सीमित क्षेत्रमा संचालनमा आउन लागेका ब्लु बस महिला यात्रुको संख्याका आधारमा पर्याप्त त हैन तर यो सकारात्मक प्रयास भने हो । तर सरकारले समग्र सार्वजनिक यातायातलाई पनि महिला मैत्री र यौन हिंसारहित बनाउन जरूरी छ ।
काठमाडौँ — ‘केटी भएकै कारण जहिल्यै डरमा बाँचिरहेकी हुन्छु । आज के हुन्छ र कसले के गर्छ भन्ने चिन्ता सधैं मनमा रहिरहन्छ,’ सार्वजनिक यातायातमा दैनिक घर र कार्यालय आउजाउ गर्ने काठमाडौं थानकोटकी एक युवतीले दुई दिनअघि फेसबुकमा पोखेको पीडा हो यो ।
ती युवतीका अनुसार केही दिनअघि मात्र साँझ घर फर्किने बेला खचाखच भरिएको बसमा एक व्यक्तिले उनलाई यौन दुर्व्यवहार गरेपछि बाध्य भएर फेसबुकमा पीडा पोखेकी हुन् । जबकी उनले दुर्व्यव्यवहार गर्ने युवकविरुद्ध तत्काल प्रतिवाद गरेपनि यात्रुको भीडमा उनी एक्लै भईन् । बसमा भएको भीडले उनका पीडा सुन्नै चाहेन । यात्रुहरूको मौनता देखेर उनी आफैं निरीह भई अन्यत्र गएर बसिन् ।
तर, यो पीडा उनले पहिलोपटक भोगेको भने थिएन । ‘यस्तो परिस्थिति मैले धेरैपटक भोगिसकेकी छु । अझै कति भोग्नुपर्ने हो ?’ उनले फेसबुक स्टाटसमा थप लेखेकी छन्, ‘तर यहाँ कसलाई के मतलब !’ शहरकै सार्वजनिक यातायातमा पनि यौन दुर्व्यवहार भोग्ने महिलाहरु कैंयन छन् । केहीले प्रतिवाद गरेर कानुनी बाटो समाए पनि धेरैले ती युवतीले जस्तै सहेर बस्न बाध्य छन् ।
प्राप्त तथ्याङ्क र प्रवृत्ति हेर्ने हो भने पनि हाम्रो सार्वजनिक यातायात महिलाका लागि पूर्णतः सुरक्षित देखिँदैनन् । साउन २०८२ देखि गत जेठ मसान्तसम्मको ११ महिनामा काठमाडौं उपत्यकाका सार्वजनिक स्थल तथा सार्वजनिक यातायातमा महिलामाथि अश्लील हर्कत गर्ने, शारीरिक यौनजन्य दुर्व्यवहार गर्ने, अपशब्द बोल्ने तथा अन्य दुर्व्यवहार गर्ने आरोपमा १ हजार ९ सय ३६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । तीमध्ये ७६ जनाविरुद्ध प्रहरीले मुद्दा चलाइएको थियो ।
यस्तै प्रकृतिका गतिविधिमा संलग्न रहेको आरोपमा साउन २०८१ देखि असार २०८२ सम्म ४ हजार १ सय ३३ जना पक्राउ परेका थिए । तीमध्ये १ सय ९९ जनाविरुद्ध मुद्दा चलाइएको प्रहरीले जनायो । काठमाडौंबाहेक देशका अन्य क्षेत्रमा पनि गत साउनदेखि जेठसम्मको ११ महिनामा सार्वजनिक स्थल र सार्वजनिक यातायातमा महिला र बालबालिकालाई यौनजन्य हिंसा गरेको आरोपमा ११ जना पक्राउ परिसकेका छन् । तथ्यांकको तुलनात्मक अध्ययन गर्दा सार्वजनिक यातायातमा महिलाविरुद्ध हुने यौनहिंसाका घटनामा पक्राउ पर्नेको संख्या पछिल्लो समय केही घटेको देखिएपनि समस्यारहित भने हैन । अझै पनि हाम्रा सार्वजनिक यातायात महिलामैत्री छैनन् भन्ने प्रमाण प्रहरीले उपलब्ध गराएको तथ्यांकले नै दिन्छ ।
सार्वजनिक यातायातमा महिलाहरू असुरक्षित हुने क्रम नरोकिएपछि सरकारले परीक्षणका लागि महिला मैत्री ब्लु बस सेवा सञ्चालन गर्न लागेको छ । साउनदेखि सरकारले महिलाहरूका लागि छुट्टै सेवा दिन निःशुल्क ब्लु बस सञ्चालनमा ल्याउने तयारी गरिरहेको हो । साउनबाट नमुना परीक्षणका रूपमा ४ रुटमा ८ वटा ब्लु बस संचालनमा ल्याउने गरी छलफल भइरहेको छ । तर, ब्लु बसको खाँचोबारे हामीले सोध्दा अधिकांश महिला यात्रुले महिलालाई छुट्टै बसको व्यवस्था गर्नुको साटो भएकै सार्वजनिक यातायातलाई सुरक्षित बनाउन अनुरोध गरेका छन् ।
तर, के महिलाहरूका लागि छुट्टै र निःशुल्क यात्रा गर्न पाउने ब्लु बस सार्वजनिक यातायातमा महिलाहरूले भोग्ने हिंसाको समाधान हो त ? यातायात क्षेत्रका जानकार यसलाई दिगो समाधान त मान्दैनन् नै, उल्टो सरकारको स्विकारोक्तिले अन्तर्राष्ट्रिय स्तरमा महिलाका लागि नेपाल असुरक्षित छ भन्ने अर्थ लाग्ने तर्क गर्छन् । हामीले केही महिला यात्रुलाई पनि सोध्यौं– ब्लु बसबारे तपाईंको धारणा के छ ? केहीले सुविधा हुने भने पनि अधिकांश भन्छन्, ‘बरु सरकारले सशुल्क बसमै पनि महिलाहरू जुनसकै समयमा यात्रा गर्दा यौनजन्य हिंसा नहुने वातावरण बनाइदिए पुग्छ ।’
सरकारले सञ्चालनमा ल्याउन लागेको ब्लु बसका लागि ४ करोड ५० लाख बजेटसमेत विनियोजन भईसकेको छ । पहिलो चरणमा साझा यातायातसँगको सहकार्यमा बूढानीलकण्ठ–लगनखेल–गोदावरी रुटमा दुईवटा, नागढुंगा–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रुटमा दुईवटा तथा चक्रपथमा चारवटा बस सञ्चालन गर्ने तयारीमा सरकार लागेको छ । काठमाडौं उपत्यकाका सीमित क्षेत्रमा संचालनमा आउन लागेका ब्लु बस महिला यात्रुको संख्याका आधारमा पर्याप्त त हैन तर यो सकारात्मक प्रयास भने हो । सँगसँगै बुझ्नु पर्ने कुरा के हो भने, ब्लु बसबाहेकका सार्वजनिक यातायातलाई पनि महिला मैत्री र यौन हिंसारहितका सुरक्षित बनाउन सरकारले पहल गर्नुपर्ने आवश्यकता छ ।