सिद्धार्थ र जिब्रियलले यसरी सँगै स्ट्रिट डान्स गर्न थालेको डेढ वर्ष भइसक्यो । त्यसयता उनीहरू साथीबाट नजिकको साथीमा मात्रै बदलिएका छैनन्, एक अर्कालाइ सिकाउने शिक्षक पनि बनेका छन् ।
What you should know
काठमाडौँ — रत्नपार्क, काठमाडौंको व्यस्त ठाउँ । फटाफट गन्तव्यतर्फ लम्किरहेका यात्रीहरू । तर यही हतारोबीच केही मानिस भने सडक पेटीको एक छेउमा टक्क अडिन्छन् । कोही मोबाइल निकालेर दृश्य खिच्न थाल्छन् त कोही एकटकले दृश्यतिर हेरिरहेका हुन्छन् । कोही भने खल्तीतिर हात पुर्याउँछन् र सडक पेटीको एक छेउमा राखिएको ह्याटतिर हात पुर्याउँछन् । एकैछिनमा मानिसको भीड लाग्छ ।
यो सबै दृश्य सामान्यझै मानेर दुई युवाको शरीर संगीतको तालमा चल्न थाल्छ । पाइला दोहोरिन्छन् । हाउभाउले केही भन्न खोजेझैँ लाग्छन् । कुनै नृत्य प्रतियोगिताका सहभागी जस्तै उनीहरू 'फ्रि-स्टाइल'मा यसरी नाच्छन्, मानौं कि हावाको तालमा पातहरू बयली खेलिरहेका छन् ।
सडकको एक छेउमा नाचीरहेका दुई युवा को हुन् ? हामी उनीहरूलाई पछ्याउँदै सुन्धाराको एउटा होटलको कोठासम्म पुग्यौं । यही सानो कोठामा बसेर उनीहरूको हरेक दिन कहाँ जाने, कुन गीतमा नाच्ने भनेर योजना बनाउँछन् । सानो स्पिकर अनि ठूलो ह्याट र केही थान कपडा र केही थान रहर र सपनाहरू । उनीहरू हुन्, झापा गौरादहका सिद्धार्थ क्षेत्री र दार्जिलिङ चम्पासरीका जिब्रियल आलम ।
उनीहरू काठमाडौं आएर होटलमा बस्न थालेको तीन साताभन्दा बढी भइसक्यो । उनीहरू कहिले रत्नपार्क त कहिले सुन्धाराको सडक पेटीमा पुग्छन् । फराकिलो ठाउँ रोज्छन् । छेउमा स्पिकर राख्छन अनि आफ्नै योजनाअनुसार नाच्न थाल्छन् । 
सिद्धार्थ र जिब्रियलले यसरी सँगै यात्रा गर्न थालेको डेढ वर्ष भइसक्यो । त्यसयता उनीहरू साथीबाट नजिकको साथीमा मात्रै बदलिएका छैनन्, एक अर्कालाइ सिकाउने शिक्षक पनि बनेका छन् ।
उनीहरूको यो यात्रा पनि एउटा संयोगबाटै सुरु भएको थियो । सिद्धार्थसँग भेट्नुअघि पनि जिब्रियल एक्लै स्ट्रिट डान्स गर्दै कहिले कहाँ, कहिले कहाँ पुग्थे । जिब्रियलका अनुसार उनी भारतका सिक्किम, दार्जिलिङ, कालिम्पोङदेखि भुटानसम्म नाच्नकै लागि पुगेका छन् । नयाँ-नयाँ शहरमा पुग्नु, त्यहाँको धेरै मानिस ओहोरदोहोर गर्ने फराकिलो चोक छान्नु र स्ट्रिट डान्स देखाउनु उनको नियमित दैनिकी भइसकेको थियो ।
