन्छ । 

गाजा स्ट्रिपमा हाम्रा प्यालेस्टिनी जनताले आफ्नो भूमि नछोडिकन १५ महिनासम्म मृत्यु र विनास सहे । त्यसैले, अमेरिकाले घोषणा गरे अनुसार पुनर्निर्माणका लागि असल नियत देखिए पनि तिनीहरूले कुनै प्रस्ताव वा समाधान स्वीकार गर्दैनन्,' हमासको राजनीतिक ब्यूरोका सदस्य बसेम नइमले बीबीसीसँग भनेका छन् । 

गाजाका २० लाख स्थानीयमध्ये अधिकांश इजरायलसँगको १५ महिना लामो युद्धमा विस्थापित भएका छन् । त्यसका साथै, सन् २०२३ अक्टुबर ७ यताको युद्धले गाजाका धेरैजसो पूर्वाधार ध्वस्त भएका छन् । 

संयुक्त राष्ट्रसंघले गाजामा ६० प्रतिशत संरचनाहरू क्षतिग्रस्त वा नष्ट भएका र त्यसको पुनर्निर्माणका लागि दशकौं लाग्ने जनाएको छ ।

राष्ट्रपति ट्रम्पले प्यालेस्टिनीलाई अन्यत्र सार्ने विषयमा विस्तृत विवरण भने सार्वजनिक गरेका छैनन् । 'लगभग सबै कुरा ध्वस्त भएको छ र त्यहाँ मानिसहरू मरिरहेका छन्,' ट्रम्पले भनेका छन्,  'त्यसैले म केही अरब राष्ट्रहरूसँग संलग्न हुन चाहन्छु र फरक स्थानमा आवास निर्माण गर्न चाहन्छु जहाँ उनीहरू परिवर्तनको लागि शान्तिमा बस्न सक्छन् ।'

एजेन्सी

Link copied successfully