भिडियो कुराकानीमा कुमारले आफ्नाे पृष्ठभूमि, युनिभर्सिटी अफ अक्सफोर्डमा रिसर्च फेलोको यात्रादेखि युनिभर्सिटी अफ क्याम्ब्रिजसम्मको अध्ययन यात्रा अनि संरक्षणकर्मीका सुखदुख र भविष्यका योजनाहरुबारे विस्तृतमा बताएका छन् ।
काठमाडौँ — घर कहाँ हो भनेर सोध्यो भने संरक्षणविद् कुमार पौडेलले सिन्धुपाल्चोक त भन्छन् नै । गाउँकै नाम भन्नुपर्यो भने चाहिँ उनी जुरे पहिरो गएको थियो नि, हो त्यही भन्दा माथिको गाउँ भनेर बताउँछन् । २०७१ साउन १७ मा गएको जुरे पहिरोमा एक सय ४५ जनाले ज्यान गुमाएका थिए । एक सय ५३ घरमा क्षति पुगेको थियो । त्यसैले पनि कुमारले जुरे भनेपछि उनी कहाँ जन्मे हुर्केका रहेछन् भनेर धेरैले सहजै अनुमान गरिहाल्छन् ।
यही जुरेमाथिको गाउँमा जन्मेका कुमारले हालैमात्र ३ सयभन्दा बढी अन्तर्राष्ट्रिय प्रतिस्पर्धीमध्येबाट छानिएर नेदरल्यान्ड्सको 'फ्युचर फर नेचर' फाउन्डेसनबाट ५० हजार युरोको प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड पाए । झन्डै ७६ लाख रुपैयाँको प्रतिष्ठित अवार्ड पाएका देशकै नाम राखेपनि कुमारले अहिलेसम्म सरकारी निकायबाट यसबारे औपचारिक सोधीखोजी पाएका छैनन् । राज्यको नजर नपुगेपनि कुमारलाइ यति ठुलो अन्तराष्ट्रिय अवार्डले हौसला मात्रै दिएको छैन, चुपचाप आफ्नो काममा लागिराख्न प्रेरणा दिएको छ । उनले सुनाए, 'शुभेच्छुक र यस क्षेत्रमा काम गरेकाहरुले सोधीखोजी गर्दै बधाई दिराख्नुभएको छ । यसैमा खुशी छु ।'
झन्डै दुइ दशकदेखि कुमार सालक संरक्षण र बन्यजन्तुको चोरीशिकारी विरुद्दको अनुसन्धान र अभियानमा संग्लन छन् । दिनभर दुलोभीत्र मात्रै बस्ने, शरिररको लम्बाइ भन्दा लामो जिव्रो भएको र कमिला र धमिरा मात्रै खाएर बाँच्ने सालकबारे जान्न, खोज्न र यसको संरक्षणमा लागीराख्न के कुराले प्रेरणा दियो होला । कान्तिपुरसँगको भिडियो कुराकानीमा उनले आफ्नो पृष्ठभूमी बताएर कुरा सुरु गरे । भने, 'चिनको सीमावर्ती गाउँमा जन्मेकाले मैले सानैदेखि सालक मार्ने, कतै बेच्न लैजाने जस्ता घटना देखेको थिए । पछि यसको महत्व, यसको पारिस्थितिक प्रणालीमा यसको मुल्यबारे बुझ्दै गए । अनि यसबारे खोज्दै जाँदा नयाँ नयाँ कुराले मलाइ यसैको अनुसन्धानमा तानिराख्यो ।'
एक वर्षमा ७ करोडभन्दा धेरै कमिला र धमिरा खाने सालकबारे बुझ्दै र खोज्दै उनी कहाँ कहाँ मात्रै पुगेका छैनन् । उनी सालकबारे बुझ्न नेपालका दर्जनौ जिल्लादखि भारत, श्रीलंका र ईन्डोनेसियासम्म पुगेका छन् । नेपालका ५० भन्दा बढी जिल्लामा पाइने काले र तामे प्रजातीका सालकको तस्करी र ओसारपसारमा स्थानिय मात्रै संग्लन छैनन्, बन्यजन्तु तस्करीको अन्तराष्ट्रिय समुह नै जोडिएको उनको अनुसन्धानले देखाएको छ । 
भुटानको मानस नेशनल पार्कमा सालकसम्बन्धी अध्ययनका क्रममा / तस्विर: कुमार पाैडेलकाे फेसबुकबाट
