काठमाडौँ — भारतका विपक्षी दलहरूको गठबन्धन (इन्डिया)ले माथिल्लो सदन राज्यसभाका सभापति जगदीप धनखडविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने भएका छन् । भारतीय कांग्रेसका महासचिव तथा राज्यसभा सांसद जयराम रमेशले राज्यसभाका महासचिवलाई अविश्वास प्रस्ताव बुझाएको जानकारी सामाजिक सञ्जाल एक्समार्फत जनाएका छन् ।
रमेशले लेखेका छन्, 'राज्यसभाका माननीय सभापतिद्वारा अत्यन्त पक्षपातपूर्ण तरिकाले माथिल्लो सदन चलाएका कारण इन्डिया ग्रुपका सबै घटक दलसामु उनीविरुद्ध औपचारिक रूपमा अविश्वास प्रस्ताव ल्याउनुको विकल्प थिएन ।'
कांग्रेस महासचिव रमेशले इन्डिया गठबन्धनले निकै कष्टपूर्ण निर्णय लिन बाध्य भएको समेत बताएका छन् । उनी लेख्छन्, '...तर संसदीय लोकतन्त्रको हितका लागि यो अभूतपूर्व कदम उठाउन परिरहेको छ । यो प्रस्ताव राज्यसभाका महासचिवलाई बुझाएका छौँ ।'
भारतीय माथिल्लो सदन राज्यसभाको पदेन सभापति उपराष्ट्रपति हुन्छन् । राज्यसभाले आफ्ना सदस्यहरूबाट एक उपसभापति पनि चुन्छन् । उपराष्ट्रपतिलाई हटाउनका लागि कुनै पनि सदन (राज्यसभा वा लोकसभा) का सदस्यहरूलाई कम्तीमा १४ दिनको लिखित सूचना दिनुपर्छ । उक्त सूचनामा उपराष्ट्रपतिलाई हटाउनुपर्नाको स्पष्ट कारण हुनुपर्छ ।
सोमबारको राज्यसभा बैठकमा सभापति धनखडले पक्षपातपूर्ण व्यवहार गरेको विपक्षी दलहरूले आरोप लगाएका छन् ।
