कस्तो छ मदन भण्डारी राजमार्ग भएर सिन्धुली हुँदै हेटौंडा जाने सडक ?

जेष्ठ ३०, २०८२

राजकुमार कार्की, विमल खतिवडा

काठमाडौँ — १ सय २० किलोमिटर दूरीको सिन्धुली-हेटौंडा जोड्ने मदन भण्डारी राजमार्ग खण्ड निर्माण भएर दुई वर्षअघि संचालनमा आएसँगै यी दुई जिल्ला नजिकिएका छन् । किनकि यो सडक खण्डको डेढ किलोमिटरबाहेक दुई लेनको सडकमा समस्या छैन । औसतमा साढे दुई घन्टाभन्दा थोरै समयमा यो सडक दूरी सजिलै पार गर्न सकिन्छ ।

सिन्धुली सडक खण्डमा पर्ने डेढ किलोमिटर सडक सुरुमा स्थानीयले अवरोध गरेका कारण कालोपत्र हुन सकेको थिएन । अहिले स्थानीयले सडक निर्माणमा सहमति जनाए पनि बजेट अभावमा काम हुन सकेको छैन । यो सडक खण्डको सिन्धुलीतर्फ ८५ किलोमिटर सडक पर्छ भने  हेटौंडातर्फ ३५ किलोमिटर । समस्याग्रस्त डेढ किलोमिटर सडक छिचोलिसकेपछि भने कच्ची सडकको हत्पत सामना गर्न पर्दैन । मरिण नदी तरेर अघि बढेपछि मकवानपुर र सिन्धुली छुट्याउने वाग्मती नदीको पुलमा पुगिन्छ । त्यसपछि सरासर अघि बढेपछि बकैया नदी तर्नुपर्छ । बाटोको बिचमा केही स-साना नदी त आउने/जाने गरिरहन्छन् । 

साना-ठुला खोलाहरु हेर्दै, जंगलको हरियाली नियाल्दै र कहींकतै आउने बस्तीहरु छिचोल्दै दुई लेन कालोपत्र सडकबाट सजिलै हेटौंडा पुग्न सकिन्छ । यो खण्ड भएर सवारी साधनको ओहरदोहर कमै हुन्छ । जसले गर्दा ट्राफिक जामको सास्ती झेल्न पर्दैन । 

सिन्धुलीबाट हेटौंडा जाने यो राजमार्ग कतै बस्ती त कतै जंगल हुँदै अघि बढछ । जंगलभित्र निर्माण गरिएको सडकमा भिडियो, फोटो खिच्नेहरुको भिड लाग्ने गर्छ । सिन्धुली खण्डको डेढ किलोमिटर सडक निर्माण गर्न छिटो बजेटको प्रबन्ध मिलाएर सबै खण्ड दुरुस्त बनाउन सकिए चालक, यात्रुले यो यात्रामा सास्ती खेप्न पर्दैन ।

राजकुमार कार्की कान्तिपुरका सिन्धुली संवाददाता हुन् ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully