ट्रम्पसँगै उपराष्ट्रपतिमा जेडी भान्सले लिए शपथ
वासिङ्टन — अमेरिकामा गत नोभेम्बर ५ मा भएको राष्ट्रपतीय चुनावमा निर्वाचित निर्वाचित डोनाल्ड ट्रम्पले पद तथा गोपनीयताको शपथ लिएका छन् । ट्रम्पलाई प्रधानन्यायाधीश जोन रोबर्ट्सले राजधानी वासिङ्टन डिसीस्थित संसद् भवन युएस क्यापिटल हिलको रोटुण्डा भवनमा आयोजित विशेष समारोहमा सपथ गराएका हुन् ।
ट्रम्पले 'म यो कुराको गम्भीरतापूर्वक शपथ लिन्छु कि म संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको पदलाई निष्ठापूर्वक निर्वाह गर्ने छु र आफ्नो पूर्ण क्षमताअनुसार अमेरिकाको संविधानको संरक्षण, बचाउ र रक्षा गर्ने छु' भन्ने वाक्यांश वाचन गरेसँगै औपचारिक रूपमा अमेरिकाको ४७ औं राष्ट्रपति बनेका हुन् । यसअघि ट्रम्प सन् २०१७ देखि २०२१ सम्म अमेरिकाको राष्ट्रपति थिए ।
स्थानीय समयानुसार सोमबार मध्यान्न १२ बजे (नेपाली समयानुसार सोमबार राति १०:४५ बजे) भएको समारोहमा ट्रम्पसँगै जेडी भान्सले अमेरिकाको ५० औं उपराष्ट्रपतिको शपथ लिए । उनलाई न्यायधीस ब्रेट काभानोले सपथ दिलाएका हुन् ।
सामान्यत: शपथ ग्रहण समारोह क्यापिटलको बाहिर हुने गरेको भएपनि यसपटक अत्यधिक चिसोका कारण भवनभित्र गरिएको हो । यसअघि सन् १९८५ मा रोनाल्ड रेगनको शपथ ग्रहण समारोह क्यापिटल हिलभित्र आयोजना गरिएको थियो । 
शपथ ग्रहणपपछि बोल्दै ट्रम्पले अमेरिकामा 'आत्मविश्वास पुनर्स्थापना' गर्नुपर्ने बताएका छन् । 'राष्ट्रपति पदमा फर्केसँगै हामी राष्ट्रिय सफलताको रोमाञ्चक नयाँ युगको सुरुवातमा रहेकोमा म विश्वस्त र आशावादी छु । परिवर्तनको उभारले देशलाई व्यापक बनाएको छ,' ट्रम्पले भनेका छन् ।
ट्रम्पले आफूले जारी गरेका ऐतिहासिक कार्यकारी आदेशहरूले अमेरिकाको पूर्ण पुनर्स्थापना र क्रान्तिको सुरूआत हुने उनको भनाइ छ । 'अमेरिकीहरूलाई आज मेरो सन्देश यो हो कि हामीले फेरि एक पटक साहस, जोस र इतिहासको सबैभन्दा ठूलो सभ्यताको जीवन्तताका साथ काम गर्ने समय आएको छ,' ट्रम्पले भनेका छन् ।
ट्रम्पले आफ्नो भाषणमा आप्रवासी संकटलाई सम्बोधन गर्न नसकेको भन्दै बाइडेन प्रशासनको कडा आलोचना गरे । 'अघिल्लो प्रशासनले हाम्रो देशमा अवैध रूपमा प्रवेश गरेका खतरनाक अपराधीहरूलाई सुरक्षित स्थान र सुरक्षा प्रदान गरेको छ' ट्रम्पले भनेका छन् । 
ट्रम्पको शपथ ग्रहण समारोहमा पूर्वराष्ट्रपतिहरू, राजनीतिक नेताहरू र प्रभावशाली अर्बपतिहरू इलन मस्क र जेफ बेजोसलगायत उपस्थित थिए । शपथग्रहण समारोहका लागि करिब २ लाख समर्थकहरूले वासिङ्टन पुगेका थिए ।
पद तथा गोपनीयताको शपथ लिएसँगै ट्रम्प र भान्स दुवैले अध्यागमन लगायतका २ सयवटा कार्यकारी आदेश जारी गर्ने जनाइएको छ । ती आदेशहरूमा आप्रवासन तथा सीमा, व्यापार तथा अर्थतन्त्र, जलवायु र ऊर्जा, लिखतहरूको गोप्यता, विदेश नीति, गर्भपतन, टिकटक लगायतका मुद्दा समावेश रहेका बीबीसीले जनाएको छ । 
ट्रम्प नोभेम्बर ५ मा भएको चुनावमा रिपब्लिकन दलका तर्फबाट राष्ट्रपतिमा विजयी भएका थिए । उनले डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसलाई पराजित गरेका हुन् । ट्रम्प ३ सय १४ इलेक्टोरल मतसहित विजयी भएका हुन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कुल ५३८ मतमध्ये कम्तीमा २७० इलेक्टोरल मत ल्याउनुपर्छ । ह्यारिसले २ सय २६ इलेक्टोरल मत पाएकी थिइन् ।
यसअघि ट्रम्प सन् २०१७ देखि २०२१ सम्म अमेरिकाको राष्ट्रपति थिए । २०१६ को चुनावमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई हराएका ट्रम्प सन् २०२० मा जो बाइडेनसँग पराजित भएका थिए ।
