ढाका — प्रधानमन्त्री शेख हसिनाको बहिर्गमनपछि अन्तरिम सरकारको नेतृत्व गरिरहेका मुहम्मद युनुसले बंगलादेशमा एक वर्षपछि मात्र चुनाव हुने बताएका छन् । विजय दिवसको अवसरमा सोमबार राष्ट्रका नामम सम्बोधन गर्दै युनुसले सन् २०२५ को अन्त्यदेखि २०२६ को सुरूसम्ममा बंगलादेशमा आमनिर्वाचन हुने बताएका हुन् ।
सरकारले बंगलादेशी आप्रवासीलाई पनि मताधिकार प्रयोगको व्यवस्था सुनिश्चित गर्ने योजना रहेको युनुसको भनाइ छ ।मतदाता सूची मात्र अद्यावधिक गरेको खण्डमा २०२५ को अन्त्यभित्रै चुनाव हुने उनको भनाइ छ । तर निर्वाचन सुधार आयोगको सिफारिस र राष्ट्रिय सहमतिका आधारमा निर्वाचन प्रणालीमा नै व्यापक सुधार गर्दा सन् २०२६ को सुरूतिर चुनाव गर्न सकिने उनले बताए ।
बंगलादेशमा आगामी चुनाव पारदर्शी र समावेशी बनाउन माग भएसँगै राजनीतिक दल र विभिन्न निकायहरूबीच छलफल चलिरहेको छ । बंगलादेशका पछिल्ला तीनवटा निर्वाचनमा कैयौं मतदाताहरू सहभागी भएका थिएनन् ।
१५ वर्षभन्दा लामो समयदेखि मतदाता सूची अद्यावधिक नगरिएकाले आगामी चुनाव गराउन थप चुनौतीपूर्ण भएको युनुसको दाबी छ । विगत १५ वर्षदेखि मताधिकार नपाएका योग्य नागरिकलाई सूचीमा समावेश गर्नुपर्ने र दोहोरो दर्ता हटाउनुपर्ने युनुस बताउँछन् ।
प्रमुख सल्लाहकार युनुसले अघिल्लो चुनावमा ठूलो संख्याका युवालाई आफ्नो मताधिकारबाट बञ्चित गरिएको बताए । ‘धेरैजसो युवाहरूले जीवनमा पहिलोपटक मतदान गर्नेछन् । उनीहरूको सहभागिताले आगामी चुनावलाई ऐतिहासिक र सम्झनलायक बनाउनेछ ।’ युनुसले निर्वाचन आयोग, राजनीतिक दलहरू, र सामाजिक संघसंस्थालाई नयाँ र रचनात्मक पहल गर्न आग्रहसमेत गरेका छन् ।
