जुम्लाका पाटन यतिबेला रंगीचंगी फूलका कारण पर्यटकको आकर्षणमा मात्र परेको छैन, हरियो चरणका कारण गोठालाहरू जाजरकोटदेखि दुई साता लगाएरै वस्तुभाउसहित पुग्छन् ।
जुम्ला — जुम्लाको गुठीचौर पाटन यतिबेला हराभरा छ । अनेकथरी फूल फुलेर पाटन ढकमक्क छ । यही आकर्षणले यतिबेला पर्यटकलाई गुठीचौरमा तानिरहेको छ ।
जाजरकोट बारेकोट गाउँपालिका लुम्साका हस्तबहादुर बोहोरा पनि एक महिनायता गुठीचौरमै छन् । तर उनी यहाँ घुम्न वा दृश्यपानका लागि आएका भने होइनन् । बरु भैंसी लिएर चराउन पाटन उक्लिएका हुन् । उनको यो क्रम विगत एक दशकदेखि नित्य चलिरहेको छ । गत २२ जेठमा भैंसीको बथान लिएर घरबाट हिंडेका उनी ११ औं दिनमा गुठीचौर आईपुगेका हुन् ।
यतिबेला गुठीचौर घुम्न आउनेका लागि हस्तबहादुरलगायत गोठालाका भैंसी बथान र भेडीखर्कहरू पनि आकर्षणमा परिरहेका छन् । हस्तबहादुर भने जाजरकोटमा यतिबेला चरण सकिएपछि पाँचवटा भैंसी लिएर यहाँ आईपुगेका हुन् ।
खर्कमा अचेल पहिले जस्तो असहज छैन, आपूर्ति केही सहज छ भने नेपाल टेलिकमले यहाँ टावर राखेपछि संचार सम्पर्क पनि सहज छ । घुम्न आउनेहरूले गोठमै पुगेर दूध–दही किनेर लैजाने हुँदा धेरथोर आयआर्जन पनि भएको छ । जसले गर्दा गोठालाहरूको आम्दानीसमेत भइरहेको छ । वस्तुभाउसहित पाटन उक्लिएका गोठालाहरुले दशैं–तिहारमा मात्र गोठ झार्छन् ।
जुम्लाका गुठीचौर, खाली, चेरे, पातारासीका पाटनहरूमा यतिबेला गाईभैंसी, भेडा चराउन लैजाने माचो छ । खर्कहरुमा सञ्चार र यातायात पहुँच पुगे पनि वस्तुभाउमा रोग लागिहालेमा पाटन क्षेत्रमै उपचारका लागि पशु चिकित्सकहरुको व्यवस्था मिलाइदिनुपर्ने गोठालाहरुको माग छ ।