सोल — दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुगेको छ । ज्यान गुमाउनेमा ४६ महिला र ३९ पुरुष छन् ।
योनहाप समाचार संस्थाका अनुसार दुई जनाको जीवितै उद्धार गरिएको छ । दुवैजना चालक दलका सदस्य हुन् । १८१ जना बोकेर थाइल्याण्डको बैंककबाट फर्किएको जेजु एयरको विमान दक्षिण-पश्चिममा पर्ने मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा आइतबार विहान दुर्घटनामा परेको हो ।
१ सय ७५ यात्रु र चालक दलका ६ सदस्य रहेको बोइङ ७३७-८०० विमान धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किएको हो । विमानमा १ सय ७३ कोरियाली र २ जना थाई नागरिक थिए । आपत्कालिन सेवाका अधिकारीहरूले उद्धार कार्य जारी रहेको जनाएका छन् ।
सामाजिक सञ्जालमा सार्वजिनक दृष्यहरूमा विमान धावनमार्गबाट चिप्लिएको र पर्खालमा ठोक्किएको देखाइएको छ । त्यसलगत्तै विमानमा आगो फैलिएको र धुवाँको ठूलो मुस्लो उडिरहेको देखिन्छ ।
दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन । तर चरासँग ठोकिएपछि ल्यान्डिङ गियरमा समस्या भएको आशंका गरिएको छ ।
![South Korea plane crash: Death toll rises to 85 [Update]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/south-korea-rescue-29122024043127-1000x0.jpg&w=1001&h=0)