काठमाडौँ — मुग्लिनबाट नारायणगढसम्मको ३६ किलोमिटर सडक छिचोल्दा १९ वटा पक्की पुल पार गर्नु पर्छ । तीमध्ये १७ वटा पुल त पुराना र नयाँसँगै जोडे जस्तो बनाइएको छ । अनि कतै पुराना पुल होचा छन् त कतै नयाँ पुल अग्ला । अनि नयाँमध्ये धेरैजसो पुल छड्के छन् । सोझो बाटोमा यात्रा गर्दा गर्दै छड्के पुलहरु आउँछन् अनि यात्रा पनि सुस्त भइहाल्छ ।
विश्व बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सन् २०१५ अप्रिल २० बाट यो सडकको दुई लेनमा स्तरोन्नति थालिएको थियो । पछि सन् २०१८ अगस्टमा स्तरोन्नति सकेर सडक डिभिजन कार्यालय भरतपुर चितवनलाई हस्तान्तरण गरिएको थियो । हस्तान्तरण गर्ने बेलासम्म चारवटा पुल मात्र निर्माण गरिएको थियो, १५ वटा पुल बनेकै थिएनन् । केहीको ठेक्का भएको थियो भने केही ठेक्का हुने प्रक्रियामै थिए । नयाँ पुल नबन्दासम्म पुरानै इन्टरमिडिएड पुल मात्र थिए ।
पहिले बनाइएका नयाँ पुल दुई लेनका छन् । पुराना र नयाँ दुबै पुल सञ्चालनमा छन् । पुरानोसँगै समानान्तर रुपमा निर्माण गरिएका पुललाई एकतर्फी बनाइएको छ, एउटाबाट सवारी साधन आउने र अर्कोबाट जाने बनाइएको छ ।
यस सडक खण्ड भएर दैनिक ११ हजार सवारी साधन ओहरदोहर गर्छन् । सडक स्तरोन्नतिसँगै नयाँ पुल बनेपछि यात्राको समय पनि घटेको छ । तर ठाउँ ठाउँमा आउने छड्के पुलहरुले यात्रा असजिलो बनाएको छ ।
भौगोलिक अवस्थाले गर्दा पुराना पुल भत्काएर नयाँ बनाउन सक्ने अवस्था नहुँदा पुराना पुलसँगै नयाँ पुल बनाइएको सडक डिभिजन कार्यालय भरतपुर चितवनका इन्जिनियर तथा सूचना अधिकारी कृष्ण आचार्यले बताए । स्तरोन्नति गरिएपछि सडक राम्रो र सहज भए पनि पुलका कारण सडकको तह पनि बिग्रिएको छ, त्यति मात्र होइन, एकनासले गुडिरहेका सवारी साधन पुल आउनसाथ थोरै भए पनि कि दायाँ मोडिनु पर्छ कि बायाँ मोडिनु पर्छ । त्यसैले सडक विभागले पुराना पुललाई पनि अब विस्थापन गरेर नयाँ बनाउनुको विकल्प छैन ।