युद्धविराम पहलबीच गाजामा थप तनाव 

गाजामा इजरायली आक्रमण तीव्र, आइतबार मात्रै ८८ जना मारिए

पुस २१, २०८१

कान्तिपुर संवाददाता

Tensions rise in Gaza amid cease-fire initiative

काठमाडौँ — पन्ध्र महिनादेखि युद्धरत इजरायल र प्यालेस्टिनी समूह हमासबीच पुन: युद्ध चर्किएको छ । पछिल्लो तीन दिनमा इजरायली सेना (आईडीएफ) ले गाजा क्षेत्रमा गरेको आक्रमणमा कम्तीमा २ सय जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा अधिकांश महिला तथा बालबालिका रहेको र दर्जनौं घाइते भएको जनाइएको छ । 

हमास अधिकारीहरूका अनुसार आईडीएफले तीन दिनमा गाजास्थित आवासीय क्षेत्रमा कम्तीमा सयवटा हवाई आक्रमण तथा गोलाबारी गरेको हो । आईडीएफले निहत्था नागरिक र आवासीय क्षेत्रमा ‘खतरनाक र क्रूर’ आक्रमण गरेको हमास अधिकारीको भनाइ छ । 

प्यालेस्टानी समूह हमासले सन् २०२३ अक्टुबर ७ मा उत्तरी इजरायलमा आक्रमण गरेपछि दुई पक्षबीच युद्ध सुरू भएको हो । आक्रमणमा कम्तीमा १२ सयको ज्यान गएको थियो । त्यसका साथै, हमासले करिब २ सय ५० जनालाई बन्धक बनाएर लगेको थियो । तीमध्ये ९६ जना अझै हमासको नियन्त्रणमा छन् ।  

युद्धका कारण ४५ हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान गइसकेको छ । ज्यान गुमाएकामा एक तिहाइभन्दा बढी बालबालिका छन् । अक्टुबर ७ यता मारिने बालबालिकाको संख्या १८ हजार नाघिसकेको प्यालेस्टिनी अधिकारीको भनाइ छ । 

दुई पक्षबीच केही सातायता अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा युद्धविराम सम्झौताका लागि पहल भइरहेको छ । कतारको दोहा तथा इजिप्टको कायोरोमा भएका वार्ता सहमतिमा पुग्नै लागेको बताइएको थियो । 

गाजामा युद्धविराम गर्न तथा हमासले बन्धक बनाएकाहरूको रिहाइका लागि गत शुक्रबार पुन: वार्ता सुरू भइसकेको छ । वार्ताका लागि इजरायली टोली शुक्रबार नै कतार पुगेको थियो । टोलीमा इजरायल सुरक्षा संस्था (आईएसए), आईडीएफ र इजरायली गुप्तचर संस्था मोसादका प्रतिनिधि रहेको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । 

हमासले पनि शुक्रबारदेखि युद्धविराम वार्ता पुन: सुरू भएको र सम्झौतामा पुग्न गम्भीर रहेको जनाएको छ । 'जनताको आकांक्षाअनुसारको लक्ष्य प्राप्त गर्ने सम्झौतामा हामी चाँडै पुग्ने प्रयासका लागि हामी हरेक पटक जस्तै गम्भीर र सकारात्मक छौं,' हमासले एक विज्ञप्तिमा भनेको छ । 

पछिल्लो चरणको वार्ता 'पूर्ण युद्धविराम, गाजा पट्टीमा रहेका सेनाको फिर्ती र कार्यान्वयनको विवरण र विस्थापितलाई घर फर्काउने विषयमा केन्द्रित हुने हमासले जनाएको छ । 

युद्धविराम सम्झौता भने यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सारेको प्रस्तावमै केन्द्रित हुने सीएनएनले जनाएको छ । बाइडेन प्रशासनले अघि सारेको प्रस्तावमा गाजामा 'पूर्ण युद्धविराम' गरिने र बन्धकहरूलाई रिहा गरिने जनाइएको थियो । Tensions rise in Gaza amid cease-fire initiative

हमासले इजिप्टको कायरोमा भएको बैठकमा दुई पक्षबीच युद्धविरामबारे ९० प्रतिशत सहमति जुटिसकेको जनाएको थियो । युद्धविराम सम्झौता तीन चरणमा हुने जनाइएको थियो । पहिलो चरणमा रिहा गरिने प्रत्येक महिला सैनिकका लागि २० प्यालेस्टिनी कैदीहरूको आदानप्रदान गरिने उल्लेख गरिएको थियो । 

कैदीहरूको नाममा सहमति हुन बाँकी छ तर इजरायलमा २५ वर्ष वा सोभन्दा बढी जेल सजाय भोगिरहेका करिब ४ सय जनाबाट छानिनेछ । इजरायली बन्धकहरूलाई विभिन्न चरणमा रिहा गरिने जनाइएको छ ।

त्यस्तै, दोस्रो चरणममा इजिप्ट र कतारको निगरानी प्रणालीअन्तर्गत उत्तरी गाजा क्षेत्रका सर्वसाधारणहरू घर फर्कन पाउनेछन् । ती क्षेत्रमा प्रतिदिन करिब ५ सय ट्रकले सहायता सामग्री पुर्‍याउने समेत जनाइएको छ । अन्तिम चरणमा १४ महिना लामो युद्धको अन्त्य हुने र गाजा क्षेत्रलाई यसअघि कुनै पनि राजनीतिक आबद्धता नभएका विज्ञहरूको एक कमिटीले निरीक्षण गर्ने जनाइएको छ ।

यसअघि हमास अधिकारीहरूले केही मुद्दामा भने सहमति हुन बाँकी रहेको जनाएका थिए । खासगरी फिलाडेल्फी करिडोरमा आईडीएफको उपस्थितिका विषयमा सहमति हुन बाँकी छ । फिलाडेल्फी करिडोर इजिप्ट र दक्षिणी गाजाको सीमामा पर्ने रणनीतिक रूपमा महत्त्वपूर्ण भूमि हो । हाल उक्त क्षेत्र आईडीएफको नियन्त्रणमा रहेको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बारम्बार फिलाडेल्फी करिडोरबाट आईडीएफलाई फिर्ता गर्न नचाहेको बताउँदै आएका छन् । इजरायली अधिकारीहरूले पनि त्यस क्षेत्रमा सैन्य उपस्थिति कायम रहने बताएका छन् । त्यस्तै, युद्धपछिको गाजाको शासनको विषयबारे पनि टुंगो लागेको छैन । प्यालेस्टिनी नेतृत्वमा समेत यसबारे एकमत देखिँदैन । 

मध्यस्थता गरिरहेको कतारले भने पछिल्लो वार्ताबारे औपचारिक रूपमा केही उल्लेख गरेको छैन । तर इजरालयका पछिल्ला आक्रमणसँगै वार्ताको वातवरण भने बिथोलिने चिन्ता थपिएको छ । खासगरी तीन दिनयताका आक्रमणमा दुई सय जनाभन्दा बढी सर्वसाधारणको ज्यान गएको छ । तीमध्ये ८८ जना आइतबार एकै दिन मारिएका हुन् । 

त्यसका साथै, अमेरिकी राष्ट्रपति जो बाइडेनले सत्ताबाट बाहिरिँदै गर्दा इजरायललाई ८ अर्ब अमेरिकी डलर बराबरको अस्त्र बिक्री गर्ने योजना अघि सारेका छन् । बीबीसीका अनुसार बाइडेनले त्यसबारे संसद्‌लाई जानकारी गराइसकेका छन् । तर ती अस्त्र बिक्री गर्न अमेरिकी संसद्‌का समितिहरूको स्वीकृति आवश्यक पर्छ । इजरायल पठाउन लागिएका अस्त्रमा क्षेप्यास्त्र, गोलाबारुद तथा अन्य हातहतियार रहेका छन् । 

