सामान्य वर्षामै पनि किन डुब्छ माइतीघर ?

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीको संयोजकत्वमा गठित समितिले दीर्घकालीन समाधानका लागि ढल निकासमाथि बनाइएका निजी तथा सरकारी संरचना तत्काल हटाउन सिफारिस गरेको छ ।

श्रावण १०, २०८३

नारायण किलम्बू

Why Does Maitighar Flood Even in Normal Rain?

What you should know

काठमाडौँ — काठमाडौंमा सामान्य वर्षा हुनेबित्तिकै माइतीघरलगायतका क्षेत्र डुबानमा पर्नु अब नियमितजस्तै बनेको छ। हरेक वर्ष दोहोरिने यो समस्याले सर्वसाधारणलाई सास्ती मात्रै दिएको छैन, सरकार र स्थानीय तहको कार्यसम्पादनमाथि पनि प्रश्न उठ्ने गरेको छ । 

डुबानको वास्तविक कारण पहिचान गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौं महानगरपालिका, सडक डिभिजन काठमाडौं र काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रतिनिधि सम्मिलित संयुक्त प्राविधिक समिति गठन गरिएको थियो । 

समितिले साउन ७ गते बुझाएको प्रतिवेदनले माइतीघर क्षेत्र डुबानको मुख्य कारण ढल निकासमा भएको अतिक्रमण, साँघुरो ढल, ढलभित्र थुप्रिएको फोहोर, टुकुचा खोलासँगको सतहगत असन्तुलन तथा सम्बन्धित निकायबीच समन्वयको अभाव रहेको निष्कर्ष निकालेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीको संयोजकत्वमा गठित समितिले दीर्घकालीन समाधानका लागि ढल निकासमाथि बनाइएका निजी तथा सरकारी संरचना तत्काल हटाउन सिफारिस गरेको छ । प्रतिवेदनअनुसार ढललाई बाहिरबाटै देखिने गरी खुला राख्नुपर्ने सुझाव पनि दिइएको छ ।

Why Does Maitighar Flood Even in Normal Rain?

अतिक्रमणले थुनियो ढल

प्रतिवेदनअनुसार माइतीघर क्षेत्रबाट संकलन हुने वर्षाको पानी र ढल सैन्य परिवहन गण हुँदै थापाथली क्याम्पस परिसरमा प्रवेश गर्छ। त्यहाँबाट एउटा निकास तथ्यांक विभागतर्फ जान्छ, जहाँ ढलको आकार नै साँघुरो छ। अर्को निकास टुकुचा खोलातर्फ जान्छ।

ढल निकासमाथि बनेका संरचनाकै कारण पानीको बहाव अवरुद्ध भएको समितिको निष्कर्ष छ। थापाथली क्याम्पस प्रशासनले पनि डुबानको कारण त्यस्ता संरचना नै भएको पुष्टि भए हटाउन तयार रहेको जनाएको छ ।

प्रतिवेदनले थापाथली क्याम्पस, राष्ट्रिय वाणिज्य बैंक, तथ्यांक कार्यालयलगायतका संरचनाले ढल निकास अतिक्रमण गरेको उल्लेख गरेको छ। कतिपय स्थानमा ढल छोपेर पसल र शौचालयसमेत निर्माण गरिएको भेटिएको छ।

हरायो प्राकृतिक जलाशय

समितिले माइतीघर डुबानको अर्को महत्त्वपूर्ण कारण विगतमा रहेको प्राकृतिक जलाशय मासिनुलाई पनि औंल्याएको छ।

पहिले माइतीघर चोकसँगै रहेको होचो खाली जग्गाले वर्षाको पानी केही समय जम्मा गरेर राख्ने प्राकृतिक जलाशयको काम गर्थ्यो। थापाथली हाइट, सिंहदरबार र बबरमहलजस्ता उच्च भूभागबाट बगेर आउने पानी पहिले त्यहीँ जम्मा हुने, त्यसपछि विस्तारै ढलमार्फत टुकुचातर्फ जाने भएकाले मुख्य ढलमा एकैपटक चाप पर्दैनथ्यो।

Why Does Maitighar Flood Even in Normal Rain?

तर अहिले त्यही स्थानमा प्रहरी परिसर काठमाडौं र जिल्ला सरकारी वकिलको कार्यालय निर्माण भएपछि प्राकृतिक रूपमा पानी जम्ने र जमिनले सोस्ने प्रक्रिया समाप्त भएको छ। त्यसपछि वर्षाको सम्पूर्ण पानी सिधै माइतीघर चोकतर्फ बग्न थालेको प्रतिवेदनमा उल्लेख छ।

समन्वय अभाव पनि समस्या

प्रतिवेदनले विद्युत् प्राधिकरण, नेपाल टेलिकम, खानेपानीलगायत सेवा प्रदायक निकायले पाइप, केबल तथा अन्य संरचना बिछ्याउने वा मर्मत गर्ने क्रममा पर्याप्त समन्वय नगर्दा पनि ढल प्रणालीमा अवरोध पुगेको उल्लेख गरेको छ।

ढल निकास र टुकुचा खोलाको सतहबीच रहेको उचाइको अन्तर तथा नियमित सरसफाइ नहुँदा ढलभित्र थुप्रिएको ठोस फोहोरले पनि पानीको बहावमा अवरोध पुर्‍याएको समितिको निष्कर्ष छ।

वैज्ञानिक अध्ययनको आवश्यकता

प्रतिवेदनले माइतीघरसहित काठमाडौं उपत्यकाका अन्य डुबानग्रस्त क्षेत्रमा दीर्घकालीन समाधानका लागि वैज्ञानिक तथा विस्तृत अध्ययन गरी समग्र ढल निकास प्रणाली पुनः व्यवस्थित गर्नुपर्ने सुझाव दिएको छ।

नारायण किलम्बू कान्तिपुर टेलिभिजनमा कार्यरत छन् ।

Link copied successfully