सालकको संरक्षणमा डेढ दशकदेखि क्रियाशील कुमार, जसले पाए ५० हजार युराेकाे पुरस्कार

भिडियो कुराकानीमा कुमारले आफ्नाे पृष्ठभूमि, युनिभर्सिटी अफ अक्सफोर्डमा रिसर्च फेलोको यात्रादेखि युनिभर्सिटी अफ क्याम्ब्रिजसम्मको अध्ययन यात्रा अनि संरक्षणकर्मीका सुखदुख र भविष्यका योजनाहरुबारे विस्तृतमा बताएका छन् ।

चैत्र २६, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — घर कहाँ हो भनेर सोध्यो भने संरक्षणविद् कुमार पौडेलले सिन्धुपाल्चोक त भन्छन् नै । गाउँकै नाम भन्नुपर्‍यो भने चाहिँ उनी जुरे पहिरो गएको थियो नि, हो त्यही भन्दा माथिको गाउँ भनेर बताउँछन् । २०७१ साउन १७ मा गएको जुरे पहिरोमा एक सय ४५ जनाले ज्यान गुमाएका थिए । एक सय ५३ घरमा क्षति पुगेको थियो । त्यसैले पनि कुमारले जुरे भनेपछि उनी कहाँ जन्मे हुर्केका रहेछन् भनेर धेरैले सहजै अनुमान गरिहाल्छन् ।

यही जुरेमाथिको गाउँमा जन्मेका कुमारले हालैमात्र ३ सयभन्दा बढी अन्तर्राष्ट्रिय प्रतिस्पर्धीमध्येबाट छानिएर नेदरल्यान्ड्सको 'फ्युचर फर नेचर' फाउन्डेसनबाट ५० हजार युरोको प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड पाए । झन्डै ७६ लाख रुपैयाँको प्रतिष्ठित अवार्ड पाएका देशकै नाम राखेपनि कुमारले अहिलेसम्म सरकारी निकायबाट यसबारे औपचारिक सोधीखोजी पाएका छैनन् । राज्यको नजर नपुगेपनि कुमारलाइ यति ठुलो अन्तराष्ट्रिय अवार्डले हौसला मात्रै दिएको छैन, चुपचाप आफ्नो काममा लागिराख्न प्रेरणा दिएको छ । उनले सुनाए, 'शुभेच्छुक र यस क्षेत्रमा काम गरेकाहरुले सोधीखोजी गर्दै बधाई दिराख्नुभएको छ । यसैमा खुशी छु ।'

झन्डै दुइ दशकदेखि कुमार सालक संरक्षण र बन्यजन्तुको चोरीशिकारी विरुद्दको अनुसन्धान र अभियानमा संग्लन छन् । दिनभर दुलोभीत्र मात्रै बस्ने, शरिररको लम्बाइ भन्दा लामो जिव्रो भएको र कमिला र धमिरा मात्रै खाएर बाँच्ने सालकबारे जान्न,  खोज्न र यसको संरक्षणमा लागीराख्न के कुराले प्रेरणा दियो होला । कान्तिपुरसँगको भिडियो कुराकानीमा उनले आफ्नो पृष्ठभूमी बताएर कुरा सुरु गरे । भने,  'चिनको सीमावर्ती गाउँमा जन्मेकाले मैले सानैदेखि सालक मार्ने, कतै बेच्न लैजाने जस्ता घटना देखेको थिए । पछि यसको महत्व, यसको पारिस्थितिक प्रणालीमा यसको मुल्यबारे बुझ्दै गए । अनि यसबारे खोज्दै जाँदा नयाँ नयाँ कुराले मलाइ यसैको अनुसन्धानमा तानिराख्यो ।'

एक वर्षमा ७ करोडभन्दा धेरै कमिला र धमिरा खाने सालकबारे बुझ्दै र खोज्दै उनी कहाँ कहाँ मात्रै पुगेका छैनन् । उनी सालकबारे बुझ्न नेपालका दर्जनौ जिल्लादखि भारत, श्रीलंका र ईन्डोनेसियासम्म पुगेका छन् । नेपालका ५० भन्दा बढी जिल्लामा पाइने काले र तामे प्रजातीका सालकको तस्करी र ओसारपसारमा स्थानिय मात्रै संग्लन छैनन्,  बन्यजन्तु तस्करीको अन्तराष्ट्रिय समुह नै जोडिएको उनको अनुसन्धानले देखाएको छ ।  Under Salak's patronage for a decade and a half, Kriyasheel Kumar, who received an award of 50,000 euros

भुटानको मानस नेशनल पार्कमा सालकसम्बन्धी अध्ययनका क्रममा  /  तस्विर: कुमार पाैडेलकाे फेसबुकबाट

