लयमा फर्किन खोज्दैछ, बाढीको विपत्ति सहेको मुल्कोट

जेष्ठ २६, २०८२

विमल खतिवडा

काठमाडौँ — गत असोज ११ र १२ गते सुनकोशीमा आएको बाढीले सिन्धुलीको सुनकोशी गाउँपालिका-५ मा पर्ने मुल्कोट बाढीको मारमा पर्‍यो । होटल रिसोर्ट, सडक, घर र विद्यालय डुबानमा परे । हेर्दाहेर्दै बाढी बस्तीमा पस्यो अनि छिनभरमा गुल्जार मुल्कोट खण्डहरमा परिणत हुन पुग्यो ।

बीपी राजमार्ग भएर राजधानी काठमाडौं आउजाउ गर्दा मुल्कोटबाट उकालो–ओरालो गर्दै सुनकोशी किनारमा रहेको क्वालिटी बिच रिसोर्टले सबैलाई आकर्षित गर्थ्यो । तर यही बाढीले रिसोर्टको संरचना भताभुंग बन्यो । रिसोर्टको भुइँतला डुबेर क्षति भयो । कर्मचारी, सञ्चालकले रातदिन नभनी रिसोर्ट सफा गरेर अहिले यसलाई सञ्चालनमा ल्याए । साढे चार महिना लगाएर रिसोर्ट सञ्चालनमा ल्याइएको क्वालिटी बिच रिसोर्टका सञ्चालक एवं म्यानेजमेन्ट इन्चार्ज राजेश श्रेष्ठ बताए । उनले विपत्तिबाट उठेर आफूहरु फेरि सेवा दिने अवस्थामा आएको बताए । 

मुल्कोटमा स्विमिङ पुलसहित ५ वटा होटल तथा रिसोर्ट छन् । ती सबैजसोले बाढीको विपत्ति सहे पनि अहिले सबैजसो पुन: सञ्चालनमा आइसकेका छन् । युनिक होटल एन्ड रिसोर्टका सञ्चालक मनोज श्रेष्ठले सडक अझै पुननिर्माण भइनसके पनि आफूहरुले सेवा सञ्चालनमा ल्याएको बताए । 

असोजको बाढीले बीपी राजमार्गको १२ किलोमिटर सडक खण्ड नै बगाएको थियो । ८ महिना बित्दा पनि सडक दिगो रुपमा निर्माण हुन सकेको छैन । जसले गर्दा काठमाडौंबाट मुल्कोटसम्म आउने पाहुनालाई सास्ती हुने गरेको छ । जसले गर्दा पाहुना घटेको रिसोर्ट सञ्चालक बताउँछन् । पुरानै लयमा फर्किन खोजेको मुल्कोटलाई अहिले भत्किएको सडक संरचनाले अवरोध गरिरहेको छ ।

करोडौंको क्षति बेहोरेर पनि फेरि उठ्न खोजिरहेका व्यवसायीहरु सडक मात्रै राम्रो हुने हो भने मुल्कोट पुरानै लयमा फर्किनेमा ढुक्क छन् । 

विमल खतिवडा खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully