बेरूत,लेबनान — उत्तरपश्चिम सिरियामा फर्निचरसहितका स्थलमा भएको रूसी आक्रमणमा दश जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन् ।
युद्ध अनुगमन सङ्गठनका अनुसार उक्त आक्रमणमा परी एक जना बच्चासहित १० जनाको मृत्यु भएको हो ।
त्यस्तै, १४ जना बालबालिकासहित ३० जना घाइते भएको सिरियन अब्जर्वेटरी फर ह्युमन राइट्सले जनाएको छ । रूसले इदलिब सहरको बाहिरी भागमा ‘एउटा आरा मिल, फर्निचर र ओलिभ प्रेसर“ मा प्रहार गरेको थियो । सिरियाको नागरिक सुरक्षा बलले आफ्ना टोलीहरूले रूसी हमलामा मारिएका व्यक्तिहरूको शवलाई भग्नावशेषबाट निकालिरहेको जनाएको छ ।
नागरिक सुरक्षा बलका अनुसार बुधबारको आक्रमणले ‘कामदारहरू भित्र रहेको बेला फर्निचरलाई लक्षित गर्दा दश जना सर्वसाधारणको मृत्यु भएको थियो भने अन्य ३२ जना गम्भीर घाइते भएका थिए । सिरियाका राष्ट्रपति बशर अल–असदसँगको सहकार्य गरिरहेकोरूसी सेनाले इदलिबमा भएको आक्रमणमा बमबारीबारे कुनै टिप्पणी गरेको छैन ।
इदलिब प्रान्तको आधा र अन्य क्षेत्रहरूमा अल–कायदा समूहको नियन्त्रण रहेको छ । सन् २०२० मार्चमा सिरियाली सरकारको आक्रमणपछि रूस र टर्कीको मध्यस्थतामा यो क्षेत्रमा युद्धविरामको घोषणा गरिएको थियो ।
