काठमाडौँ — जवाहरलाल नेहरू विश्वविद्यालय(जेएनयू) का पूर्व विद्यार्थी नेता उमर खालिदलाई अदालतले ७ दिनका लागि अन्तरिम जमानत दिएको छ । दिल्लीको कडकडडूमा अदालतले आफन्तको बिहेमा सहभागी हुन खालिदलाई ७ दिनका लागि छाड्न अनुमति दिएको हो ।
अदालतले खालिदलाई आउँदो डिसेम्बर २८ देखि जनवरी ३ सम्म जमानत दिएको छ । अदालतले खालिदलाई केही सर्त भने तोकेको छ । ७ दिनका क्रममा खालिदले आफन्त र साथीहरूसँग मात्र भेटघाट गर्न पाउनेछन् ।
साथै उनी आफ्नो घर र विवाह हुने ठाउँवरपर मात्र बस्न पाउनेछन् । त्यस्तै सामाजिक सञ्जाल चलाउन र अरु साक्षीसँग कुराकानी गर्न पनि उनलाई बन्देज लगाइएको छ । अदालतले खालिदलाई २० हजार धरौटीमा ७ दिनका लागि छाड्ने भएको हो ।
आतंकवादविरोधी कानुन(गैरकानुनी गतिविधि रोकथाम अधिनियम) अर्थात यूएपीएको मुद्दामा उमर खालिदलाई पक्राउ गरिएको हो । सामाजिक कार्यकर्ताका रूपमा समेत परिचय बनाएका उनी २०२० सेप्टेम्बर २०२० देखि जेलमा रहेका छन् ।
सन् २०२० को फेब्रुअरीमा उत्तर-पूर्वी दिल्लीमा हिंसा भड्काएको आरोपमा उनीविरुद्ध दुईवटा उजुरी परेको थियो । एउटा उजुरीमा उनलाई सन् २०२१ को अप्रिलमै जमानत प्राप्त भएको थियो । तर अर्को उजुरीमा भने उनीविरुद्ध यूएपीएअन्तर्गत आरोप लगाइएको छ ।
