जब तीन बच्चालाई त्रिशूलमा रोपेर दिउँसै सहर घुमाइयो

पशुपति क्षेत्रका बालबालिकालाई राक्षसले बध गर्न थालेपछि तान्त्रिकको सहयोगमा राक्षसकै बच्चा समातेर त्रिशुलमा उनेर सहर घुमाउँदै वर्षेनी मचाति जात्रा मनाइने गरिन्छ ।

असार २५, २०८३

नारायण किलम्बू

What you should know

काठमाडौँ — पशुपतिको देवपटनमा बुधबार भिन्न दृश्य देखियो । तीन जना बालबालिकालाई त्रिशूलमा रोपेर उत्तानो अवस्थामा तीन वटा खटमा राखेर भुवनेश्वरी, जयवागेश्वरी, गोलनवरी टोल, सिफल घुमाएर पुनः देवपटन नै लगिएको थियो । यो भिन्न दृश्य नेवार समुदायले हरेक वर्षको असार कृष्णपक्ष अष्टमीका दिन मनाउने मचाति जात्राको हो । कुमार र कुमारी तीन बालबालिकालाई प्रतिकात्मक रूपमा त्रिशूलले घोचेर खटमा राखी शहर परिक्रममा गर्दै यो जात्रा मनाउने परम्परा छ ।

तत्कालीन समयमा पशुपति देवपटन क्षेत्रमा राक्षसहरुले स्थानीयलाई धेरै दुःख दिन्थे । त्यहाँका बालबालिकालाई राक्षसले लगेर बध गर्ने क्रम बढेपछि तान्त्रिक बन्धुदत्त आचाजूको सहयोगमा राक्षसकै बच्चा समातेर त्रिशुलमा उनेर सहर घुमाइयो । स्थानीयले आफ्नै बच्चामाथि आक्रमण गरेर सहर घुमाएपछि डराएका राक्षसले पनि मान्छेका बच्चा लैजान छाडेको किवंदन्ती छ । त्यसै घटनाको स्मरणमा हालसम्म पनि यो जात्रा मनाउन थालिएको मानिन्छ । यस जात्रालाई त्रिशुल जात्रा पनि भनिन्छ ।

नेवार समुदायले मनाउने मचाति जात्राको खटमा राखिने ब्रतबन्ध नभएका बालक र राजस्वला नभएकीलाई कुमार र कुमारीको रुपमा पुजिन्छ । खटमा रहेका बालबालिकाको सुरक्षाको उचित व्यवस्था गरिएको हुन्छ । त्यसपछि खटलाई युवाहरुले काँधमा बोकेर पशुपति देवपटन हुँदै सहर परिक्रममा गरी जात्रा मनाउने चलन छ । यसैगरी पशुपति क्षेत्रको वात्सल्यश्वरी मन्दिर र बज्रघरमा बनाइएका छुट्टाछुट्टै खटमा पनि दुई कुमारको विम्बको रूपमा बालकलाई त्रिशूलले घोचेर खटमा राखी जय बागेश्वरी पुर्‍याइन्छ ।

खटमा चढ्न डंगोल, वैद्य, विषेद, नापित समुदायका बालबालिका मात्र योग्य हुन्छन् । पशुपतिको देवपटनबाट सुरु हुने यो जात्रा भुवनेश्वरी, जयवागेश्वरी, गोलनवरीटोल, सिफल हुँदै पुनः देवपटनमै पुगेर समापन हुन्छ । परम्परा धान्न जात्रालाई निरन्तरता दिइए पनि खटमा बस्ने बालबालिकालाई भने सहज नहुने स्थानीय बताउँछन् । लिच्छविकालदेखि सुरु भएको मानिने यो जात्रा पृथक पहिचानको छ । तीनवटा खटमा बालबालिकालाई उत्तानो आसनमा राखेर मनाइने जात्रा विरलै मात्र रहेको मानिन्छ ।

पृथक पहिचान झल्कने जात्रा भएकाले उपत्यकाका विभिन्न ठाउँहरुबाट स्थानीय आउने गरेका छन् । हरेक वर्ष मनाइने यो जात्राले लोप हुन लागेको परम्परा र संस्कृतिलाई निरन्तरता दिएको छ । तर, लिच्छविकालमा यो जात्रामा ९ वटा खट प्रयोग हुने गरिएकामा हाल तीनवटामा मात्र सीमित छ ।

फिचर

नारायण किलम्बू कान्तिपुर टेलिभिजनमा कार्यरत छन् ।

Link copied successfully