कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८०

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गरी ९० दिनभित्र रिपोर्ट पेस गर्न बाइडेनको आदेश

इकान्तिपुर डेस्क

काठमाडौँ — अमेरिकी राष्ट्रपति जो बाइडेनले गुप्तचर निकायलाई कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गरी ९० दिनभित्र रिपोर्ट पेस गर्न आदेश दिएका छन् ।

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गरी ९० दिनभित्र रिपोर्ट पेस गर्न बाइडेनको आदेश

कोरोना भाइरसको उत्पत्तिका बारेमा विवाद बढिरहेका बेला राष्ट्रपति बाइडेनले गुप्तचर निकायलाई कोरोना भाइरसको उत्पत्ति कहाँबाट भयो भन्ने कुरा पत्ता लगाई ९० दिनभित्र रिपोर्ट पेस गर्न आदेश दिएका हुन् ।

बाइडेनले बुधबार एक वक्तव्य जारी गर्दै अमेरिकी गुप्तचर निकायलाई आदेश दिएका हुन् । उनले भनेका छन्, ‘आफ्ना प्रयासलाई अझै बढाउनुहोस् र ९० दिनभित्र यसको रिपोर्ट पेस गर्नुहोस् ।’ राष्ट्रपति बाइडेनले कोरोना भाइरस जनावरबाट मानिसमा सरेको हो वा प्रयोगशालामा भएको दुर्घटनाले फैलिएको हो भन्ने कुरा पत्ता लगाउन पनि आदेश दिएका छन् ।

कोरोना भाइरसको संक्रमणको पहिलो घटना सन् २०१९ को डिसेम्बरको अन्त्यमा चीनको हुबेई प्रान्तको राजधानी वुहानमा देखिएको थियो । कोरोना भाइरसबाट अहिलेसम्म विश्वभर १६ करोड ८० लाखभन्दा बढी संक्रमित भएका छन् भने करिब ३५ लाखको ज्यान गएको छ । चिनियाँ प्रशासनले वुहानको सीफूड मार्केटमा पहिलो पटक संक्रमण देखिएको दाबी गर्दै आएका छन् । वैज्ञानिकहरुले कोरोना भाइरस चमेरो हुँदै कुनै जनावरमार्फत मानिसमा सरेको प्रबल सम्भावना रहेको बताउँदै आएका छन् ।

तर केही दिन पहिले अमेरिकी सञ्चारमाध्यममा छापिएको रिपोर्टमा भने वुहानस्थित एक प्रयोगशालाका कर्मचारी बिरामी भएको बताइएको थियो । अमेरिकी गुप्तचर निकायको रिपोर्टलाई उद्धृत गर्दै वाल स्ट्रिट जर्नलमा प्रकाशित एक रिपोर्टमा वुहानमा कोरोना भाइरसको संक्रमित भेटिनुअघि नै वुहानस्थित एक प्रयोगशालाका कर्मचारी बिरामी भएको दाबी गरिएको छ । तर उक्त रिपोर्टको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

पश्चिमा देशहरुले कोरोना भाइरस प्रयोगशालामा तयार पारिएको हुन सक्ने कुरालाई जोड दिँदै आएका छन् । तर चीनले भने उक्त कुरालाई कडा रुपमा नकार्दै आएको छ ।

यसअघि मार्चमा विश्व स्वास्थ्य स‌ंगठन(डब्लूएचओ) ले वुहानको स्थलगत भ्रमण र अनुसन्धानपछि प्रतिवेदन सार्वजनिक गर्दै कोरोना भाइरसको उत्पत्ति प्रयोगशालामा तयार भएको भन्ने आरोपलाई खारेज गरेको थियो । डब्लूएचओले कोरोना भाइरसको उत्पत्तिबारेको अध्ययनको प्रारम्भिक प्रतिवेदनमा कोरोना भाइरस जनावरबाट मानिसमा सरेको बताइएको छ । चमेरो र सालकले कोरोना सारेको हुन सक्ने प्रारम्भिक अध्ययनमा बताइएको छ ।

डब्लूएचओको प्रतिवेदनमा फार्ममा पालिएको जंगली जनावर कोरोना भाइरस सार्ने प्रमुख स्रोत भएको हुन सक्ने सम्भावना बलियो भएको बताइएको छ । तर कोरोना भाइरसको उत्पत्तिको स्रोत मानिएको चमेरोले कुन जनावरलाई संक्रमित बनायो भन्नेचाहिँ अध्ययनमा खुल्न सकेको छैन । चमेरोबाट कुनै जनावरमा सरेर त्यसपछि मानिसमा कोरोना भाइरस सरेको हुन सक्ने प्रतिवेदनमा जनाइएको छ ।

अन्तर्राष्ट्रिय विज्ञ सम्मिलित डब्लूएचओको टिम अध्ययनका लागि जनवरी १४ देखि फेब्रुअरी १४ सम्म कोरोनाको उत्पत्तिस्थल मानिएको चीनको वुहान पुगेको थियो । अध्ययन टोलीमा १७ जना चिनियाँ र विभिन्न मुलुकका १७ जना विज्ञ सहभागी थिए ।

अमेरिका, बेलायत, क्यानडा, जापान, नर्वे, डेनमार्कलगायतका विभिन्न १४ मुलुकले भने डब्लूएचओको प्रतिवेदनमा प्रश्न उठाएका थिए । त्यस्तै युरोपेली युनियनले पनि कोरोना भाइरसको उत्पत्तिबारे अझ अनुसन्धान हुनुपर्ने र त्यो स्वतन्त्र हुनुपर्ने बताएको थियो ।

प्रकाशित : जेष्ठ १३, २०७८ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?