कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

'ओकस' सम्झौताको असर : फ्रान्सले अस्ट्रेलिया र अमेरिकाबाट राजदूत फिर्ता बोलायो

एजेन्सी

पेरिस — फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट आफ्ना राजदूत फिर्ता बोलाएको छ । बेलायत,अमेरिका र अस्ट्रेलियाबीच गत बुधबार भएको सुरक्षा सम्झौतालाई लिएर विवाद बढिरहेका फेला फ्रान्सले राजदूत फिर्ता बोलाएको हो ।

'ओकस' सम्झौताको असर : फ्रान्सले अस्ट्रेलिया र अमेरिकाबाट राजदूत फिर्ता बोलायो

फ्रान्सले अस्ट्रेलियाबाट जाँ पियरे थेबो र अमेरिकाबाट फिलिप एटियनलाई फिर्ता बोलाएको हो । फ्रान्सका विदेशमन्त्री जाँ यिभ लु द्रियाँले ‘असाधारण गम्भीर’ अवस्थालाई हेर्दै ‘असाधारण निर्णय’ लिइनु उचित भएको बताएका छन् । ‘ओकस’ नाम दिइएको उक्त सुरक्षा सम्झौतापछि अस्ट्रेलियाले ५० अर्ब अस्ट्रेलियन डलरबराबरको रक्षा सम्झौता रद्द गरेपछि फ्रान्स चिढिएको छ ।

अस्ट्रेलियालाई परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी उपलब्ध गराइने सम्झौतमा उल्लेख छ । अस्ट्रेलियाले जलसेनाका लागि सन् २०१६ मा १२ वटा पनडुब्बी निर्माणका लागि फ्रान्ससँग सम्झौता गरेको थियो । उक्त सम्झौता करिब ५० अर्ब अस्ट्रेलियन डलर बराबरको थियो । फ्रान्सको विदेश मन्त्रालयले भने सम्झौता खारेज गर्ने अस्ट्रेलियाको निर्णय ‘दूर्भाग्यपूर्ण’ भएको प्रतिक्रिया दिएको छ ।

एसिया प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई रोक्न ओकस सम्झौता गरिएको बुभि,एको छ । बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले भिडियो मिटिङमार्फत सम्झौता घोषणा गरेका थिए ।

सम्झौता हुनुभन्दा केही घण्टाअघि मात्रै फ्रान्सलाई जानकारी दिइएको थियो । फ्रान्सका विदेशमन्त्री दिय्राँले राष्ट्रपति इम्मानुएल म्याक्रोंको अनुरोधमा राजदूतहरु फिर्ता बोलाइएको जानकारी दिए ।

अमेरिकाले फ्रान्सको कदमप्रति दु:ख व्यक्त गर्दै मतभिन्नता अन्त्यका लागि वार्ता गरिने बताएको छ । त्यस्तै अस्ट्रेलियाकी विदेशमन्त्री मरिस पेनले फ्रान्सको ‘निराशा’ लाई बुझ्न सकिने र द्विपक्षीय सम्बन्ध सुधारका लागि कुरा गरिने बताइन् ।

अन्तर्राष्ट्रिय सम्बन्धमा मित्रराष्ट्रहरूले राजदूत फिर्ता बोलाउनुलाई असामान्य कदम मानिन्छ । फ्रान्सले दुवै मुलुकबाट राजदूत फिर्ता बोलाएको यो पहिलो घटना हो । त्यस्तै वासिङ्टनमा शुक्रबारका लागि तय भएको एउटा कार्यक्रम पनि फ्रान्सले स्थगित गरिसकेको छ ।

त्यस्तै चीनले पनि तीन देशबीचको सम्झौता ‘गैरजिम्मेवार’ भएको प्रतिक्रिया दिएको छ । चिनियाँ विदेश मन्त्रालयले उक्त सम्झौता गरेर अस्ट्रेलियाले आफूसँग दूरी बढाएको प्रतिक्रिया दिएको छ ।

सम्बन्धित समाचार

प्रकाशित : आश्विन २, २०७८ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?