जापानमा कारागारमै बसिरहन अपराध गर्दै वृद्धा

माघ ६, २०८१

एजेन्सी

In Japan, an old woman commits crimes to stay in prison

टोकियो — पछिल्लो समय जापानको सबैभन्दा ठूलो महिला कारागार तोचिगी कारागारभन्दा पनि ‘नर्सिङ् होम’ जस्तो देखिन थालेको छ । यसको कारण हो, कारागारका कक्षहरू वृद्ध महिलाहरूले भरिएका छन् । 

कोही सुस्त गतिमा कारागारको गल्लीका भित्ताहरूमा टेको लगाउँदै हिडिँरहेका भेटिन्छन् भने कोही सहयोगीहरूसँगै । कारागारका कामदारहरू उनीहरूलाई स्नान गर्न, खाना खान, हिँडडुल गर्न, औषधि खान मद्दत गर्छन् । 

कतिपय महिलाहरू सधै कारागार मै बस्न चाहन्छन् । उनीहरू मासिक २० हजारदेखि ३० हजार जापानी यान तिर्न तयार पनि छन् । तर कारागार मुक्त हुन भने चाहँदैनन् । कारागारबाहिर एक्लोपनाको सिकार हुने धेरै महिलालाई बाहिरी जीवनभन्दा कारागारको जीवन सहज हुने गरेको छ । प्रहरीका अनुसार वृद्ध कैदीहरूको मुख्य समस्या नै एक्लोपना हो ।  

तोचिगी महिला कारागारका अधिकारी ताकायोशी सिरानागाले सीएनएनसँग भनेका छन्, ‘यहाँका कतिपय कैदीहरू सधैं यही कारागारमा बस्न चाहन्छ । पैसा तिरेर बस्न सक्नेहरू तिरेरै बस्न पनि तयार छन् ।’ यद्यपी सीएनएनकाअनुसार कारागारमा पनि अचम्म खालको शान्ती व्याप्त छ । 

खाद्यान्न चोरी गरेको आरोपमा कैद सजाय भोगिरहेकी ८१ वर्षीय आकियोले सीएनएनसँग आफुलाई कारागार जीवन नै सहज हुने बताइन् । भन्छिन्, ‘कारागार जीवन मेरो लागि सबैभन्दा स्थिर छ ।’ उनले तोचिगीमा राम्रा मान्छेहरू भएको बताउँछिन् । 

तोचिगीमा रहेका महिलाहरूले कारागारका कारखानामा काम पनि गर्नुपर्ने हुन्छ । जुन कारागारबाहिर एक्लै बाँचेकाहरूलाई राम्रो पनि लाग्छ । उनीहरूले कारागारमा नियमित खाना, निःशुल्क स्वास्थ्य सेवा र वृद्धहरूले राम्रो हेरचाह पनि पाउँछन् । यसरी वृद्धाहरूले कारागारबाहिर नपाएको साथ भित्र पाउने गरेका छन् ।   

त्यस्तै ५१ वर्षीया योको २५ वर्षमा पाँच पटक कारागार पुगिन् । मादक पदार्थको मुद्दामा उनी पटक-पटक कारागार पुगिन् । ‘हरेक पटक कारागार फर्किदा वृद्धाहरूको जनसंख्या बढेको देखेको छु,’ योको भन्छिन्, ‘कोही आफुसँग पैसा सकिने बित्तकै जानाजान केही कसुर गर्छन् र कारागार आउँछन् ।’  

कैदी आकियोले पनि एक्लो जीवन बिताइरहेकी थिइन् । उनी गरिबीले पनि गाँजिएकी थिइन् । त्यसैले आकियोले ६० वर्षको उमेरमा पसलको खाद्यान्न चोर्ने आँट गरिन् । ‘आर्थिक रूपमा सक्षम भएको भएर आरामदायक जीवन बाँचिरहेको भए पनि म निश्चित यस्तो काम गर्ने थिइनँ,’ उनले भनिन् ।   

