तपाईं सीसीटीभीको निगरानीमा हुनुहुन्छ

काठमाडौं उपत्यकामा ५५ सय ९७ सहित देशभर झन्डै १८ हजार सीसीटीभी क्यामरामार्फत प्रहरीले अनुसन्धान र घटना विश्लेषणको काम गरिरहेको छ ।

भाद्र १६, २०८२

विवेक पोख्रेल

What you should know

काठमाडौँ — के तपाइलाईँ थाहा छ ? काठमाडौं उपत्यकामा कति क्लोज सर्किट क्यामरा(सीसीटिभी क्यामरा) छन् ? काठमाडौं उपत्यका प्रहरी कार्यलय रानीपोखरीका अनुसार अहिले प्रहरीले ५ हजार ५ सय ९७ सीसीटीभी क्यामरामार्फत उपत्यकामा हुने गतिविधिको निगरानी गरिरहेको छ ।

एसपी रविन कार्कीले जडान भएकामध्ये १५ सयभन्दा बढी क्यामराले गर्ने निगरानी २४ सै घन्टा काठमाडौं उपत्यका प्रहरी कार्यालय परिचालन कक्षबाट विश्लेषण गरिने बताए । यसैका लागि अहिले प्रत्येक सिफ्टमा ३० जना प्रहरी खटिएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार अहिले प्रहरीसँग घुम्न–झुक्न–जुम गर्न सकिने ९६० वटा पीटीजेड क्यामरा, अनुहार पहिचान गर्ने एफआर क्यामेरा १६ वटा, स्वचालित नम्बर प्लेट पढ्ने एएनपीआर क्यामेरा ४४ वटा र  फिक्स क्यामेरा ४,५७७ वटा उपत्यकामा जडान भएका छन् । 

‘काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख सडक, चोक, बसपार्क लगायतका संवेदनशील क्षेत्रमा सीसीटीभी क्यामेरा जडान गरिएका छन्,’ एसपी कार्कीले भने,‘यस बाहेक पनि प्रहरीका विभिन्न युनिट, सार्वजनिक संस्था र निजी क्षेत्रले जडान गरेका सीसीटीभी क्यामेराहरुले उपत्यकाको सुरक्षामा सहज बनाएको छ ।’

प्रहरीका अनुसार यसले दैनिक गतिविधि मात्रै नभई अपराधी पत्ता लगाउन पनि ठूलो सहयोग गरेको छ। प्रहरीले भिडभाड हुँदा होस् वा सडकमा हुने विरोध कार्यक्रम र उत्सवमा क्यामेराकै आधारमा प्रहरी परिचालन गर्ने गरेको छ । एसपी कार्कीका अनुसार यातायात दुर्घटनादेखि चोरी, ठगी वा अन्य आपराधिक क्रियाकलापको प्रमाण संकलनमा पनि क्यामेरा निकै उपयोगी बनेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार  प्रहरीले देशभरका विभिन्न प्रहरी कार्यालय अन्तर्गत रहेका झन्डै १८ हजार सीसीटीभी क्यामरामार्फत घटना विश्लेषण र अपराध अनुसन्धानको काम गरिरहेको छ । 

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully