काठमाडौँ — करिब १५ महिनाअघि प्यालेस्टिन समूह हमासले इजरायलमाथि आक्रमण गरेसँगै दुई पक्षबीच युद्ध सुरू भयो । सन् २०२३ अक्टुबर ७ मा हमासले उत्तरी इजरायलमा आक्रमण गरी कम्तीमा १२ सयको ज्यान गएको थियो । त्यसका साथै, हमासले करिब २ सय ५० जनालाई बन्धक बनाएर लगेको थियो । तीमध्ये ९६ जना अझै हमासको नियन्त्रणमा छन् ।
युद्धका कारण ४५ हजारभन्दा बढी प्यालेस्टिनीका ज्यान गइसकेको छ । ज्यान गुमाउनेमध्ये एक तिहाइभन्दा बढी बालबालिका छन् । प्यालेस्टिनी अधिकारीका अनुसार अक्टुबर ७ यता मारिने बालबालिकाको संख्या १८ हजार छ । यसको अर्थ हरेक ३० मिनेटमा एक बालबालिकाले ज्यान गुमाउने गरेका छन् ।
मारिएकामध्ये सबैभन्दा बढी ६ देखि १२ वर्ष उमेर समूहका छन् । एक वर्षमुनिका ७ सय, एकदेखि तीन वर्ष उमेर समूहका १८ सय, चारदेखि पाँच वर्ष उमेरका १२ सय, ६ देखि १२ वर्षका ४२ सय र १३ देखि १७ वर्षका ३४ सयभन्दा बढी बालबालिकाको ज्यान गएको छ ।
संयुक्त राष्ट्रसंघको तथ्यांक अनुसार १५ महिनाको अवधिमा १४ हजार ५ सय बालबालिकाले ज्यान गुमाएका छन् । राष्ट्रसंघका अनुसार गाजा पट्टी हजारौं बालबालिकाको चिहान बनेको छ । युद्धग्रस्त क्षेत्रमा बालबालिकालाई भग्नावशेषबाट निकाल्दा उनीहरू घाइते र एक्लै भेटिने गरेका राष्ट्रसंघले जनाएको छ ।
अनुमानित १७ हजार बालबालिक बेपत्ता भएका वा हेरचाह गर्ने परिवारका सदस्यहरूबाट अलग भएका छन् । कम उमेरका कतिपय बालबालिकालाई आफ्नो नाम समेत थाहा छैन । जसका कारण उनीहरूको पहिचान समेत हुन सकेको छैन । संयुक्त राष्ट्रसंघीय एजेन्सी युनिसेफले जम्मा ६३ बालबालिकालाई उनीहरूका आमाबाबु वा अभिभावकहरूसँग पुनर्मिलन गराउन सफल भएको जनाएको छ ।
अक्टुबर ७ मा हमासले आक्रमण गरेपछि इजरायली सेना (आईडीएफले) ले उत्तरी गाजामा आक्रमण गर्ने संकेत गर्दै ११ लाख मानिसहरूलाई दक्षिणतिर जान आदेश दिएको थियो । त्यसलगत्तै गरेका आक्रमणमा लाखौं विस्थापित भए । घर छाडेर जानसक्ने अवस्थामा नरहेका हजारौं मारिए र बेपत्ता भए ।
बेपत्ता भएकाहरूको खोजीका लागि धेरै मानिसहरूले रेड क्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) लाई गुहार्ने गरेका छन् । समितिले बेपत्ताहरूको विस्तृत विवरण लिएसँगै अस्पतालको सूची र फिर्ता गरिएका बन्दीहरूको नाम लगायत आफ्नो पहुँचमा रहेका स्रोतमा सम्पर्क गर्ने गर्छ । आईसीआरसीले हालसम्म ८ हजार ३ सय भन्दा बढी आवेदनहरू प्राप्त भइसकेका जनाएको छ । तर तीमध्ये करिब २१ सय मात्र बन्द गरिएको छ । २१ सयमा निकै थोरैको मात्र पारिवारिक पुनर्मिलन सम्भव भएको आईसीआरसीले जनाएको छ ।
आवेदनहरू दिनेहरूलाई थाहा छैन कि उनीहरूको परिवारको सदस्य जीवित छ वा छैनन्,' आईसीआरसीकी सारा डेभिस भन्छिन्, 'उनीहरू घाइते भएर अस्पतालमा छन् वा भग्नावशेषमा फसेका छन् केही थाहा छैनन् ।' कतिपय अवस्थामा अस्पतालका डाक्टर तथा कर्मचारीहरूले पनि बिरामीहरूलाई प्रियजनहरूसँग सम्पर्क गराउने गरेका छन् ।
करिब एक वर्षअघि बीबीसीले इजरायली हवाई आक्रमणमा ज्यान गुमाएकी आमाको पेटबाट निकालिएकी नवजात शिशुबारे समाचार सार्वजिनक गरेको थियो । अपरेशनपछि चिकित्सकहरूले ती शिशुलालाई 'हन्ना अबु अम्शाकी छोरी' भने र आफन्तहरूले उनको खोजी गर्न सक्ने आशामा उनको बारेमा जानकारी सार्वजनिक गरे । देर अल-बलाहको अल-अक्सा सहिद अस्पतालको नर्सरीमा रहेकी 'हन्ना अबु अम्शाकी छोरी' लाई उनका बुबालाई हस्तान्तरण गरिएको बीबीसीले जनाएको छ ।
चिसो बढेसँगै पछिल्लो समय बालबालिका थप समस्या परेका छन् । प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय निकाय प्रमुखले गाजामा चिसो मौसम र आश्रयस्थलको अभावका कारण चिसोले बालबालिकाको मृत्यु हुने गरेको चेतावनी दिएका छन् । 'गाजाका बच्चाहरू चिसो मौसम र आश्रयको अभावका कारण चिसोले मरिरहेका छन्,' फिलिप लाजारिनीले शुक्रबार समाजिक सञ्जाल एक्समा लेखेका थिए । 
