ओपनएआईमाथि प्रश्न उठाउने सुचीर बालाजी मृत फेला

मंसिर २९, २०८१

एजेन्सी

Suchir Balaji, who questioned OpenAI, was found dead

काठमाडौँ — ओपनएआईका पूर्वकर्मचारी तथा शोधकर्ता सुचीर बालाजी आफ्नै अपार्टमेन्टमा मृत फेला परेका छन् । भारतीय मूलका २६ वर्षीय अमेरिकी नागरिक बालाजी सान फ्रान्सिस्कोस्थित लोअर हाइट क्षेत्रमा रहेको अपार्टमेन्टमा मृत भेटिएका हुन् । त्यहाँको मेडिकल परीक्षण कार्यालयका प्रमुखले उनको मृत्यु आत्महत्याका कारण भएको पुष्टि गरेका छन् । 

ओपनएआईका संस्थापक एवं अहिलेका कटु आलोचक इलन मस्कले भने बालाजीको निधनसम्बन्धी समाचारलाई अप्रत्यक्ष रूपमा प्रश्न उठाउने गरी आफ्नो प्लाटफर्म एक्समा पोस्ट गरेका छन् ।

बालाजी यसै वर्षको अक्टोबरदेखि चर्चामा आएका थिए । उनले च्यटजीपीटीजस्ता आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडलहरूको प्रशिक्षणका लागि ओपनएआईले अवैधानिक र अनैतीक रूपले प्रतिलिपि अधिकारयुक्त सामग्रीहरू प्रयोग गर्ने दाबी गरेका थिए । कम्पनीले सर्जकसँग अनुमति नलिइ अवैध तरिकाले कन्टेन्ट प्रयोग गर्ने गरेको भन्दै उनले सार्वजनिक रूपमै साम अल्टम्यानको आलोचना गरेका थिए । 

गत अक्टोबरमा द न्यूयोर्क टाइम्समा प्रकाशित एउटा लेखमार्फत बालाजीले ओपनएआईको यस्तो अभ्यासप्रति प्रश्न उठाएका थिए । उनको यो खुलासाले प्रविधि क्षेत्रमा एक जटिल विवाद निम्त्याउनुका साथै ओपनएआईविरुद्ध कानुनी मुद्दाहरू समेत दायर गरिएका थिए । विभिन्न मिडिया र सर्जकहरूले ओपनएआईको लार्ज ल्याङ्ग्वेज मोडलप्रति असन्तुष्टि जनाउँदै कानुनी चुनौती समेत दिइरहेका छन् । 

द न्यूयोर्क टाइम्ससँगको कुराकानीमा आधारित लेखमा बालाजीले कामको दबाब र ओपनएआईको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै गत अगस्टमा राजीनामा दिएको बताएका थिए । 'यदि तपाईंहरू मेरो कुरामा विश्वास गर्नुहुन्छ भने मैलेजस्तै कम्पनी छोड्नुहोस्, म के प्रष्ट छु भने यो मोडल समग्र इन्टरनेट क्षेत्रकै लागि गतिलो कुरा होइन ।'  

पछिल्लो समय ओपनएआईसँगको तिक्तता र कानूनी उल्झनले आफू दबाबमा रहेको बालाजीले बताउने गरेका थिए । उनका साथी र सहकर्मीहरूले पछिल्ला केही दिनदेखि उनीसँग सम्पर्क हुन नसकेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा पुगेपछि उनले आत्महत्या गरेको प्रारम्भिक निष्कर्ष निकालिएको थियो । पछि मेडिकल परीक्षण कार्यालयले पनि औपचारिक रूपमा उनको मृत्यु आत्महत्याका कारण भएको घोषणा गरिदिएको थियो ।

ओपनएआईले बालाजीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनको परिवार र मित्रजनप्रति समवेदना प्रकट गरेको छ । कम्पनीले एआई विकाससँग सम्बन्धित नैतिक र कानुनी चुनौतीहरूलाई गम्भीर रूपमा लिने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।  सन् २०१९ मा बालाजीले ओपेएआईमा काम सुरु गर्नुअघि स्केल एआई, हेलिया, कोराजस्ता अग्रणी प्रविधि कम्पनीहरूमा उनी आबद्ध थिए ।

एजेन्सी

Link copied successfully