रोचक त के भने कारागारमुक्त भएपछि उनले फेरि चोरी गरिन् र कारागार पुगिन् । यो उनको दोस्रो पटकको कारागार बसाइ हो । आफ्नो ‘पेन्सन’बाट जीवन यापन गरिरहेकी आकियोलाई पेन्सन मात्र पर्याप्त हुँदैन थियो । उनी भन्छिन्, ‘पेन्सन आउन दुई साता बाँकी थियो । साथमा जम्मा ४ सय ४० यान मात्र बाँकी थियो । त्यसैले गलत भन्ने थाह हुँदाहुँदै चोरी गरेँ ।’ 

आकियो आफ्नो ४३ वर्षीय छोरासँग बस्थिन् । तर उनको छोराले उनलाई सहयोग गर्दैनथे । जसकारण आकियोलाई भविष्यप्रति आशा बाँकी थिएन । ‘म मर्न चाहन्थे । मेरो जीवनको केही अर्थ थिएन’, उनले भनिन् । यद्यपी उनका छोराले नै उनलाई घर छोडेर जान बारबार कराइरहने आकियोले बताइन् । 

जापानको सरकारी तथ्यांक अनुसार अधिकांश कैदीहरूले चोरी गरेका छन् । विशेष गरि महिलाहरुले चोरी गर्ने गरेका छन् । सन् २०२२ मा, जापानका वृद्ध महिला कैदीहरूमध्ये ८० प्रतिशतभन्दा बढी चोरीको कसुरमा कारागार जीवन बिताइरहेका थिए । 

त्यस्तै ओइसीडीका अनुसार जापानका ६५ वर्षभन्दा माथिका २० प्रतिशत व्यक्तिहरू गरिबीमा बाँचिरहेका छन् । ओइसीडीका सदस्य राष्ट्रहरूमा औसत १४.२ प्रतिशत व्यक्ति गरिबीमा बाँचिरहेका छन् । 

त्यसैले, कारागार सुरक्षाकर्मी शिरानागाका अनुसार धेरै कैदी जीवन बाँच्न कारागार आउँछन् । निःशुल्क उपचार पाइने आशमा पनि केही मानिसहरु कारागारमा नै बस्न चाहन्छन् । तोचिगी महिला कारागारमा प्रत्येक पाँच कैदीमा एकजना वृद्ध छन् । जापानमा सन् २००३ देखि २०२२ सम्म ६५ वर्ष या सोभन्दा माथिका कैदीहरुको संख्यामा चार गुणा वृद्धि भएको छ । 

सुरक्षाकर्मी शिरानागाका भन्छन्, ‘अहिले हामीलाई कैदीहरूको डायपर परिवर्तन गर्न, स्नान गर्न, खाना खुवाउन मद्दत गर्नुपर्ने हुन्छ । यो अब कुनै अपराधीहरूले भरिएको कारागार जस्तो नदेखिएर एक नर्सिङ होम जस्तो लाग्छ ।’ यद्यपि उनीहरु रिहा भएर सामान्य जीवनमा फर्किएपछि उही समस्या दोहोरिने उनको तर्क छ । उनले भने, ‘केही व्यक्तिहरूलाई परिवारले छोडेको छ र उनीहरुले पुनः अपराध गर्छन् ।’   

जापानको कल्याण मन्त्रालयले २०२१ मा वृद्ध कैदीहरूलाई कारागारपछि सहयोग प्राप्त गर्दा उनीहरूले पुनः अपराध गर्ने सम्भावना घट्ने स्वीकार गरेको थियो । तत्पश्चात मन्त्रालयले कमजोर वृद्धहरूलाई सहयोग पुर्‍याउन सामुदायिक समर्थन केन्द्रहरूलाई अगाडि बढाएको छ । 

जापान सरकार वृद्धवृद्धाका लागि आवासीय लाभ अझ बढी नागरिकलाई उपलब्ध गराउने प्रस्तावहरूको विचार गर्दै छ । नगरपालिकाहरूले जापानभरका वृद्धवृद्धालाई सहयोग पुर्‍याउने पहलहरू गरिरहेको छ । वृद्ध जनसंख्याको तीव्र वृद्धिका कारण जापानलाई वृद्धवृद्धाको हेरचाहका लागि सन् २०४० सम्म २० लाख ७२ हजार श्रमिकहरूको आवश्यकता पर्न सक्ने जनाइएको छ । 

एजेन्सी

Link copied successfully