सुरू भयो कुम्भ मेला, एकैदिन करोडले गरे स्नान 

पुस २९, २०८१

एजेन्सी

Kumbh Mela started, crores took bath in one day

प्रयागराज — भारतको प्रयागराजमा हरेक १२ वर्षमा आयोजना हुने कुम्भ मेलाका क्रममा सोमबार एक करोडभन्दा बढी मानिसहरूले पवित्र स्नान गरेका छन् । सोमबारदेखि ६ सातासम्म चल्ने मेलामा हिन्दु धर्माबलम्बीहरूले भारतको सबैभन्दा पवित्र नदी मानिने गंगा, यमुना र पौराणिक सरस्वती नदीको संगममा स्नान गर्ने गर्छन् । 

पवित्र नदीहरूको संगममा स्नान गर्दा पाप मोचन हुने र आत्मा शुद्ध हुने जनविश्वास छ । ४५ दिनसम्म चल्ने कुम्भ मेलामा करिब ४० करोड तीर्थयात्रीले स्नान गर्ने अनुमान छ । मेलामा सहभागी धर्माबलम्बीहरूको ताँती अन्तरिक्षबाट देख्न सकिने बताइएको छ । 

स्थानीय अधिकारीहरूले भारतीय समयानुसार सोमबार पौष पूर्णिमाका दिन दिउँसोसम्म एक करोड तीर्थयात्रीले स्नान गरेको जनाएका छन् । मंगलबार २ करोडले स्नान गर्ने अनुमान आयोजकको छ । 

Kumbh Mela started, crores took bath in one dayज्योतिषीहरूले निश्चित ग्रह र नक्षत्रहरूका आधारमा नुहाउने मिति र शुभ समय तय गरेका छन् । त्यसका आधारमा स्नानका लागि सोमबारबाहेक अन्य पाँच दिन शुभ रहेको जनाइएको छ । 

माघ १ मकर संक्रान्ति, माघ १६ अमावस्या, फागुन ३ बसन्त पञ्चमी, माघ ३०  पूर्णिमा, फागुन १४ महाशिवरात्रि स्नानका लागि विशेष दिन हुन् । यीमध्ये सबैभन्दा ठूलो भेला माघ १६ मा हुने अपेक्षा गरिएको छ । उक्त दिन ५ देखि ६ करोड उपासकहरूले स्नान गर्ने अनुमान गरिएको छ ।

Kumbh Mela started, crores took bath in one dayतीर्थयात्री र पर्यटकलाई बस्नका लागि नदीको किनारमा ४ हजार हेक्टर क्षेत्रफलमा फराकिलो टेन्ट सिटी निर्माण गरिएको छ । तर मेला सुरू हुनुभन्दा केही घण्टा अघिसम्म पनि प्रयागराजको फराकिलो मैदानका धेरै भागमा तीर्थयात्री र पर्यटक बस्ने स्थानको निर्माण भइरहेको देखिएको बीबीसीले जनाएको छ ।

सन्त र अन्य उपासकहरूले स्थापना गरेका केही शिविरमा पानी र विद्युत आपूर्तिको व्यवस्था भएको थिएन् । त्यस्तै, शौचालय र पानी आपूर्तिको समेत समस्या भएको बताइएको छ । 

यस वर्ष मनसुनको वर्षात् लामो समयसम्म भएकाले निर्माण कार्यका लागि कम समय भएकाले निर्माण कार्यका लागि आयोजकहरूलाई बाधा पुगेको प्रशासनिक अधिकारी विवेक चतुर्वेदीले बीबीसीसँग बताएका छन् । ‘तयारी लगभग पूरा भइसकेको छ र आगन्तुकलाई स्वागतका लागि सबै प्रणाली लागू हुनेछ,’ उनले भनेका छन् । 

अधिकारीहरूका अनुसार करिब २ सय सडक चौडा गरिएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार मेलास्थल करिब ४ हजार हेक्टर क्षेत्रफलमा फैलिएको छ । उक्त स्थानमा १ लाख ६० हजार पालहरू लगाइएको छ । १ लाख ५० हजार शौचालय निर्माण गरिएको छ । 

Kumbh Mela started, crores took bath in one dayमेला आयोजना स्थलमा ६ सय ५० किलोमिटर अस्थायी सडक बनाइएको छ । ५० लाखभन्दा बढी सवारी साधनहरूका लागि ९९ वटा पार्किङ स्थलहरूको व्यवस्था छ । ६७ हजार सडक बत्ती जडान गरिएको छ । 

पानीका लागि २ सयवटा एटीएम र ८५ वटा ट्यूबवेलको व्यवस्था गरिएको छ । त्यस्तै,  नदी वारपार गर्नका लागि ३० वटा फ्लोटिङ पोन्टुन पुल बनाइएको छ । मेलाको सुरक्षाका लागि ४० हजार भन्दा बढी प्रहरी र सुरक्षा अधिकारी खटाइएको छ । 

मेला व्यवस्थापनका लागि १ लाख भन्दा बढी स्वयंमसेवकहरू परिचालन गरिएको चतुर्वेदीले बताएका छन् । १५ हजार सफाइ कामदारहरूको व्यवस्था गरिएको छ । 

भारत सरकारले महोत्सव आयोजना गर्न ७० अर्ब भारतीय रुपैयाँ खर्चको व्यवस्था गरेको जनाइएको छ । मेलाबाट उत्तर प्रदेश राज्य सरकारले २ खर्ब ५० अर्ब राजस्व कमाउने स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

Kumbh Mela started, crores took bath in one dayशिवरात्रीका दिन समापन हुने मेलालाई संयुक्त राष्ट्रसंघीय निकाय युनेस्कोले मानवताको अमूर्त सम्पदाको मान्यता दिएको छ । कुम्भ मेलाको उत्पत्ति महासागर मन्थनको क्रममा उत्पन्न भएको अमृतको कुम्भलाई लिएर देवता र दानवहरू बीचको लडाइँबारेको पौराणिक कथामा आधारित छ । अमृतको भाँडोका विषयमा दुई पक्षहरूबीच भएको लडाइँमा अमृतका केही थोपा भारतका प्रयागराज, हरिद्वार, उज्जैन र नासिकमा खसेको मान्यता छ ।

Kumbh Mela started, crores took bath in one dayचारवटै सहरमा मेला आयोजना गरिने भएपनि सबैभन्दा ठूलो मेला भने प्रयागराजमा आयोजना हुने गरेको छ ।१२ खगोलीय वर्षहरूसम्म लडाइँ चलेको हुनाले पृथ्वीमा हरेक १२ वर्षमा कुम्भ मेला चार सहरहरूमा मनाइन्छ । 

ग्रह र ताराहरू पङ्क्तिबद्ध हिसाबले मिलेकाले यस पटकको पर्व विशेष भएको बताइएको छ । १२ कुम्भ पर्व वा १ सय ४४ वर्षपछि यस्तो पूर्णता देखिएकाले यसपटकको मेलालाई महाकुम्भ भनिएको छ ।

एजेन्सी

Link copied successfully