इजरायली आक्रमणमा लेबनानमा ५० को मृत्यु, ३ सय घाइते 

आश्विन ७, २०८१

एजेन्सी

50 dead, 300 wounded in Lebanon in Israeli attack

बेरुत — इजरायलले दक्षिणी लेबनानका विभिन्न स्थानमा सोमबार गरेको हवाई आक्रमणमा कम्तीमा ५० जना मारिएका छन् । आक्रमणमा ३ सयभन्दा बढी घाइते भएका छन् ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार घाइते हुनेमा महिला, बालबालिका तथा स्वास्थ्यकर्मीसमेत छन् । सोमबारको आक्रमण गत अक्टुबर ७ यताकै ठूलो भएको बताइएको छ ।

सरकारी अधिकारीहरूले आक्रमणमा मारिनेको संख्या निकै बढी भएको अनुमान गरेका छन् । इजरायली सेनाले लेबनानस्थित सशस्त्र समूह हेजबुल्लाहका अखडालाई लक्ष्य गरी आक्रमण गरेको दाबी गरेको छ । 

करिब एक वर्षअघि गाजामा युद्ध सुरु भएयता इजरायल–लेबनान सीमामा दिनहुँजसो गोली हानाहान हुँदै आएको थियो । सन् २०२३ को सेप्टेम्बर ७ मा प्यालेस्टिनी समूह हमासले उत्तरी इजरायलमा आक्रमण गरेको थियो । त्यसयता इजरायलले गाजामा गरेको आक्रमणमा करिब ४२ हजार प्यालेस्टिनीको ज्यान गइसकेको छ ।

इजरायलले हमासविरुद्धको आक्रमण तीव्र पारेसँगै हेजबुल्लाहले हमासलाई सहयोग गर्ने घोषणा गरेको थियो । जसका कारण इजरायलले हेजबुल्लाहलक्षित आक्रमण सुरु गरेको हो । गत साता हिजबुल्लाह समूहले सञ्चारका लागि प्रयोग गर्ने पेजर र वाकीटकी विस्फोटमा कम्तीमा ३७ जनाको ज्यान गएको थियो । ती घटनामा ३ हजार ५ सयभन्दा बढी घाइते भएका थिए । 

हेजबुल्लाहले विस्फोटका लागि इजरायल जिम्मेवार रहेको बताउँदै घटनाको बदला लिने चेतावनी दिएको थियो । तर इजरायलले भने त्यसबारे कुनै प्रतिक्रिया जनाइसकेको छैन । त्यस्तै, इजरायलले शुक्रबार लेबनानको राजधानी बेरुतमा गरेको हवाई आक्रमणमा हेजबुल्लाहका शीर्ष सैन्य कमान्डर इब्राहिम अकिलको ज्यान गएको थियो । 

हेजबुल्लाह र हमासलाई इजरायल, अमेरिका, यूके लगायतका कतिपय देशले आतंककारी समूहको सूचीमा राखेका छन् ।

एजेन्सी

Link copied successfully