‘म त १२ दिनमै अलग भएँ । तर उहाँहरुको सहकार्य लामो होस् । अझै बालेन शाहलाई त मेरो झन् शुभकामना छ ।’
What you should know
काठमाडौँ — उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता प्रक्रियामा आफूले निकै पीडा भोगेको दाबी गरेका छन् ।
कान्तिपुरको पडकास्ट शृंखला ‘वियोन्ड दि हेडलाइन्स’मा कुराकानी गर्दै उनले अब उनेपा देशको पहिलो पार्टी बन्ने अभियानमा लाग्ने दाबी गरे ।
रास्वपासँगको एकता छाडेर १२औं दिनमा उज्यालो नेपाल पार्टीमा फर्केका घिसिङले पुस १४ गतेपछिको अवस्था आफ्नो जीवनकै पीडादायी क्षण भएको दाबी गरे । ‘मन्त्री भएको बेला पनि कोठाकोठा र घरघरमा पुगेर एकताका लागि वार्ता गरेको थिएँ । उहाँहरुले बोलाएको ठाउँमा गएको छु । मैले मेरो घरमा बोलाएको छैन,’ उनले भने, ‘न अगाडि बढ्ने ठाउँ छ, न त पछाडि हट्ने नै अवस्था छ। पब्लिकको ठूलो सहानुभुति भएको पार्टी लगभग कोमामा गयो ।’
एकतापछि आफूलाई अपमानित गरिएको पनि घिसिङले बताएका छन् । उनले उज्यालो नेपाल देशको एक नम्बर पार्टी बनाउने अभियान आफूले सुरु गर्ने भन्दै थपे, 'अब कसैसँगग मर्जर, पार्टी एकता हुँदैन । कार्यगत एकता होला, त्यो बेग्लै कुरा हो ।’
उनले अहिले कसैलाई पनि धेरै दोष नदिने भन्दै शुभकामना मात्र दिने बताए । नयाँ शक्ति स्थापित हुनुपर्ने भन्दै नैतिकता राखेर र विश्वास कमाएर राजनीति गर्नुपर्ने भन्दै उनले अरुलाई अप्ठ्यारोमा पारेर राजनीति नहुने बताए ।
‘म त १२ दिनमै अलग भएँ । तर उहाँहरुको सहकार्य लामो होस् । अझै बालेन शाहलाई त मेरो झन् शुभकामना छ,’ उनले भने, ‘जनताले चाहेको उहाँहरुको एकता हो ।’
भदौ २४ पछि मन्त्री बन्ने प्रस्ताव कसरी आयो भनी सोधिएको प्रश्नमा उनले आर्मीको मुख्यालयमा आफू राति १ बजे बोलाएर पुगेको र प्रधानमन्त्री सुशीला कार्कीले नै मन्त्री बन्ने प्रस्ताव गरेको दाबी गरे । उनले जेन-जीसहित केही ठाउँवाट प्रस्ताव गर्नेबारे छलफल भएको सूचना आफूले पाए पनि प्रस्ताव प्रधानमन्त्री कार्कीबाटै आएको उनको भनाइ थियो ।