‘टीयू स्टुडेन्ट्स’ पेज : लाखौं विद्यार्थीलाई सूचना दिने माध्यम

वैशाख २, २०८२

नुमा थाम्सुहाङ

काठमाडौँ — देशकै जेठो र ठूलो त्रिभुवन विश्वविद्यालयमा अहिले झन्डै ५ लाख विद्यार्थी पढ्छन् । यहाँ पढ्ने विद्यार्थी भने सधैं विश्वविद्यालयले दिने परम्परागत सूचना वितरणको शैलीबाट आजित भेटिन्छन् । परीक्षाको तालिका होस् कि अपर्झट हुने बिदा । विश्वविद्यालयका कार्यक्रममा सूचना होस् कि अन्य विवरण । न त भनेको समयमा पाइन्छ न सजिलै यस्ता सूचना भेटिन्छन् ।

यही समस्याबाट पार पाउन यहाँका विद्यार्थीले सामाजिक सञ्जाल फेसबुकमा एउटा पेज सुरु गरे, ‘टीयू स्टुडेन्ट्स’ ।

यसका एडमिनमध्येको एक हुन्, २६ वर्षीय सौगात पोखरेल । यो पेज सुरु गर्ने आइडिया कसरी आयो त ? सौगातले आफू ब्याचलर पढ्दाको एउटा क्षण सुनाउँदै भने, ‘त्यतिबेला टीयूको पनिका (परीक्षा नियन्त्रण कार्यालय) को अफिसियल वेबसाइट थिएन । कतिपयले परीक्षा तालिका र रिजल्टबारे फेसबुकबाट गलत सूचना फैलाउँथे । यो सब देखेर आधिकारिक सूचना दिन सकियोस् भनेर सन् २०१५ देखि यो पेज सुरु गरेँ ।’ अहिले यो पेजलाई सौगातसहित चार जना विद्यार्थीले चलाइरहेका छन् । 

सौगातले भौतिकशास्त्रमा स्नातक सकिसकेका छन् । साइबर सुरक्षामा रुचि भएकै कारण उनी अहिले साइबर सेक्युरिटीमा स्नातक गर्दै छन् । सन् २०२१ मा फेसबुकको बग अर्थात् सुरक्षा कमजोरी पत्ता लगाएर  २१ लाख रुपैयाँको पुरस्कार जितेका सौगातले अहिलेसम्म फेसबुकमा रहेको ७० भन्दा बढी बग पत्ता लगाइसकेको दाबी गरे ।

फेसबुकको बग पत्ता लगाउने काममा पनि सौगातलाई  टीयू स्टुडेन्ट्सको पेज सहयोगी भएको छ । ‘यही पेजबाटै नयाँ फिचर थाहा हुन्छ । त्यही फिचर टेस्ट गर्छु,’ उनले भने,  ‘त्यहाँ पनि सुरक्षा कमजोरी पत्ता लगाइरहेको छु । यसबाट मलाई दोहोरो फाइदा भएको छ ।’ 

यो फेसबुक पेजमा सौगात र साथीहरुले विद्यार्थीका लागि भर्ना, परीक्षा, परीक्षा केन्द्र, नतिजाजस्ता सूचना सेयर गर्छन् । अनि केही निजी ट्युसन सेन्टरबाट शुल्क लिएर विज्ञापन पनि गर्छन् । बेलाबेला यो पेजमा आउनेहरुलाई रिफ्रेस होस् भनेर 'मिम' पनि राख्छन् । 

पढिरहेका र नयाँ विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयबारे पेजबाट आधिकारिक सूचना दिन सकेकामा उनी खुसी देखिन्छन् । तर कतिपयले भने यो पेजलाई विश्वविद्यालयको आधिकारिक पेज सम्झेर नीतिगत र अन्य प्रश्न सोध्छन्, जसको उत्तर भने एडमिनका साथीहरुले दिन सक्दैनन् ।

‘यहाँ जे प्रश्न सोधे पनि उत्तर पाइन्छ भन्ने तरिकाले धेरैले बुझ्नुभएको छ । तर यो पेज टीयूका विद्यार्थीबाट म्यानेज भएको हो,’ उनले भने, ‘त्यसको मतलब हामीलाई सबै कुरा थाहा हुन्छ भन्ने पनि छैन । कति धेरै प्रश्न आउँछन् । ती सबैको उत्तर हामी दिन सक्दैनौं ।’ 

झन्डै ४ लाख ८० हजारले फलो गरेको टीयू स्टुडेन्ट्स पेजको यात्रा कसरी सुरु भयो ? केही विद्यार्थीले सुरु गरेको यो पेज त्रिभुवन विश्वविद्यालयमा पढिरहेका लाखौं विद्यार्थीका निम्ति कतिको उपयोगी भइरहेको छ ? सौगातले कान्तिपुरको भिडियो कार्यक्रम ‘बियोन्ड द फिड्स’ मा आफ्ना अनुभव साटेका छन् ।

नुमा थाम्सुहाङ कान्तिपुरकी पत्रकार हुन् । उनी आर्थिक-सामाजिक बिटमा कलम चलाउँछिन् ।

Link copied successfully