बाइडेन जनवरी १५ दिनपछि सत्ताबाट बाहिरिँदै छन् । त्यसपछि अमेरिकी राष्ट्रपतिको पद डोनाल्ड ट्रम्पले सम्हाल्दैछन् । इजरायली आक्रमणका कारण गाजामा हजारौँ सर्वसाधारण मारिएको भन्दै अमेरिकामाथि इजरेललाई सैन्य सहायता नगर्न दबाब बढ्दो छ । तर त्यसलाई बाइडेन प्रशासनले बेवास्ता गर्दै आएको छ ।

राष्ट्रपति बाइडनले इजरायलप्रति अमेरिकाको समर्थन बारम्बार दोहोर्‍याएका छन् । इजरायलमा अमेरिकाले सबैभन्दा धेरै अस्त्र तथा आधुनिक उपकरण आपूर्ति गर्दै आएको छ । सन् २०१९ देखि २०२३ मा इजरायलले प्रयोग गरेका हतियारमध्ये ६९ प्रतिशत अमेरिकाले दिएको थियो । 

दुई सातापछि राष्ट्रपति बन्ने ट्रम्पले बाइडेन प्रशासनले अघि सारेका योजना रोक्ने सम्भावना बढी छ । ट्रम्पले विदेशी द्वन्द्वमा अमेरिकी संलग्नता कम गर्ने बताउँदै आएका छन् । यद्यपि, ट्रम्प इजरायलको समर्थनमा देखिएका छन् । तर उनले गाजामा तत्काल युद्ध अन्त्य गर्नुपर्ने बताउने गरेका छन् । 

पछिल्लो समय इजरायल र लेबनानी संगठन हेजबुल्लाहबीच युद्धविराम भएसँगै हमास पनि दबाबमा परेको छ । दुई पक्षबीच नोभेम्बर २७ मा युद्धविराम सम्झौता भएको थियो । हेजबुल्लाहले हमासलाई इजरायलविरुद्धको युद्धमा सघाउँदै आएको थियो । 

अमेरिकी मध्यस्थतामा भएको युद्धविराम सम्झौतामा इजरायली सेना ६० दिनभित्र लेबनानबाट फिर्ता हुने उल्लेख छ । त्यस्तै, इजरायल र हेजबुल्लाहलाई लेबनान र इजरायलबीचको अनौपचारिक सीमा ‘ब्लु लाइन’ र लिटानी नदीबाट करिब ३० किलोमिटरभित्रको क्षेत्रबाट आफ्ना लडाकु तथा हातहतियार हटाउन दुई महिनाको समय दिइएको छ ।

तर इजरायली रक्षामन्त्री इजरायल काट्जले हिजबुल्लाहले युद्धविरामका सर्तहरू पूरा नगरेको आरोप लगाएका छन् । काट्जलदे हेजबुल्लाहले सम्झौताको उल्लंघन गरिरहेको खण्डमा इजरायल 'कारबाही गर्न बाध्य हुने' चेतावनी दिएको अलजजिराले जनाएको छ । 

हेजबुल्लाह लडाकुहरू अझै पनि दक्षिणी लेबनानमा लिटानी नदी क्षेत्रबाट पछि नहटेको काट्जको भनाइ छ । 'यदि यो सर्त पूरा भएन भने कुनै सम्झौता हुनेछैन र इजरायल उत्तरी क्षेत्रका बासिन्दालाई सुरक्षित रूपमा आफ्नो घर फिर्ता गर्न कारबाहीका लागि बाध्य हुनेछ,' उनले भने । युद्धविराम सम्झौता अनुसार आईडीएफ जनवरी २६ भित्र दक्षिणी लेबनानबाट बाहिरिनुपर्नेछ ।

(एजेन्सीहरूको सहयोगमा)

कान्तिपुर

Link copied successfully