न्युयाेर्क/बेरुत — इजरायल र हेजबुल्लाहबीचको युद्ध चर्कंदै गएपछि अमेरिका, बेलायत र युरोपेली संघलगायतका १२ देशले लेबनानमा अस्थायी युद्धविरामको लागि आह्वान गरेका छन् ।
तीन साता लामो युद्धविरामले द्वन्द्व अन्त्यका लागि कुटनीतिक समाधानका लागि ठाउँ प्रदान हुने र गाजामा युद्धविराम गर्न सम्भव हुने उनीहरूले जनाएका छन् । १२ देशले जारी गरेको संयुक्त विज्ञप्तिमा शत्रुता असहनीय भएको र सीमा क्षेत्रमा जारी जोखिम इजरायल वा लेबनानका जनताको हितमा नभएको बताएका छन् ।
इजरायली सेना प्रमुख हर्जी हलेभीले लेबनानमाथिको भीषण आक्रमणपछि उनीहरूलाई शत्रुको इलाकामा प्रवेश गर्न मार्ग प्रशस्त गर्न सक्ने बताए लगत्तै ती देशहरूको विज्ञप्ति आएको हो । अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्रसंघीय महासभामा विश्व नेताहरूको बैठकपछि विज्ञप्ति सार्वजनिक भएको हो ।
विज्ञप्तिमा अमेरिका, अष्ट्रेलिया, क्यानडा, युरोपेली संघ, फ्रान्स, जर्मनी, इटाली, जापान, साउदी अरब, संयुक्त अरब इमिरेट्स, बेलायत र कतारले हस्ताक्षर गरेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंको एक छुट्टै संयुक्त विज्ञप्ति जारी गर्दै युद्धग्रस्त क्षेत्रका सर्वसाधारणलाई घर फर्काउन र सुरक्षा सुनिश्चिता प्रदान गर्न युद्धविरामले बाटो खुल्ने बताएका छन् । हालको शत्रुताले धेरै फराकिलो द्वन्द्व र नागरिकहरूलाई नोक्सान पुग्ने उनीहरूको भनाइ छ ।
इजरायलले भने दक्षिणी लेबनान र बेका क्षेत्रमा आक्रमण जारी राखेको छ । इजरायली सेनाले बुधबार राति ७५ स्थानमा हेजबुल्लाह लक्षित आक्रमण गरेको जनाएको छ । ती आक्रमणमा कम्तीमा १३ जनाको ज्यान गएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै सोमबारयता इजरालले गरेका हवाई आक्रमणमा ज्यान गुमाउनेको संख्या ६ सय नाघेको छ । मारिनेमध्ये सयभन्दा बढी महिला र बालबालिका छन् । कम्तीमा १८ सय जना घाइते भएका जनाइएको छ । आक्रमणका कारण दक्षिणी लेबनानबाट दशौं हजार विस्थापित भएका छन् ।
गत वर्ष अक्टुबर ७ मा गाजामा युद्ध सुरू भएयता इजरायल र हेजबुल्लाहबीच सीमापार आक्रमण जारी छ । त्यस्ता आक्रमणमा कतिपय हेजबुल्लाह लडाकु मारिएका भए पनि ज्यानमा गुमाउने सर्वसाधारणको संख्या पनि उल्लेख्य छ ।
गत साता हेजबुल्लाह समूहले सञ्चारका लागि प्रयोग गर्ने पेजर र वाकीटकी विस्फोटमा ३७ जनाको ज्यान जानुका साथै कम्तीमा ३ हजार ५ सय घाइते भएका थिए ।
हिजबुल्लाहले विस्फोटका लागि इजरायल जिम्मेवार रहेको बताउँदै घटनाको बदला लिने चेतावनी दिएको थियो । तर त्यसबारे इजरायलले कुनै प्रतिक्रिया दिएको छैन ।
त्यस्तै, इजरायलले शुक्रबार लेबनानको राजधानी बेरुतमा गरेको हवाई आक्रमणमा हेजबुल्लाहका शीर्ष सैन्य कमाण्डर इब्राहिम अकिलको ज्यान गएको थियो । यसअघि २००६ मा हेजबुल्लाह र इजरायलबीच एक महिनाभन्दा लामो समयसम्म चलेको लडाइँका क्रममा लेबनानमा ११ सय र इजरायलमा १ सय १९ सैनिक तथा ४५ सर्वसाधारणले ज्यान गुमाएका थिए ।