सालकको संरक्षणमा जोडिएका कुमार आईयूसीएनको सालक विशेषज्ञ समूह-एसियाका उपाध्यक्षसमेत हुन् । उनी दक्षिण एसिया र एसियामै सालक संरक्षणका लागि चालिएका विभिन्न अभियानमा जोडिएका छन् । युनिभर्सिटी अफ अक्सफोर्डमा रिसर्च फेलोको रुपमा काम गरेको अनुभव बटुलेर युनिभर्सिटी अफ क्याम्ब्रिजबाट एमफिल गरेका कुमार अहिले बेलायत सरकारको बायोडाइर्भसिटी एडभाइजरी ग्रुपका सदस्यको रुपमा समेत योगदान दिईरहेका छन् । युनिभर्सिटी अफ क्याम्ब्रिजबाटै विद्यावारिधीको तयारीमा रहेका कुमार आफु अझै जान्ने , बुझ्ने र खोज्ने क्रममा रहेको बताउँछन् । उनले सुनाए, 'प्रश्नहरु र ज्ञानको भोक लागेपछि मातजस्तो लाग्दो रहेछ ।'
सामान्य ग्रामिण पृष्ठभूमीबाट अघि बढेर युनिभर्सिटी अफ क्याम्ब्रिजसम्मको बाटो हिडदा कुमारले अनेकन तितामिठा क्षण बटुलेका छन् । उनले विगत सम्झिदै सुनाए, 'एसएलसी सकेपछि अब मेरो पढाइ सकियो । मुक्ति मिल्यो भन्ने सोचेको थिए । तर म अझैपनि पढने र खोज्ने काममै लागिरहेकै छु ।' पोखरा विश्विविद्धालयबाट एमएस्सी सक्नेबेला उनले बन्यजन्तु अपराधमा लागेर जेल परेका १६२ कैदी बन्दी भेटेर अनुसन्धान गरेका थिए । गरिबीका कारण मानिसहरु बन्यजन्तु अपराधमा लाग्छन भन्ने परम्परागत बुझाइबारे उनी थप जान्न चाहन्थे । उक्त अनुसन्धानको निचोड सुनाउँदै उनले भने, 'गरिबीका कारणले भन्दा पनि सजिलै पैसा कमाउन सकिन्छ र जेल परेकपनि एकाध वर्षमै छुटिहालिन्छ भनेर उनीहरु अपराधमा संग्लन हुँदा रहेछन् । जबकी जेल परेपछि मात्रै उनिहरुले थाह पाउँदा रहेछन, यसको मुल्य सामाजिक जीवनमा कति पर्छ भनेर ।'
कुमारको बुझाइमा बन्यजन्तु संरक्षणमा हाम्रा बुझाइहरु सिमित छन र त्यसमा थप अध्ययन र संरक्षण प्रणालीमा थप काम गर्नुपर्ने देखिन्छ । उनले सुनाए, 'सामान्य पृष्ठभूमीका मानिस ठुलो जोखिम मोलेर बन्यजन्तुको चोरीशिकारीमा संग्लन छन् । जबकी त्यसबाट ठुलो आर्थिक फाइदा अरु कसैले लिइरहको छ । सामान्य मानिस त्यसमा किन जोडिन बाध्य छन भनेर पनि बुझ्नुपर्ने हुन्छ ।' कुमारको यो अध्ययन सन् २०२० मा 'कन्जरभेसन साइन्स एन्ड प्राक्टिस' जर्नलमा प्रकाशित छ ।
कछुवा, सालक, गैंडा र लौठसल्लालगायतका संकटापन्न वन्यजन्तु र वनस्पतीको संरक्षणका लागि पौडेलले सन् २०१२ ग्रीनहूड नेपाल संस्था पनि स्थापना गरे । अहिले उनी यही संस्थाबाट सालक लगायतका बन्यजन्तुको संरक्षणमा अध्ययन र अनुसन्धान गरिरहेका छन् । बालबालिकाहरुलाई संरक्षणका विषयमा बुझाउन पुस्तक समेत लेखेका कुमार संरक्षणकर्मीको भूमिका अनुसन्धान, अध्ययन र लेखनमा मात्रै सीमित छैन, यस बिषयमा नयाँ पुस्तालाइ बुझाउन पनि उनी उत्तिकै लागीपरेका छन् ।
संयुक्त राष्ट्र संघले प्रकाशित गर्ने वल्ड वाइल्डलाईफ क्राइम रिपोर्टमा विज्ञका रुपमा समेत काम गरेका कुमार 'फ्युचर फर नेचर' अवार्डबाट प्राप्त रकम सालककै संरक्षण र अनुसन्धानमा खर्च गर्ने सोचमा छन् । उनले भने, 'सालकको संरक्षण र सम्बर्धनमा अझै धेरै काम गर्न बाँकी छ । मैले सोचेका थप अनुसन्धान र संरक्षण अभियानलाइ यो अवार्डले सघाउनेछ ।'
कुमारले कान्तिपुरसँगको भिडियो कुराकानीमा आफ्नो पृष्ठभूमी, युनिभर्सिटी अफ अक्सफोर्डमा रिसर्च फेलोको यात्रादेखि देखि युनिभर्सिटी अफ क्याम्ब्रिजसम्मको अध्ययन यात्रा अनि संरक्षणकर्मीका सुखदुख र भविष्यका योजनाहरुबारे विस्तृतमा बताएका छन् ।