स्ट्रिट डान्स देखाउँदै जिब्रियल झापा पुगेको ६ महिनाजति भइसकेको थियो । उनी त्यहाँका साना ठूला शहर घुमिरहेका थिए । त्यो समय झापा गौरादहका सिद्धार्थ क्षेत्री स्थानीय डान्स सेन्टरमा डान्स सिकाउँथे । सिद्धार्थले पनि कही कतैबाट एक्लै स्ट्रिट डान्स देखाउँदै हिड्ने केटाबारे खासखुस सुनेका थिए । एकदिन जिब्रियल डान्स देखाउँदै दमक आइपुगे । त्यही बेला सिद्धार्थ र जिब्रियलको भेट भयो । पहिलो भेटमै नृत्य पृष्ठभूमिका उनीहरूको गफगाफ मिल्यो । त्यो त्यही समय थियो, जतिबेला दमकमा एउटा मेला लागेको थियो । उनीहरूले सल्लाह गरे, किन दुवैजना सँगै ननाच्ने । यही संयुक्त डान्सले उनीहरूलाई सधैका निम्ती मित्रतामा बाँधिदियो । यसरी भेटेको पनि डेढ बर्ष भइसक्यो । त्यसयता उनीहरू छुट्टिएका छैनन् ।
दमकको भेटयता उनीहरू सँगै सडकमा छन् । सँगै सपना देखिरहेका छन् र सँगै गरिरहेका छन् संघर्ष । जिब्रियलले पुराना दिन सम्झिँदै सुनाए, 'सुरुका दिन सहज थिएनन् । सडकमा नाच्दा कतिपयले राम्रो नजरले हेरेनन् । कतिपयले मजाकसमेत उडाए । तर हामीले हार मानेनौं ।'
सिद्धार्थ र जिब्रियल एउटै सहरमा र एउटै चोकमा अडिँदैनन् । चरा झै कहाँ कहाँ पुग्छन् । तर जहाँ पुग्छन्, सडक छेउछाउलाई आफ्नो नृत्यशाला बनाउँछन् । कतै हिँडिरहेका यात्रुहरूलाई मग्न बनाउँछन् । उनीहरूको ऊर्जा, लय र आत्मविश्वासले भीडलाई झन् आकर्षित गर्छ ।
उनीहरू नाच्दै नाच्दै पूर्वी नेपालका अधिकांश सहर हुँदै हेटौँडा र चितवन हुँदै करिब तीन साताअघि काठमाडौं आइपुगेका हुन् । यहाँ आएर उनीहरू सहर बुझे, यहाँका मान्छेहरूको रुचि बुझे । अनि यो सहरले नाच्नुको अर्थ बुझ्छ भन्ने निष्कर्षमा पुगे । उनीहरु हरेक दिन स्ट्रिट डान्सका निम्ती तयार भए ।
उनीहरूको नृत्यमा मुग्ध हुने दर्शहरुले खुशी भएर भुइँमा राखिएको ह्याटमा स्वतस्फूर्त रुपमा पैसा दिन्छन् । कसैले शब्दले प्रशंसा गर्छन्, कसैले ताली बजाएर । यसैगरी उनीहरूले आफ्नो जीवन चलाइरहेका छन् । दैनिकजसो एकदेखि दुई घण्टासम्म सडकमा नाच्दा उनीहरूले पाँचदेखि सात हजार रुपैयाँसम्म आम्दानी गर्छन् । तर हरेक दिन आम्दानी एकनास हुँदैन ।
सिद्धार्थले सडक छेउमा नाँच्दै गर्दाको अनुभव सुनाए, 'कुनै तय गरिएको कोरियोग्राफीभन्दा पनि संगीतसँगै मनले जे महसुस गर्छ, शरीर त्यसैअनुसार चल्न थाल्छ ।' उनले सडकमा उत्रिएर संगीत सुन्नासाथ नृत्यका स्टेप आफैं आउने बताए । भने, 'त्यतिबेला सबैभन्दा धेरै आत्मसन्तुष्टि मिल्छ ।'
सिद्धार्थका लागि यो केवल पैसा कमाउने माध्यममात्र होइन । किनकी यसरी जम्मा भएको रकमबाट सिद्धर्थले झापाको गाउँमा बसेर पढिरहेका तीन भाइको पढाइमा सहयोग गरिरहेका छन् । घर परिवारलाई आर्थिक रुपमा साथ दिइरहेका छन् । कहिलेकाहीँ आवश्यक परेकाहरूलाई सकेको सहयोग पनि गर्दै आएका छन् । जिब्रियलले पनि दार्जिलिङस्थित घरमा रहेका बुबा, आमा र ६ दाजुभाइसहितको परिवारलाई यहि कमाइबाट सकेजति सहायता पुर्याउँदै आएका छन् ।
