जेरूसलेम — प्यालेस्टिनी समूह हमासले युद्धविरामको पहिलो चरणमा रिहा गर्ने तीनजनाको नाम सार्वजनिक गरेको छ । सामाजिक सञ्जाल टेलिग्राम एक पोस्ट सार्वजिनक गर्दै हमासले तीन जना महिला बन्धकलाई रिहा गर्ने जनाएको हो ।
हमासका अनुसार पहिलो चरणको युद्धविरामको सुरूमा डोरोन स्टेनब्रेचर, एमिली डमारी र रोमी गोनेनलाई रिहा गर्ने जनाएको हो । उनीहरू तीनैजनालाई हमासले सन् २०२३ अक्टुबर ७ मा दक्षिणी इजरायलमा गरेको आक्रमणपछि बन्धक बनाएर लगेको थियो ।
३१ वर्षीय डोरोन स्टेनब्रेचर पशु चिकित्सा नर्स हुन् । हमासले अक्टुबर ७ मा आक्रमण गर्दा उनी किबुट्ज केफर अजाको अपार्टमेन्टमा थिइन् ।
२८ वर्षीया एमिली डमारीलाई किबुट्ज कफर अजाबाट बन्धक बनाइएको थियो । उनीसँग बेलायत र इजरायलको दोहोरो नागरिकता रहेको बताइएको छ । सन् २०२४ को अक्टोबर ६ मा बेलायतको राजधानी लन्डनमा एक कार्यक्रममा बोल्दै उनकी आमा म्यान्डीले आफ्नी छोरीलाई गत नोभेम्बरमा रिहा भएका बन्धकहरूले भेटेको बताएको जनाएकी थिइन् ।
त्यस्तै २४ वर्षीय रोमी गोनेनले सुपरनोभा फेस्टिभलबाट भाग्न खोज्दा एम्बुसमा परेकी थिइन् । उनकी आमा मेराभ लेसेम गोनानले जुनमा संयुक्त राष्ट्रसघीय मानव अधिकार परिषद्लाई सम्बोधन गर्दै बन्धकहरूलाई रिहा गर्न अन्तर्राष्ट्रिय सहयोगको अपील गरेकी थिइन् ।
