दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिविरुद्ध पनि महाभियोग प्रस्ताव

पुस ११, २०८१

कान्तिपुर संवाददाता

Impeachment proposal against acting president of South Korea

सोल — दक्षिण कोरियाका विपक्षी सांसदहरूले बिहीबार कार्यवाहक राष्ट्रपति हान डक–सुविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका छन् । राष्ट्रपति युन सुक यओलविरुद्ध संसद्ले महाभियोग प्रस्ताव पारित गरेको दुई सातामा कार्यवाहक राष्ट्रपतिमाथि पनि महाभियोग प्रस्ताव दर्ता गरिएको हो । 

कार्यवाहक राष्ट्रपति हानले प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टीले मनोनीत गरेका न्यायाधीशलाई संवैधानिक अदालतमा नियुक्त गर्न अस्विकार गरेपछि महाभियोग प्रस्ताव दर्ता गरिएको हो । 'हानले आफूलाई कार्यवाहक राष्ट्रपति नभई  विद्रोही भएको देखाएका छन्,' पार्टीका संसदीय दलका नेता पार्क चान-डेले भने । 

हानले डिसेम्बर ३ मा राष्ट्रपति युनलाई सैनिक कानुन लागू गर्नका लागि सहयोग गरेको पनि विपक्षीको आरोप छ । यसअघि हानले राष्ट्रपतिको कदम रोक्न असफल भएकोमा माफी मागेका थिए । सैनिक कानून घोषणा गरेको कोरियाली संसद्ले डिसेम्बर १४ मा राष्ट्रपति युनविरुद्ध महाभियोग प्रस्ताव पारित गरेको थियो । तर उनी पदमुक्त हुन भने संवैधानिक अदालतको फैसला आवश्यक छ । 

संवैधानिक अदालतमा हाल ३ सदस्य रिक्त छन् । कार्यवाहक राष्ट्रपति हानले ९ सदस्यीय संवैधानिक अदालतमा रिक्त पदमा न्यायाधीश नियुक्तिलाई अनुमोदन गर्न अस्वीकार गरेका हुन् । तीन न्यायाधीशको औपचारिक नियुक्ति अस्वीकार गर्नुको अर्थ हान राष्ट्रपतिका रूपमा कार्य गर्न योग्य नभएको विपक्षीहरूको भनाइ छ । 

उनीविरूद्धको महाभियोग प्रस्तावमा आगामी २४ देखि ७२ घण्टाभित्र मतदान हुने जनाइएको छ । प्रस्ताव पारित हुन १ सय ५१ सांसदले मत दिनुपर्छ । कोरियाली संसद्‍मा हाल ३ सय सदस्य छन् । तीमध्ये १ सय ७० सांसद डेमोक्रेटिक पार्टीका छन् । 

कान्तिपुर

Link copied successfully