सिद्धार्थका अनुसार उनीहरूले गर्ने नृत्य 'फ्रि-स्टाइल' हो । कुनै तय गरिएको कोरियोग्राफीभन्दा पनि संगीतसँगै मनले जे महसुस गर्छ, शरीर त्यसैअनुसार चल्न थाल्छ । सडकमा उत्रिएर संगीत सुन्नासाथ नृत्यका स्टेप आफैं आउने गर्छन् । र त्यही क्षणले सबैभन्दा धेरै आत्मसन्तुष्टि दिने उनी सुनाउँछन् ।
सिद्धार्थले एक समय 'हिप हप' डान्स भने सिकेका थिए । नृत्यका अरु शैलीबारे उनी उति धेरै जानकार छैनन् । उनले सुनाए, 'जब म सडकमा नाच्न सहज हुने कपडा लगाएर निस्कन्छु । आफैआफै बेग्लै इनर्जी आउँछ । गीतको इमोसन मनभित्रैबाट प्रकट हुन्छ ।' 
सार्वजनिक स्थानमा कला प्रर्दशन गर्नु सबै ठाउँमा सहज हुँदैन् । उनीहरूको अनुभवले पनि यही भन्छ । कही स्थानीय प्रशासनले अवरोध पुर्याउँछ त कही सडक छेउ भएर हिड्ने बेढंगका मान्छेहरूले नै । जिब्रियलले सुनाए, 'कहिलेकाही त बाटोमा यो के गरेको भन्ने प्रश्न पनि सुन्नुपर्छ ।'
सबै ठाउँमा उनीहरूले यस्तो नमिठो अनुभव मात्रै भोग्नु पर्दैन । कही कही त उनीहरूले तारिफ मात्रै पाउँदैनन् आत्मिय अनुभव पनि पाउँछन् । जस्तो कि, रत्नपार्क छेउमै नाचिरहेका बेला उनीहरूको प्वाल पर्नै आटेको मोजा देखेर नाच हेरिरहेकी एक महिलाले दुई जोडी मोजा थमाइदिइन् । जिब्रियलले सुनाए, 'कोही कोही यति खुलेर तारिफ गर्छन कि, प्राउड फिल हुन्छ ।' उनीहरू दुवैले आफ्नो कला सिद्धार्थ क्षेत्री र स्ट्रिट डान्सर थर्टिन नामक टिकटक पेजमार्फत् सार्वजनिक गर्दै आएका छन् । त्यहाँ पनि उनिहरुले खुवै तारिफ पाइरहेको देखिन्छ । सामाजिक संजालमार्फत प्रत्यक्ष नचिन्ने मानिसमाझ पनि उनिहरु सजिलै पुगिरहेका छन् ।
उनीहरुको नृत्य हेरिरहेका समीर पराजुलीले आफुहरुले सिद्धार्थ र जिब्रियलको नाच टिकटकमार्फत हेरिरहेको बताए । भने, 'आज फेस टु फेस देख्न पाए । यति गाह्रो गाह्रो स्टेपहरू नाचेको देख्न पाए ।' सिद्धार्थ र जिब्रियलको नृत्य एक टकले हेरिरहेका थिए खिमलाल गौतम । उनले भने, 'एकदमै राम्रो नाच्नुहुने रहेछ । मलाई त हेरिरहन मन लाग्यो ।'
जिब्रियल र सिद्धार्थले यस्तै नाच नेपालका सबैजसो मुख्य शहरहरूमा गर्ने योजना बनाएका छन् । जिब्रियलले सुनाए, 'नेपालभर घुमेर डान्स देखाएपछि मात्रै अर्को देशमा जाने योजना छ । तर यस्तो देश जान्छौं, जहाँ स्ट्रिट डान्स सम्भव होस् ।'