सालकको संरक्षणमा जोडिएका कुमार आईयूसीएनको सालक विशेषज्ञ समूह-एसियाका उपाध्यक्षसमेत हुन् । उनी दक्षिण एसिया र एसियामै सालक संरक्षणका लागि चालिएका विभिन्न अभियानमा जोडिएका छन् । युनिभर्सिटी अफ अक्सफोर्डमा रिसर्च फेलोको रुपमा काम गरेको अनुभव बटुलेर युनिभर्सिटी अफ क्याम्ब्रिजबाट एमफिल गरेका कुमार अहिले बेलायत सरकारको बायोडाइर्भसिटी एडभाइजरी ग्रुपका सदस्यको रुपमा समेत योगदान दिईरहेका छन् । युनिभर्सिटी अफ क्याम्ब्रिजबाटै विद्यावारिधीको तयारीमा रहेका कुमार आफु अझै जान्ने , बुझ्ने र खोज्ने क्रममा रहेको बताउँछन् । उनले सुनाए, 'प्रश्नहरु र ज्ञानको भोक लागेपछि मातजस्तो लाग्दो रहेछ ।'

सामान्य ग्रामिण पृष्ठभूमीबाट अघि बढेर युनिभर्सिटी अफ क्याम्ब्रिजसम्मको बाटो हिडदा कुमारले अनेकन तितामिठा क्षण बटुलेका छन् । उनले विगत सम्झिदै सुनाए, 'एसएलसी सकेपछि अब मेरो पढाइ सकियो । मुक्ति मिल्यो भन्ने सोचेको थिए । तर म अझैपनि पढने र खोज्ने काममै लागिरहेकै छु ।' पोखरा विश्विविद्धालयबाट एमएस्सी सक्नेबेला उनले बन्यजन्तु अपराधमा लागेर जेल परेका १६२ कैदी बन्दी भेटेर अनुसन्धान गरेका थिए । गरिबीका कारण मानिसहरु बन्यजन्तु अपराधमा लाग्छन भन्ने परम्परागत बुझाइबारे उनी थप जान्न चाहन्थे । उक्त अनुसन्धानको निचोड सुनाउँदै उनले भने, 'गरिबीका कारणले भन्दा पनि सजिलै पैसा कमाउन सकिन्छ र जेल परेकपनि एकाध वर्षमै छुटिहालिन्छ भनेर उनीहरु अपराधमा संग्लन हुँदा रहेछन् । जबकी जेल परेपछि मात्रै उनिहरुले थाह पाउँदा रहेछन, यसको मुल्य सामाजिक जीवनमा कति पर्छ भनेर ।' 

कुमारको बुझाइमा बन्यजन्तु संरक्षणमा हाम्रा बुझाइहरु सिमित छन र त्यसमा थप अध्ययन र संरक्षण प्रणालीमा थप काम गर्नुपर्ने देखिन्छ । उनले सुनाए, 'सामान्य पृष्ठभूमीका मानिस ठुलो जोखिम मोलेर बन्यजन्तुको चोरीशिकारीमा संग्लन छन् । जबकी त्यसबाट ठुलो आर्थिक फाइदा अरु कसैले लिइरहको छ । सामान्य मानिस त्यसमा किन जोडिन बाध्य छन भनेर पनि बुझ्नुपर्ने हुन्छ ।' कुमारको यो अध्ययन सन् २०२० मा 'कन्जरभेसन साइन्स एन्ड प्राक्टिस' जर्नलमा प्रकाशित छ ।
कछुवा, सालक, गैंडा र लौठसल्लालगायतका संकटापन्न वन्यजन्तु र वनस्पतीको संरक्षणका लागि पौडेलले सन् २०१२ ग्रीनहूड नेपाल संस्था पनि स्थापना गरे । अहिले उनी यही संस्थाबाट सालक लगायतका बन्यजन्तुको संरक्षणमा अध्ययन र अनुसन्धान गरिरहेका छन् । बालबालिकाहरुलाई संरक्षणका विषयमा बुझाउन पुस्तक समेत लेखेका कुमार संरक्षणकर्मीको भूमिका अनुसन्धान, अध्ययन र लेखनमा मात्रै सीमित छैन, यस बिषयमा नयाँ पुस्तालाइ बुझाउन पनि उनी उत्तिकै लागीपरेका छन् । 

संयुक्त राष्ट्र संघले प्रकाशित गर्ने वल्ड वाइल्डलाईफ क्राइम रिपोर्टमा विज्ञका रुपमा समेत काम गरेका कुमार 'फ्युचर फर नेचर' अवार्डबाट प्राप्त रकम सालककै संरक्षण र अनुसन्धानमा खर्च गर्ने सोचमा छन् । उनले भने, 'सालकको संरक्षण र सम्बर्धनमा अझै धेरै काम गर्न बाँकी छ । मैले सोचेका थप अनुसन्धान र संरक्षण अभियानलाइ यो अवार्डले सघाउनेछ ।' 

कुमारले कान्तिपुरसँगको भिडियो कुराकानीमा आफ्नो पृष्ठभूमी, युनिभर्सिटी अफ अक्सफोर्डमा रिसर्च फेलोको यात्रादेखि देखि युनिभर्सिटी अफ क्याम्ब्रिजसम्मको अध्ययन यात्रा अनि संरक्षणकर्मीका सुखदुख र भविष्यका योजनाहरुबारे विस्तृतमा बताएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully