कक्षाकोठामै किन हुन्छ शिक्षकमाथि हातपात ? के भन्छन् मनोविद्हरू ?

शिक्षिकाले सजाय दिन खोज्दा विद्यार्थीले उल्टै हातपात गरेपछि जनकपुरस्थित एक विद्यालयको कक्षाकोठामा देखिएको तनावले शिक्षा पद्धतिमा गम्भीर प्रश्न उठाएको छ ।

असार ४, २०८३

नारायण किलम्बू, अनिल मिश्र

What you should know

काठमाडौँ — जनकपुरस्थित एक विद्यालयको कक्षा कोठाभित्रको सीसीटीभी क्यामेरामा कैद एउटा दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

उक्त दृश्यमा एक शिक्षिकामाथि विद्यार्थीले हातपात गरेको देखिन्छ । शिक्षिकाले पेन्सिलले एकजना छात्रलाई हिर्काउन खोज्दा छात्रले उल्टै शिक्षिकामाथि मुक्का बर्साएको देखिन्छ । दृश्यमा अरु केही कुरा पनि देखिन्छन्, जसका बारेमा कमै मात्र मानिसले कुरा गरेका छन् । यो घटना के थियो त? भिडियोमा देखिएको दृश्य के हो ? यसबारे कान्तिपुरले तयार पारेको सामग्री :

उक्त घटना जनकपुरधाम उपमहानगरपालिका–४ स्थित सेन्ट जेभियर्स हाई स्कुलको हो । गृहकार्य नगरेको भन्दै शिक्षिकाले पेन्सिलले हिर्काउन खोज्दा विद्यार्थीले शिक्षिकामाथि उल्टै हातपात गरेको विद्यालय प्रशासनले जनाएको छ । पटक–पटक सम्झाउँदा पनि गृहकार्य नगरेको भन्दै ती विद्यार्थीलाई शिक्षिकाले सम्झाउने क्रममा यस्तो घटना भएको विद्यालय प्रशासनको दाबी छ । 

अहिलेसम्म यस घटनाबारे प्रहरीमा उजुरी भने परेको छैन । घटनाबारे दुवै पक्षलाई बोलाएर छलफल गराउने प्रयास भइरहेको विद्यालय प्रशासनले जनाएको छ । कान्तिपुरले यसबारेमा जनकपुरधाम उपमहानगरका अधिकारीहरूसँग बुझ्ने प्रयास गर्दा सम्पर्कमा आएका अधिकारीहरूले यसबारे जानकारी नभएको बताएका छन् । साथै यो घटना केही समयअघिको भएको र सीसीटीभी क्यामेरा ह्‌याक भएर दृश्य बाहिरिएको प्रशासनको भनाइ छ । साथै प्रहरीको साइबर ब्यूरोमा सीसीटीभी ह्‌याक भएको बारेमा उजुरी दिएकाले अहिले केही बोल्न नमिल्ने विद्यालय प्रशासनका अधिकारीले बताए । 

जिल्लास्थित एक उच्च प्रहरी अधिकारीले भने यस बारेमा सामाजिक सञ्जालबाटै थाहा पाएको, उजुरी नआएको जानकारी दिए । आफ्नो संयन्त्रमार्फत यसबारे अनुसन्धान प्रयास भइरहेको ती अधिकारीको भनाइ छ । खासमा यो घटनामा शिक्षिकामाथि विद्यार्थीको हातपात त देखिन्छ नै । कक्षा कोठामा विद्यार्थीलाई लस्करै उभ्याएर कान समाउन लगाएर सजाय दिएको पनि देखिन्छ । हो धेरैले चासो नदिएको तर गम्भीर विषय यो पनि हो ।

जनकपुरको सेन्ट जेभियर्स हाइस्कुलमा केही दिनअघि शिक्षक र विद्यार्थीबीच हातपात घटनाको सीसीटीभी भिडियो सार्वजनिक भएपछि यसले धेरै प्रश्नहरू उब्जाएको छ । भिडियोमा शिक्षिकाले हात उठाउन खोजेको र विद्यार्थीले पनि शिक्षिकामाथि हातपात गरेको देखिन्छ । यस खालको घटना हुने स्थिति कसरी उत्पन्न भयो ? विद्यार्थीहरूमाथि शिक्षकले कस्तो व्यवहार गर्ने र विद्यार्थीको यस खालको मनोवृत्ति कसरी विकास भयो ? सीसीटीभी सार्वजनिक गरिँदा विद्यालयका अरु विद्यार्थीमा कस्तो असर गर्छ जस्ता थुप्रै प्रश्न सिर्जना भएका छन् ।

यो घटनाको मनोसामाजिक पक्षलाई लिएर र कान्तिपुरले शिक्षा क्षेत्रका जानकार र मनोपरामर्शदातासँग कुरा गरेको छ । जनकपुरको सेन्ट जेबियर्स हाईस्कुलको सीसीटीभीको फुटेजअनुसार यो घटना जेठ २६ गते दिउँसो २ बजेर १९ मिनेट जाँदाको हो । भिडियोमा सुरुमा शिक्षिकाले एक विद्यार्थीलाई उभ्याएर केही भने जस्तो देखिन्छ र हात ताकेजस्तो देखिन्छ । लगत्तै ती विद्यार्थी शिक्षिकामाथि जाई लाग्छन् र अर्का विद्यार्थीले छुट्याउने प्रयास गर्छन् । भिडियोलाई नियाल्दा कक्षा कोठाको एउटा कुनामा केही विद्यार्थी कान समातेर उभिएका देखिन्छन् ।

यस घटनाले थुप्रै प्रश्न र बहस सिर्जना गरेका छन् । ‘विद्यालयमा विद्यार्थीमाथि गरिने व्यवहार, शिक्षण सिकाइको तरिका कस्तो हुने ? विद्यार्थी एउटा शिक्षकमाथि जाईलाग्ने स्थिति कसरी सिर्जना भयो ? भन्ने प्रश्न उठेको छ । होमवर्क नगरेको नाममा होस् वा अन्य बहानामा शिक्षकले विद्यार्थीलाई पिट्नु वा सजाय दिनु गलत हो भने विद्यार्थी शिक्षकमाथि जाई लाग्नु झन् ठुलो गल्ती रहेको निजी विद्यालय सञ्चालकहरू बताउँछन्,’ प्याब्सनका उपाध्यक्ष रविन शर्मा भन्छन् । 

विद्यार्थी के कुरामा खुसी हुन्छ, उसको रुचि केमा छ ? भनेर हरेक विद्यार्थी पढ्नुपर्ने र शिक्षकले पहिला विद्यार्थी पढिसकेपछि उसको रुचि र उसको चाहनाअनुरुप कसरी फेरि कक्षा सञ्चालन गर्यो भने ठिक हुन्छ भन्ने योजना बनाउनुपर्ने उनको भनाइ छ । शिक्षकले कक्षाकोठामा गृहकार्य गरेन भनेर लठ्ठी लिएर पिट्न नहुने उनले बताए । उनी भन्छन्, ‘त्यो गलत हो । हामीले त्यसको समर्थन गर्न सक्दैनौं ।’

हामीले यो घटनाबारे मनोपरामर्शदातासँग पनि सोधेका छौं । उनीहरूका अनुसार विद्यार्थीलाई शारीरिक वा मनोवैज्ञानिक दबाब दिँदै पढाउँदा उसले ध्यान नदिने मात्र होइन, सिक्न पनि खोज्दैन । जसले शिक्षण सिकाइ उपलब्धिहीन त हुन्छ नै विद्यार्थीमा शिक्षकप्रति उल्टो रिस, आवेग सिर्जना हुने र मनोवैज्ञानिक रुपमा असर पर्ने बताउँछन् । बालबालिकालाई जबरजस्ती पिटीपिटी पढाउँदा उनीहरूमा पढ्ने रुचि कम भएर जाने र त्यो सम्बन्धित शिक्षक, जसले पढाउनुहुन्छ उहाँप्रति चाहिँ उल्टो रिस, आवेग, आग्रह पूर्वाग्रहको रुपमा विकास हुने मनोपरामर्शदाता पदमप्रसाद घिमिरे बताउँछन् । 

उनी भन्छन्, ‘यसरी जबर्जस्ती पढाउनुभन्दा पनि उनीहरूको मनोभाव बुझेर शिक्षकले पढाउनुभयो भने ठूलो प्रगति हुन सक्छ ।’ भिडियो हेर्दा कक्षाकोठाको एक कुनामा केही विद्यार्थीलाई कान समात्न लगाएर उभ्याइएको देखिन्छ । यसरी कक्षाकोठामा सजाय दिँदा नकारात्मकता बढ्न गइ विद्यालय छोड्ने परिस्थितिसम्म उत्पन्न हुने शिक्षाका जानकारहरू बताउँछन् । शिक्षाका जानकारहरू विद्यार्थीलाई सजाय दिएर अनुशासित बनाउन नसक्ने भन्दै कुटपिटका घटना हुनु न्यायोचित नभएको र कारबाहीयोग्य भएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रका निर्देशक निमप्रकाश सिंह राठौरको भनाइ छ । 

विद्यार्थीलाई निगरानी गर्न कक्षाकोठामा सीसीटीभी राखिए पनि यस्ता घटनाको भिडियो बाहिर ल्याउनु गलत रहेको मनोविदहरूको भनाइ छ । यसले विद्यालय शिक्षक र विद्यार्थीप्रति नै नकारात्मकता उत्पन्न हुने घिमिरेको भनाइ छ । उनले भने, ‘यस्ता घटनाहरू चाहिँ हामीले विद्यालयमै समाधान गरिसक्नुपर्छ र कहिले पनि सार्वजनिक गर्नै हुँदैन ।’

यसले नकारात्मक सोच भएका किशोर किशोरीहरूलाई प्रेरित गर्ने र उनीहरूले अरु यस्तै घटना घटाएर भाइरल हुने खतरा रहने प्याब्सनका उपाध्यक्ष शर्माको भनाइ छ । उनी भन्छन्, ‘एउटा घटना भइसकेपछि मिडियामार्फत आउनु पनि गलत नै हो । यस्तो म्यासेजले धेरै स्कुलका शिक्षाकहरू सुध्रिने पनि हुन्छ । र कतिपय ठाउँमा विद्यार्थीले शिक्षकलाई कुटे पनि हुने रहेछ भन्ने पर्न पनि सक्छ । कति ठाउँमा चाहिँ शिक्षकहरूले फेरि लठ्ठी लिएर पिट्नुपर्ला भनेर बुझ्न सक्छन् । यो घटनाले अरु स्कुलका विद्यार्थी अथवा शिक्षकहरूमा पनि मनोवैज्ञानिक असर पार्छ ।’

राष्ट्रसंघीय एक तथ्यांकअनुसार विद्यालयमा विद्यार्थीमाथि गरिने सजाय विश्वका अधिकांश देशमा गैरकानुनी भए पनि ६३ देशमा अझै कानुनीय रुपमा विद्यमान छ । जसमा लगभग ७९ करोड ३० लाख बालबालिका पर्छन् । शिक्षा मन्त्रालयका अनुसार केही वर्षअघिसम्म शिक्षकले विद्यार्थीमाथि सजाय दिने घटना धेरै हुने गरेकोमा अहिले निकै कमी आएका छन् । यस्ता घटना दोहोरिन दिनुहुँदैन । र घटना नै हुने स्थिति कसरी उत्पन्न भयो भन्ने कुराको गम्भीर अध्ययन पनि हुनुपर्छ । साथै परम्परागत शिक्षण सिकाईको तरिकामा पुनरावलोकन गरिनुपर्छ ।

नारायण किलम्बू कान्तिपुर टेलिभिजनमा कार्यरत छन् ।

अनिल मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।

Link copied successfully