दक्षिण कोरियामा विमान दुर्घटना, कम्तीमा २८ जनाको मृत्यु 

पुस १४, २०८१

एजेन्सी

Plane crash in South Korea, at least 28 dead

सोल — १८१ जना बोकेको विमान दक्षिण कोरियाको एक विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ । 

थाइल्याण्डको बैंककबाट फर्किएको जेजु एयरको विमान दक्षिण-पश्चिम कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो ।  

योनहाप समाचार संस्थाका अनुसार १७५ यात्रु र चालक दलका ६ सदस्य रहेको बोइङ ७३७-८०० विमान धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किएको हो । विमानमा १ सय ७३ कोरियाली र २ जना थाई नागरिक रहेको जनाइएको छ ।

आपत्‍कालिन सेवाका अधिकारीहरूले उद्धार कार्य जारी रहेको र कम्तीमा २ जनाको जीवितै उद्धार गरिएको जनाएका छन् । विमानको पछिल्लो भागमा रहेका यात्रुहरूलाई उद्धार गर्ने प्रयास भइरहेको उनीहरूको भनाइ छ । 

सामाजिक सञ्जालमा सार्वजिनक दृष्यहरूमा विमान धावनमार्गबाट चिप्लिएको र पर्खालमा ठोक्किएको देखाइएको छ । त्यसलगत्तै विमानमा आगो फैलिएको र धुवाँको ठूलो मुस्लो उडिरहेको देखिन्छ । 

दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन । तर चरासँग ठोकिएपछि विमानको ल्यान्डिङ गियरमा समस्या भएको हुनसक्ने जनाइएको छ ।

एजेन्सी

Link copied successfully