काठमाडौँ — बर्खालाई मध्यनजर गर्दै मुख्य सडकमा सवारी आवागमन सहज बनाउने गरी काम भइरहेको सडक विभागका महानिर्देशक विजय जैसीले बताए । उनका अनुसार अहिले मुख्यतः बढी समस्या भएको नारायणगढ–बुटवल, नागढुंगा–मुग्लिन र बीपी राजमार्गमा बढी सतर्कता अपनाएर काम गरिँदै छ ।
‘नारायणगढ–बुटवल सडकमा पर्ने विनयी खोला पुलमा क्षति भएर खोलामा डाइभर्सन बनाएर सवारी साधन सञ्चालन गरेका छौँ,’ उनले भने, ‘त्यसको नजिकै नयाँ निर्माण गरिएको पुल तयारी अवस्थामा छ, केही दिनभित्र यसलाई सञ्चालनमा ल्याउने छौँ ।’ त्यसपछि विनयी खोला पुलको समस्या हट्ने उनको भनाइ छ । दाउन्ने खण्डमा अहिले सवारी साधन अन्य राजमार्ग र सडकतर्फ डाइभर्सन गरेर काम गरिराखिएको उनले सुनाए ।
९५ किलोमिटर नागढुंगा–मुग्लिन सडकमध्ये नागढुंगा–नौबिसेसम्म निर्माणको काम सकिसकेको छ । पहिरोको जोखिमयुक्त क्षेत्रमा निगरानी गरिरहेको उनले बताए । ‘यस खण्डमा पहिरो जाने सम्भावित क्षेत्रमा मेसिनहरू तयारी अवस्थामा राखेका छौँ,’ उनले भने, ‘झ्याप्ले खोला र कृष्णभीरमा गत वर्षजस्तो अहिले समस्या छैन ।’ बीपी राजमार्ग अन्तर्गत २.५ किलोमिटर बाहेकको खण्डमा ठेक्का गरेर निर्माण व्यवसायी फिल्डमा परिचालन हुने अवस्थामा रहेको उनले बताए । २.५ किलोमिटर सडक जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले बनाउने छ ।
पहिला खोलो तर्काएर बाटो बनाइएको भएपनि अहिले सामान्य बर्खामा नबगाउने गरी भित्तातिर गिट्टी र ठूला ढुंगा राखेर अग्लो बनाएर सडक सञ्चालन गरिएको छ । दुई वर्षपछि यो सडक दुई लेनको बनेपछि समस्या नहुने उनले बताए ।
बर्खामा राजमार्गमा कहाँ कहाँ छ समस्या, कहाँ के काम भइरहेछ भन्ने विषयमा कान्तिपुरले तयार पारेको भिडियो सामग्री हेर्नुहाेस् ।