बर्खामा अस्थायी मर्मतका भरमा सडक चलाइँदै

वैशाख १६, २०८२

विमल खतिवडा

काठमाडौँ — गत असोजमा आएको बाढीले क्षति गरेका राजमार्ग आउने बर्खामा अस्थायी मर्मत गरेर चलाइने भएको छ । त्यसका लागि मर्मतको काम भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए । त्यस्तै, विभिन्न जिल्ला जोड्ने पुलमा समेत बाढीले क्षति गरेका कारण त्यहाँ बेलिब्रिज जडान गरेर सवारी सञ्चालन गरिने उनको भनाइ छ ।  

‘पुलका कारण सवारी आवागमन रोकिनेछैन, त्यहीअनुसार काम गरेका छौं,’ कान्तिपुरसँग उनले भने, ‘बाढीले बढी क्षति गरेको बीपी राजमार्ग बर्खामा अस्थायी मर्मत गरेर सञ्चालन गर्छौं, स्थायी रुपमा भने अहिले बन्नेछैन ।’ अहिले बर्खामा सहज रुपमा सवारीसाधन चलाउनका लागि तयारी गरिरहेको उनको भनाइ छ ।

‘सामान्य बर्खामा गाडी नरोकिनेगरी काम गरेका छौं,’ उनले भने, ‘दुई-चार घण्टा पानी पर्दा राति सवारीसाधन बन्द गर्नुपर्ने हुन सक्छ ।’ अर्को बर्खासम्म बीपी राजमार्गमा धेरै काम हुने उनको दाबी छ ।

कान्ति राजमार्गमा भने ठेक्का भएर काम गरिँदै छ । यही राजमार्गमा पर्ने बगुवा खोलामा अहिले आधा भागमा मात्र राखिएको भए पनि पूरा बेलिब्रिज राखिने उनले बताए । नागढुंगा–मुग्लिन सडक खण्डको झ्याप्ले खोला र कृष्णभीरमा पहिरो रोक्ने गरी काम थालिसकिएको पनि उनले जानकारी दिए ।

उनका अनुसार दाउन्नेमा बर्खाअघि नै एकतर्फी दुई लेन सडक कालोपत्रे हुनेछ ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully