२०१८ को विश्वविजेता फ्रान्सले लगातार दोस्रो पटक क्वार्टरफाइनलमा पुगेको अफ्रिकी देश मोरोक्कोको सामना गर्दै छ । विहिबार राति पौने १ बजे हुने खेलमा एम्बाप्पे अधिकांश खेलप्रेमीका लागि आकर्षणको केन्द्रमा हुनेछन् ।
What you should know
काठमाडौँ — एर्लिङ हालान्ड, हृयारी केन, किलियन एम्बाप्पे, लियोनेल मेस्सी, लामिन यामाल, रोमेलु लुकाकु । जारी फिफा विश्वकपमा क्वार्टरफाइनल समीकरण पूरा भएसँगै यी स्टार खेलाडीका लागि आफ्नो महत्वलाई ऐतिहासिक बनाउने घडी सम्मुखमा आइपुगेको छ । क्वार्टरफाइनलमा पुगेका आठ टोलीबीच रहेका यी स्टार खेलाडीको वास्तविक प्रतिस्पर्धा अब देखिने छ ।
कुन खेलाडीले आफुलाई विश्व विजेताकारूपमा चिनाउलान् त ? क्वार्टरफाइनल पुगेका अर्जेन्टिना, बेल्जियम, इङ्ल्यान्ड, फ्रान्स, मोरक्को, नर्वे, स्पेन र स्विट्जरल्यान्डको अबको प्रष्ट लक्ष्य विश्वकप ट्रफी उचाल्नेमा हुनेछ ।
नेपाली समय अनुसार, बिहीबार मध्यरातदेखि सुरु हुने क्वार्टरफाइनलमा विश्वकपका आइकोनिक खेलहरु हुँदैछन् । २०१८ को विश्वविजेता फ्रान्सले लगातार दोस्रो पटक क्वार्टरफाइनलमा पुगेको अफ्रिकी देश मोरोक्कोको सामना गर्दै छ । राति पौने १ बजे हुने खेलमा एम्बाप्पे अधिकांश खेलप्रेमीका लागि आकर्षणको केन्द्रमा हुनेछन् ।
रियल म्याड्रिड स्टार फरवार्ड समेत रहेका २७ वर्षिय एम्बाम्पेले फ्रान्सका लागि अहिलेसम्म एक सय ३ खेलमा सर्वाधिक ६३ गोल गरिसकेका छन् । यदि फाइनलसम्म पुगेमा उनी इतिहासकै उत्कृष्ट खेलाडीको सूचीमा उक्लिनेछन् । जारी विश्वकपका पाँच खेलमा उनले सात गोल, दुई असिस्ट गर्दै तीन पटक प्लेएर अफ द म्याच भईसकेका छन् । विश्वकपमा भने उनको गोल संख्या १९ पुगिसकेको छ । तर, सबैको नजर एम्बाप्पेमा रहँदा बार्कोला, ओउसमान डेम्बेले र माइकल ओलिसे पनि ध्यान तान्न सक्ने खेलाडी हुन् ।
अर्कोतर्फ, सन् २०२२ मा इतिहास रच्दै विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको मोरक्कोको लागि अबको लक्ष्य कम्तिमा फाइनल पुग्नु हुनेछ । मोरक्कोले अन्तिम ३२ मा नेदरल्यान्ड्स र अन्तिम १६ मा क्यानडालाई हराउँदै क्वार्टरफाइनलको यात्रा तय गरेको हो । दुवै खेलमा एटलस लायन्सले डोमिनेटिङ प्रदर्शन गरेको थियो । अब मोरक्कोकोले पुनः फ्रान्सको सामना गर्दा २०२२ को सेमिफाइनलको पुरानो भेट दोहोरिनेछ ।
फ्रान्सविरुद्ध मोरक्को ‘अन्डरडग’ का रूपमा उत्रिए पनि उससँग आफ्नो पक्षमा परिणाम निकाल्ने क्षमता पर्याप्त छ । पोजेसन फुटबल खेल्ने स्पेनले अब बेल्जियमको सामना गर्दैछ । दुवै टोलीसँग अनुभवी, व्यावसायिक खेलाडीको लामो सूची छ । स्पेनसँग उत्कृष्ट मिडफिल्डरको समूह छ भने बेल्जियमसँग मिडफिल्डका बादशाह केभिन डिब्रुएना छन् ।
स्पेनले यो विश्वकपमा खेलेका पाँच वटै खेलमा गोल खाएको छैन । त्यसैले जारी विश्वकपमा स्पेनको सबैभन्दा बलियो पक्ष डिफेन्स बनेको छ । लेफ्ट ब्याक मार्क कुकुरेला, सेन्टर ब्याक आयमेरिक लापोर्टे र पाउ कुबार्सी, राइट ब्याक पेद्रो पोरो तथा गोलकिपर उनाइ सिमोनले नकआउट चरणका सबै एक सय ८० मिनेट सँगै खेलेका छन्, र यो रक्षापंक्तिको पर्खाल तोड्न विपक्षीलाई निकै पसिना बगाउनु पर्नेछ ।
सिमोनले त विश्वकपमा लगातार ६ सय ९ मिनेटसम्म गोल नखाई नयाँ कीर्तिमान कायम गरेका छन्, जुन अहिलेसम्मकै सबैभन्दा लामो समय हो । तर, यो टिमसामु बेल्जियमका ३३ वर्षिय रोमेलु लुकाकुलाई गोल गर्नबाट रोक्नु ठूलो चुनौती बन्नेछ । उता, ३५ वर्षिय केभिन डे ब्रुइना सटीक पास निकाल्न निपूर्ण छन् ।
बेल्जियमले पछिल्ला दुई खेलमा न्यूजिल्यान्ड र संयुक्त राज्य अमेरिकाविरुद्ध नौ गोल गरेको छ । ३४ वर्षका थिबाउट कोट्वा अझैसम्म विश्वकै उत्कृष्ट गोलकिपरमध्येका हुन् । र, ३१ वर्षका विङ्गर लियान्द्रो ट्रोसार्ड प्रतियोगिताकै उत्कृष्ट प्लेमेकरमध्ये एक मानिन्छन् । बेल्जियम नयाँ स्वरूपको टोली भए पनि यसको पहिचान अझै अनुभवी खेलाडीसँगै जोडिएको छ । अनि, एउटा गजबको टिम स्पिरिट भएको टोलीका फरवार्ड ।
भाइकिङ वा एलियन, तपाईं उनलाई जे नाम दिनुहोस्, तर उनी यस पृथ्वीको सबैभन्दा प्रभावशाली स्ट्राइकर हुन् । एर्लिङ हालान्ड जत्तिकै नजिक पुग्ने खेलाडी कोही छ भने त्यो क्वार्टरफाइनलमा उनको विपक्षमा उत्रिने हृयारी केन मात्र हुन सक्छन् । इंग्ल्यान्ड र नर्वेबीच आइतबार बिहान पौने २ बजे हुने खेल भने खासमा यिनै दुई स्ट्राइकरबीचको प्रतिस्ठाको लडाइँ हुनेछ । यी दुवै खेलाडीबीच कसले धेरै गोल गर्ने भन्ने प्रतिस्पर्धा चल्नेछ ।
म्यानचेस्टर सिटीमा हालान्डकै सहकर्मी मार्क गुएही, गत सिजन प्रिमियर लिगमा उनलाई गोलरहित राख्ने एज्री कोन्सा र गोलकिपर जोर्डन पिकफोर्डसामु हालान्डलाई रोक्ने चुनौती हुनेछ । तर, उनलाई रोक्न इंग्ल्यान्डको टिमको सामूहिक प्रयासले मात्रै सम्भव छ । पछिल्ला केही विश्वकपको क्वार्टरफाइनल र सेमिफाइनलमै सीमित भईरहेको इङ्ल्यान्ड फेरि एकपटक यस्तै अवस्थामा पुगेको छ– प्रतिभाशाली टिम, राम्रो लय र जित्नुपर्ने क्वार्टरफाइनल । सन् १९९६ पछि टोली फाइनलमा पुगेको छैन । सोही वर्ष इङ्ल्याण्डले आफ्नो पहिलो विश्वकप उपाधि पनि जितेको थियो । इङ्ल्याण्डले कुनै ठूलो प्रतियोगितामा उपाधि जितेको पनि त्यही नै अन्तिम पटक हो । यसपटक फरक गर्ने आशामा छन्, प्रशिक्षक थोमस टुचेल ।
विश्वकपको अन्तिम क्वार्टरफाइनलमा भिड्दैछन्, विश्वकपका सर्वाधिक गोलकर्ता लियोनेल मेस्सीको टोली अर्जेन्टिना र स्विट्जरल्यान्ड । मेस्सी प्रतियोगिताका सर्वाधिक गोलकर्ता र असिस्ट गर्ने खेलाडी हुन् । दुई पटक ‘गोल्डेन बल’ जितिसकेका छन् । उनको टिमले सन् २०२२ मा किलियन एम्बाप्पेको फ्रान्सलाई पराजित गर्दै उपाधि चुमेका थिए । अब उनी दोस्रो र संभवत करियरको अन्तिम विश्वकप उपाधिको महत्वकांक्षामा छन् ।
यता, आधुनिक फुटबलमा ठूलो शक्ति नभए पनि स्विट्जरल्यान्ड तीन पटक क्वार्टरफाइनल पुगिसकेको छ । तर, ऊ हरेक पटक अन्तिम ८ बाट अघि बढ्न सकेकै भने छैन । यसपटक डार्क हर्स कोलम्बियालाई हराउँदै अन्तिम १६ को चरणमा आएको छ ।