बिहीबार, गाजाको स्वास्थ्य मन्त्रालयका महानिर्देशक मुनिर अल-बार्शले अनादोलुलाई भने कि गत हप्तामा चिसो तापक्रमका कारण तीन प्यालेस्टाइनी बालबालिकाको अस्थायी विस्थापन शिविरमा मृत्यु भएको थियो ।
गत बुधबार खान युनिसको अल-मवासीमा रहेको विस्थापित शिविरमा दुई साताकी सिला महमूद अल-फसीहको चिसोको कारण मृत्यु भएको थियो । डिसेम्बर २० मा आइशा अदनान अल-कसासको मृत्युपछि त्यही शिविरमा मर्ने उनी दोस्रो शिशु थिइन् ।
युद्धका कारण विस्थापितहरू महिनौंदेखि घर फर्कने स्वीकृतिको पर्खाइमा रहेका तर इजरायलले घर फर्कन नदिएको उनको भनाइ छ । इजरायली नाकाबन्दी अमानवीय भएको लाजारिनीको भनाइ छ । संयुक्त राष्ट्रसंघले गाजामा तत्काल युद्धविराम गर्न द्वन्द्वरत पक्षलाई बारम्मबार आह्वान गर्दै आएका छन् ।
दुई साताघि इजरायल र हमासबीचको युद्धविराम वार्ता हालसम्मकै निकट पुगेको जनाइएको थियो । हमास र दुई अन्य प्यालेस्टिनी लडाकु समूहहरूले इजरायलसँगको गाजा युद्धविराम सम्झौताका लागि 'पहिले भन्दा नजिक' पुगेको बताएका थिए ।
हमास, प्यालेस्टाइन इस्लामिक जिहाद (पीआईजे) र वामपन्थी पपुलर फ्रन्ट फर लिबरेसन अफ प्यालेस्टाइन (पीएफएलपी) ले संयुक्त विज्ञप्ति जारी गर्दै इजरायलले नयाँ सर्त नराखे युद्धविराम हुने जनाएका थिए । 'शत्रुले नयाँ सर्तहरू नलगाएको खण्डमा युद्धविराम र कैदी आदानप्रदान सम्झौता टुंगोमा पुग्ने सम्भावना पहिलेभन्दा नजिक पुगेको छ,' विज्ञप्तीमा जनाइएको थियो ।
केही साताअघि अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा भएका वार्तामा प्रगति भएको थियो । तीन तीन देशको मध्यस्थतामा कतारको दोहामा इजरायल र हमासबीच भएको अप्रत्यक्ष वार्ता सहमतिमा पुग्नै लागेको जनाइएको थियो ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले युद्धविराम सम्झौताका लागि आफू आशावादी रहेको बताएका थिए । बन्धकहरूको रिहाका लागि पनि युद्धविराम सम्झौता आवश्यक भएको उनको भनाइ थियो । 'यो हुनुपर्छ । यो हुनु आवश्यक पनि छ । हामीले मानिसहरूलाई घर पुर्याउन आवश्यक छ,' उनले भनेका थिए ।
हमासले इजिप्टोको कायरोमा भएको बैठकमा दुई पक्षबीच युद्धविरामका साथै इजरायल र हमासबीच बन्धक रिहाईका विषयको वार्ता ९० प्रतिशत पूरा भएको जनाएको थियो । हमासका अनुसार केही मुद्दामा भने सहमति हुन बाँकी थियो । जुन कुरा अवस्था यथावतै छ र त्यसयता थप प्रगति भएको कुनै समाचार सार्वजनिक भएका छैनन् ।
खासगरी फिलाडेल्फी करिडोरमा इजरायली सेनाको उपस्थितिका विषयमा सहमति हुन सकेको छैन । फिलाडेल्फि करिडोर इजिप्ट र दक्षिणी गाजाको सीमामा पर्ने रणनीतिक रूपमा महत्त्वपूर्ण भूमि हो । उक्त क्षेत्र हाल इजरायली सेनाको नियन्त्रणमा रहेको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बारम्बार फिलाडेल्फी करिडोरबाट इजरायली सेना फिर्ता गर्न नचाहेको बताउँदै आएका छन् । त्यस्तै, युद्धपछिको गाजाको शासनको विषयका कारण पनि सम्झौता टुंगोमा पुग्न नसकेको बताइएको छ । प्यालेस्टिनी नेतृत्वमा समेत यो मुद्दा निकै विवादास्पद बनेको छ । इजरायली अधिकारीहरूले पनि त्यस क्षेत्रमा सैन्य उपस्थिति कायम रहने बताएका छन् ।
यी मुद्दाहरू समाधान भएपछि मात्र युद्धविराम सम्झौता हुने र तीन चरणमा कार्यान्वयन हुने बताइएको छ । पहिलो चरणमा रिहा गरिने प्रत्येक महिला सैनिकका लागि २० प्यालेस्टिनी कैदीहरूको आदानप्रदान गरिने, इजिप्ट र कतारको निगरानी प्रणालीअन्तर्गत उत्तरी गाजाका सर्वसाधारणलाई घर फर्काइने र अन्तिम चरणमा १४ महिना लामो युद्धको अन्त्य गरिने र गाजा क्षेत्रलाई यसअघि कुनै पनि राजनीतिक आवद्धता नभएका विज्ञहरूको एक कमिटिले निरीक्षण गर्ने जनाइएको छ ।
