भीएफएक्समा उचाइ छुन खाेजिरहेका अविनाश

भीएफएक्स आर्टिस्टका अलवा अविनाश नापित निर्देशन, कन्टेन्ट क्रिएसन, डान्सर र कोरियोग्राफरका रुपमा समेत काम गरिरहेका छन्

वैशाख ८, २०८२

नुमा थाम्सुहाङ

काठमाडौँ — अविनाश नापितले भिडियो इडिटिङ कोर्स गरेका छैनन् । न उनले कुनै भिजुअल इफेक्ट्स (भीएफएक्स) र एनिमेसनको छुट्टै क्लास लिएका छन् । तर पनि उनी भीडियो एनिमेट गर्न र भिडियोमा इफेक्ट्स चलाउन सिपालु छन् । कान्तिपुरकाे भिडियाे कार्यक्रम 'वियाेन्ड दि फिड्स'मा अविनाशले आफ्नाे सुरुवाती संघर्षदेखि करिअर अगाडि बढाउँदा हुने द्विविधादेखि कामप्रतिकाे लगावकाे कथा साटेका छन् ।

‘भिडियो इडिटिङ सिकेर काम गरेको १० वर्षभन्दा बढी भइसक्यो,’ २८ वर्षीय अविनाशले सुनाए, ‘कसैले सोध्यो भने मसँग कुनै सर्टिफिकेट छैन । मैले गरेको प्रोजेक्ट र मेरो अनुभव नै मेरो सर्टिफिकेट हो ।’ अविनाश भिजुअल इफेक्ट्स (भीएफएक्स) आर्टिस्ट हुन् । यसबाहेक उनको अर्को परिचय डिरेक्टर, कन्टेन्ट क्रिएटर, डान्सर र डान्स कोरियोग्राफर रहेको छ । 

घरमा पढाइ मात्र नभइ बाहिरी गतिविधिमा पनि सहभागी हुनुपर्छ भनेर बुबाले नै अविनाशलाई नाच्न सिकाए । ‘घरमा मलाई पढाइमा मात्र नभइ एक्स्ट्रा एक्टिभिटीमा पनि फोकस हुनुपर्छ भनेर त्यही हिसाबले हुर्काउनु भयो,’ उनी भन्छन्, ‘एसएलसीको समयमा नाच्ने गर्थेँ । यसमा पनि राम्रो भयो र त्यसपछि दुई वर्ष कोरियोग्राफी गरेँ ।’

प्लस टुमा पढ्दै गर्दा उनले भिडियो इडिट सिकेँ तर कुनै एकेडेमीबाट भने होइन । 'डान्सर अनि भिडियो इडिटर हुँदै उनी कसरी भीएफएक्स आर्टिस्ट बन्न पुगे ?' उनले एकदिन क्याफेमा बसेर स्केच बनाइरहेका बेला एभिन्युज टिभीमा मोसन ग्राफिक्स गर्ने दाइसँगको भेट भएको सुनाए । भने, ‘दाइले मलाई भीएफएक्स सिकाउँछु भन्नुभयो । मैले पनि फ्रि अफ कस्टमा किन नगर्ने भनेर सिकेँ ।’ एक वर्ष उनीसँग सिकेपछि उनको भिडियो इडिटर, मोसन ग्राफिक्स आर्टिस्ट र भीएफएक्सको यात्रा सुरु भयो ।’ 

विस्तारै भिडियो इडिटरबाट कन्टेन्ट क्रिएटर हुँदै भीएफएक्स आर्टिस्ट बने । तर यी सबै काम जान्दा जान्दै पनि उनले आफू कुन कुरामा अघि बढ्ने भन्ने अन्योलमा परेको भने बताए । ‘आफूले आफूलाई एक्सप्लोर गर्ने समयमा यी सबै गरेँ । तर द्विविधा पनि हुँदो रहेछ कहाँ धेरै फोकस हुने भनेर,’ उनले भने, ‘बिस्तारै भिडियो इडिटिङबाट भीएफक्समा पुगेँ । अहिले डिरेक्सन र स्टोरी टेलिङमा जाँदैछु ।’ अविनाशलाई आफ्नै रुचिमा केन्द्रित भएर लाग्न भने कोभिड–१९ को लकडाउनले सहयोग गरेको र त्यतिबेलाको फुर्सदमा आफूले आफैँलाई निखार्ने मौका पाएको बताए । 

अविनाश अहिले निर्देशनको यात्रामा पनि अघि बढेका छन् । उनले ‘स्पेस’ नामक सर्ट फिल्म पनि निर्देशन गरिसकेका छन् । जुन फिल्मले ‘नेपाल सर्ट फिल्म कम्पिटिसन–२०२३’ जित्यो । अनि यही फिल्मबाटै उनले ‘बेस्ट डिरेक्टर’ को अवार्ड हात पारे । यही खुशीले उनलाई फिल्म मेकिङको बाटोतर्फ डोर्‍याएको छ । त्यसैले त उनी फिल्म मेकिङ पढिरहेका छन् ।

उनी यतिमै रोकिएका भने छैनन् । उनी अब टिम नै बनाएर राम्रो नतिजा निकाल्ने योजनाका साथ कम्पनी खोल्ने योजनामा छन् । ‘कति आफू मात्र बनाउने अरुलाई पनि सर्भिस दिउ भन्ने उद्देश्यले कम्पनी खोल्ने सोचमा छु । यसमा अझैं धेरै प्रोजेक्ट छन्,’ उनले भने, ‘तर अहिले गर्न लागेको प्रोजेक्ट भनेको म्युजिक नेपालसँग छ । यो निकै महत्वाकांक्षी छ । त्यसबाहेक ‘जेरी’ फिल्मको नयाँ स्वीकेन्समा भीएफएक्स सुपरभाइज गरिरहेको छु । यो समय मेरो लागि अगाडि बढ्ने समय हो ।’ 

अविनाश आफ्नो काममा कतिसम्म दत्तचित्त हुन्छन् भने उनलाई ३० सेकेन्डको भिडियो बनाउन एक साता लाग्छ । त्यसमा धेरै इफेक्ट र मोसनको प्रयोग अनि एनिमेट गर्नलाई धेरै समय खर्चिने उनी बताउँछन् । ‘सुटपछि थ्रीडी मोडलिङ गर्नेपर्ने हुन्छ । कहिलेकाहीँ बिहानको खाना नै बेलुकाको ५ बजे हुन्छ,’ आफ्नो काम गर्ने शैलीबारे अविनाश सुनाउँछन्, ‘मेरो टाइम नै डामाडोल छ । आफ्नो प्रोजेक्ट भयो भने निन्द्रा त्यागेर पनि एक हप्ता लगाएर भिडियो बनाउँछु । १२ बजेपछि मेरो लागि मलाई काम गर्न छुट्टै मजा आउँछ । अरुको दिमागले आराम गरिरहेको बेला हाम्रो दिमाग एक्टिभ भएर काम गरिरहेको हुन्छ ।’

अहिले भने भर्टिकल भिडियो चलेको र यसमा हाइपर इडिट चलाउने गरेको उनले बताए । ‘मान्छेलाई भिडियोमा तान्न भए पनि अलिकति तामझाम लगाउनै पर्छ । प्लेन हुने बित्तिकै मान्छेले स्किप गर्छन्,’ उनी भन्छन्, ‘सोसल मिडिया एक्सपर्टले के भन्छन् भने भिडियो एक सेकेन्डभित्र केही न केही तामझाम हुनैपर्छ । यसले भ्युज टाइम बढाउँछ । मैले पनि यही कुरा अपनाउँछु । बोलेर अथवा इफेक्ट प्रयोग गरेर मान्छेलाई हुक गर्न भिडियो बनाउँछु ।’

यसैगरी नेपालमा भीएफएक्स गर्ने धेरै भएको र राम्रो काम गर्न सके नेपालमै राम्रो आम्दानी हुने उनी बताउँछन् । ‘मैले पहिलो सन् २०१९ मा ५ जना इन्फ्लुएन्सरको भिडियो बनाएको दुई लाख रुपैयाँ चार्ज गरेको थिएँ । म मेरो मिहिनेत अनुसारको चार्ज गर्छु,’ उनी भन्छन्, ‘राम्रो काम गर्‍यो भने नेपालमै राम्रो छ । मलाई धेरैले राम्रो स्किल छ बाहिर जा भनिरहेको हुन्छ । तर मलाई यही मजाले पुगिरहेको छ ।’

नुमा थाम्सुहाङ कान्तिपुरकी पत्रकार हुन् । उनी आर्थिक-सामाजिक बिटमा कलम चलाउँछिन् ।

Link copied successfully