३०० दिनको लक्ष्य तोकिएको ओली सरकारको पहिलो निर्णय समयमा कार्यान्वयन हुन सकेन
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद् बैठकले गरेको पहिलो निर्णय थियो, कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माण तीन सय दिनभित्र पूरा गर्ने । तर यो निर्णय समयमै पूरा हुन सकेन । सोमबार प्रधानमन्त्रीले सहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधि बोलाएर यस विषयमा स्पष्टीकरण सोधे ।
अनि कुन लापरबाही, कमजोरी वा के कारणले समयमा काम हुन नसकेको हो भनेर सोध्दै आगामी दुई महिनाभित्र कार्य सम्पन्न गर्न निर्देशन दिए ।
फ्लडलाइट र प्यारापिट निर्माण गर्न फरक-फरक ठेकेदार कम्पनीसँग क्रमशः गत फागुन १९ र २२ गते सम्झौता भएको थियो । मैदानमा १० हजार सिट क्षमताको प्यारापिट निर्माणका लागि काठमाडौंको बिकेओआई–केसीडिसी–बिजी जेभीले १९ गते ४९ करोड २५ लाख ६७ हजार तीन सय दुई रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । यस्तै, ६ वटा फ्लडलाइट जडानका लागि भने ललितपुरको विशन–ईश्वरी जोइन्ट भेन्चरले ४२ करोड १९ लाख ९१ हजार ६५३ मा सम्झौता गरिएको थियो ।
निर्माण कम्पनीका अनुसार अहिले रंगशाला पुनर्निर्माणको वित्तीय प्रगति ५० र भौतिक प्रगति ६५ प्रतिशत तथा फ्लडलाइटतर्फ वित्तीय प्रगति २५ र भौतिकतर्फ ४० प्रतिशत प्रगति भएको छ ।
तीन सिफ्ट गरेर रातिको समयमा पनि काम भएकाले समयमा नै काम सकिने सरकारको समेत अपेक्षा थियो । निर्माण कम्पनीहरुले काम समयमा नसक्नुको मुख्य कारणका रुपमा डिजाइन् परिवर्तन र वर्षालाई देखाउने गरेका छन् । ‘सरकारले निर्णय गरेको तीन सय दिन पूरा भए पनि हामीले सम्झौता गरेको ६६ दिन मात्र भयो । सरकारको निर्णय र हामले काम सुरु गरेको समय फरक छ,’ बिकेओआई–केसीडिसी–बिजी जेभी प्रोजेक्ट डाईरेक्टर भरत गिरीले भने,‘टेण्डर पक्रिया, डकुमेन्ट प्रक्रिया पूरा गर्न समय लाग्छ । अहिले देखिएको ६६ दिनमा भएको काम हो । हामीले कुर्ची हाल्नु अघिको अन्तिम काम गर्दैछौं ।’
गिरी म्याद थप भएको समयभन्दा अघि नै वर्षाले असर नगरे काम सक्ने बताउँछन् । ‘जमिन अध्ययन गर्नुपर्छ, माटोको अवस्था पनि जाँच हुन्छ । प्रयोग हुने निर्माण सामग्रीको पनि प्रयोगशाला रिपोर्ट आउनु पर्छ । त्यसलाई पनि समय लाग्छ,’ गिरीले थपे,‘आवश्यकताअनुसार डिजाइनहरु पनि परिवर्तन गर्नु परेको छ । झरी र हाम्रो चार्डपर्वहरुले पनि हामीलाई ढिलो गरेको छ । फागुपूर्णिमा, नयाँ वर्ष, मजदुर दिवस लगायतमा कर्मचारी बिदामा बसे ।’
विशन–ईश्वरी जोइन्ट भेन्चरका सौरभ साह डिजाइनमा आएको परिवर्तनले गर्दा केही समय काम रोकिएको बताउँछन् । ‘भारतीय कम्पनीको फ्लड लाइटको ठाउँमा युरोपको कम्पनीको राख्ने तयारी भएको छ,’ उनले भने,‘प्रक्रियाले पनि ढिलो भएको हो । अब सामान आएपछि काम सकिन धेरै समय लाग्दैन ।’
त्रिभुवन विश्वविद्यालयसँग लिजमा लिएर नेपाल क्रिकेट संघ (क्यान) ले यो मैदानमा क्रिकेट गर्दै आएको छ । हालको संरचना भारतको जी टेलिभिजन नेटवर्कले बनाइदिएपछि नेपालले सन् १९९८ मा पहिलो पटक यस मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्दै आएको छ । त्यसयता यस मैदानमा लगातार राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको छ ।