महानगरले संचालन गरेकाे सीप मेलामा के छ ?

जेष्ठ २७, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाले जेठ ७ देखि टुँडिखेलमा सीप मेला संचालन गरिरहेको छ । विभिन्न १० क्षेत्रका ३७ वटा पेसासँग सम्बन्धित तालिममा सहभागीहरुको भीडले टुँडिखेल गुल्जार देखिन्छ ।

रोजगारी र आय वृद्धि गर्न महानगरले सुरु गरेको यो निःशुल्क तालिममा सबैभन्दा धेरै सहभागी भने भर्खरै कक्षा १२ को परिक्षा सकेका विद्यार्थीहरु छन् । 

सीप मेला कार्यान्वयन समितिका संयोजक शैलेन्द्र झाले स्वरोजगार र रोजगारी वृद्धि गर्ने लक्ष्य राखेर मेला आयोजना गरिएको बताए । महानगरले यस्तै मेलाको पहिलो संस्करण अघिल्लो वर्ष सम्पन्न गरेको थियो । उनले यो वर्ष २०८२ जनालाई तालिम दिने लक्ष्य भएको तर आवेदन भने ३५ सयभन्दा बढीको परेकाे बताए । यसपालाको सीप मेलामा २ हजार ५ सय ४७ जनाले तालिम लिन छनौट भएका थिए ।

यसपालाको सीप मेलामा कन्स्ट्रक्सन, हस्पिटालिटी एन्ड सर्भिस, आईसीटी (इन्फरमेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी) एन्ड इलेक्ट्रोनिक्स, आर्ट एन्ड कल्चर, एग्रिकल्चर, गार्मेन्ट, अटोमोबाइल, मेकानिकल, इलेक्ट्रोनिक्स र स्पेसल अबिलिटि स्किल्स गरी १० क्षेत्रका ३७ वटा पेसासँग सम्बन्धित सीपसम्बन्धी तालिम चलिरहेको छ । 

यस वर्षको सीप मेलामा महानगरले बहिरा अपांगता भएका व्यक्तिका लागि हाउस किपिङसम्बन्धी तालिम थप गरेको छ । गत वर्ष २ हजार ५ सय ७५ जनाले तालिम लिएका थिए । जसका निम्ति महानगरले करिब एक करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । यस वर्ष भने महानगरले सीप मेलाका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कान्तिपुर

Link copied successfully