काठमाडौँ — नेपालमा डकुमेन्ट्रीलाई हलमा प्रदर्शन गर्ने खासै प्रचलन छैन । यसो पनि भनौं, डकुमेन्ट्री प्रदर्शनको बजार हामीकहाँ अझै निर्माण भइसकेको छैन । तर, केही डकुमेन्ट्रीले हल प्रदर्शनको बाटो खोजेका छन् ।
पछिल्लो समय निर्देशक राजन कठेत र सुनीर पाण्डेको 'ढोरपाटन' करिब एक महिना सीडीसीमा प्रदर्शनमा आएको थियो । अहिले निर्देशक सुविना श्रेष्ठको डकुमेन्ट्री 'देवी' हलहरूमा प्रदर्शनरत छ ।
दसवर्षे सशस्त्र युद्धका बेला बलात्कार र यौनजन्य हिंसाको सिकार भएका महिलाको कथा समेटिएको यो डकुमेन्ट्री वैशाख २० देखि हलमा चलिरहेको छ । 'देवी'लाई हलमा मात्रै नभई विशेष प्रदर्शन गर्ने तयारी भइरहेको निर्देशक सुविनाले बताइन् । उनका अनुसार धनगढी, नेपालगन्ज, सुर्खेत, बुटवल, विराटनगर लगायतका सहरमा विशेष प्रदर्शन हुनेछ ।
८० मिनेट लामो यो डकुमेन्ट्रीमा युद्धको समयमा हिंसामा परेका महिलाको न्यायका लागि देवी खड्काले लडेको लडाइँ छ । यो डकुमेन्ट्री विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा छनोट भई प्रदर्शनमा आएको थियो ।
पत्रकारिता हुँदै डकुमेन्ट्री निर्देशनमा होमिएकी सुविना रिपोर्टिङकै क्रममा देवीसँग ठोक्किएकी हुन् । 'उहाँले आफ्नो डायरी मलाई थमाइदिएपछि डकुमेन्ट्री बनाउनैपर्ने जिम्मेवारी महसुस गरेकी थिएँ,' सुविनाले सुनाइन् ।