ट्रम्पसँग सम्मानजनक वार्ता गर्न रुस तयार 

माघ १०, २०८१

एजेन्सी

Russia is ready to have respectful talks with Trump

मस्को — रुसले युक्रेन युद्धका विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न तयार रहेको जनाएको छ । रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले युक्रेन युद्धबारे ट्रम्पसँग 'समान, पारस्परिक र सम्मानजनक वार्ता' का लागि तयार रहेको जनाएको हो । 

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेन युद्ध हास्यास्पद भएको जनाउँदै युद्ध नरोकिएमा मस्कोविरुद्ध प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए । 

'हामीले आउन बाँकी थप संकेतहरूको प्रतीक्षा गरिरहेका छौं,' रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन् । ट्रम्पले प्रतिबन्ध लगाउने धम्कीमा कुनै नयाँ कुरा नदेखेको उनको भनाइ छ । 

बुधबार संयुक्त राष्ट्रसंघका लागि रुसी नियोग उपप्रमुख दिमित्री पोल्यान्स्कीले क्रेमलिनले कुनै पनि थप कदम चाल्नु अघि युद्ध अन्त्य गर्न सम्झौतामा ट्रम्पले के चाहन्छन भनेर जान्न आवश्यक रहेको बताएका थिए । 

अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार युक्रेनसँगको युद्ध अन्त्य नगरे रुसलाई थप कर र प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए । युक्रेनी विदेशमन्त्रीले ट्रम्पले दिएको चेतावनीको स्वागत गरेका छन् ।

स्विट्जरल्याण्डको डाभोसमा भएको विश्व आर्थिक मञ्चमा बोल्दै युक्रेनी विदेशमन्त्री एन्ड्री सिबिहाले भने, 'हामी राष्ट्रपति ट्रम्पबाट आएका त्यस्ता कडा सन्देशहरूलाई साँच्चै स्वागत गर्दछौं ।' 

यो मुद्दामा ट्रम्प विजयी हुनेमा युक्रेन विश्वस्त रहेको उनको भनाइ छ । 'यसले युद्ध अन्त्य गर्न र दीर्घकालीन, न्यायपूर्ण र व्यापक शान्ति प्राप्त गर्न कूटनीतिक प्रयासहरूमा नयाँ गतिशीलता ल्याउनेछ,' उनले भनेका छन् । 

एजेन्सी

Link copied successfully