नयाँदिल्ली — भारतका १८ वर्षीय किशोर गुकेश डोम्माराजु विश्वकै कान्छो चेस च्याम्पियन बनेका छन् । डोम्माराजुले बिहीबारको रोमाञ्चक खेलमा डिफेन्डिङ च्याम्पियन चीनका डिङ लिरेनलाई पराजित गर्दै इतिहास रचेका हुन् ।
सिंगापुरमा भएको फिडे विश्व चेस च्याम्पियनसिपको अन्तिम खेलमा उपाधि जित्दै उनी विश्वचर्चित बनेका छन् । बिहीबारको अन्तिम खेलमा ७.५ र ६.५ को स्कोरका साथ डोम्माराजुले उपाधि जिते । यो जितले उनलाई विश्वका १८ औं चेस च्याम्पियनको सूचीमा स्थान दिलायो ।
उपाधिसँगै डोम्माराजुले रुसी ग्रान्डमास्टर ग्यारी कास्पारोभको कीर्तिमान तोडेका छन् । कास्पारोभले सन् १९८५ मा २२ वर्षको उमेरमा यो उपाधि जितेका थिए ।
चेन्नईका डोम्माराजु बाल्यकालदेखि नै चेस खेलमा चर्चित थिए । उनले १२ वर्ष ७ महिनाको उमेरमै ग्रान्डमास्टरको उपाधि जितेका थिए । चेन्नईलाई भारतको चेस राजधानी मानिन्छ । डोम्माराजुको परिवारमा भने अन्य कोही खेलाडी नरेहका बताइएको छ ।
च्याम्पियनसिपको यो १४ खेलको श्रृंखला पछिल्ला पन्ध्र दिनदेखि विश्वभरका चेस प्रेमीले उत्सुकताका साथ हेरिरहेका थिए । अन्तिम खेल अघि, डोम्माराजु र डिङले समान दुई खेल जितेका थिए भने आठ खेल बराबरीमा सकिएका थिए ।
