काठमाडौँ — पोखराका मनिस अधिकारी चार बर्षदेखि कन्टेन्ट क्रियटरको रुपमा काम गरिरहेका छन् । अनि यही काममा उनी आफ्नो भविष्य पनि खोजीरहेका छन् । सन् २०१७ मा ख्याल–ख्यालमै युट्युबका लागि कन्टेन्ट बनाउन थालेका उनी हिजोआज कस्तो भिडियो बनाउने, कसरी बनाउने र कस्ता बिषय खोज्दा भ्युज बढाउन सकिन्छ भन्ने बिषयमा जानकार भईसकेका छन् ।
सुरुवाती दिनमा त उनी पनि अरु जस्तै अलमलमै थिए । पुरानो दिन सम्झिदै उनले सुनाए, ‘मैले मेरै नामको युट्युब च्यानल त्यतिकै खोलेको थिए । त्यसमा म कहिले गीतहरूको लिरिक्स, कहिले इन्डियन सिरियलको भिडियोहरू राख्थे । जे मन लाग्यो त्यही राख्थे । कसरी चल्ने पनि थाहा थिएन ।’
काम गर्दै सिक्दै उनले लय समाते । आफ्नो रुची पत्ता लगाए अनि कस्तो बिषयका कन्टेन्टहरुको नेपालमा खाँचो छ भन्ने पनि पत्ता लगाए । ‘मलाई खासमा पहिल्यैदेखि गाडीहरूमा एकदमै रुचि थियो,’ उनले भने, ‘म इन्डियन र विदेशीले बनाएको गाडीको भिडियो हेर्थे । तर नेपालमा भने अटोबारे कसैले भिडियो बनाएको देखिन ।’
नेपालमा कसैले पनि अटोमोबाईल्स प्रडक्टबारे भिडियो बनाएको नदेखेपछि उनले आफ्नो नामको युट्युबलाई ‘हाम्रो मोटर्स’ मा बदले । अनि बनाउन थाले गाडीको ईतिहास देखि नयाँ मोडलका गाडीका बिशेषता र यसमसम्बन्धी अनेकन रोचक विवरण समेटिएका भिडियो कन्टेन्ट । ‘मैले एउटा भिडियो नेपालका राजाले चढ्ने गाडीको एउटा भिडियो राखेको थिए,’ उनले भने, ‘त्यो भिडियो धेरैले हेर्नुभयो । त्यसपछि मलाई जाँगर चल्यो ।’
बिस्तारै उनले नेपालमा व्यवसायी, चर्चित व्यक्तिलगायतले चढ्ने र प्रयोग गर्ने गाडी, तिनीहरूको विशेषताको सहितको छोटो भिडियो बनाएर राख्न सुरु गरे । यसपछि भने उनलाई ती ब्रान्डहरूले नै भिडियो बनाइदिन र रिभ्यु गर्नका लागि अफर आउन थाल्यो ।
सूचना प्रविधिमा स्नातक गरेका कारण पनि मनिसलाई आफ्नो काममा थप सजिलो भएको छ । किनकी उनी प्रविधीका बिषय सजिलै बुझ्छन अनि त्यसलाई आम मान्छेले बुझ्ने भाषामा कसरी भन्न सकिन्छ भन्नेबारे पनि सजिलै निष्कर्षमा पुग्छन् ।
आज मनिस जुन ठाउँमा आईपुगेका छन् । त्यहाँ आईपुग्न उनले अनेकन हन्डर र ठक्कर खाएका छन् । तर ति सबै अनुभवबाट उनले पाठ भने सिकेका छन् । ‘सुरुमा भिडियो नचल्दा साह्रै डिमोटिभ भए,’ २५ वर्षीय मनिस भन्छन्, ‘तर बिस्तारै चले । एउटै र अरुभन्दा भिन्न कन्टेन्ट दिन सक्नुपर्ने रहेछ ।’
अहिले उनी ‘हाम्रो मोटर्स’का अलवा ‘एक्सप्लेनर नेपाली’ नामक ईन्स्टाग्राम पेज पनि चलाउँछन् । यसमा उनले २०२३ देखि नेपाली विद्यार्थीको लागि कन्टेन्ट बनाईरहेका छन् । विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय कम्पनी तथा ब्रान्डसँग मिलेर काम गरिरहेका सफल निरन्तर प्रतिबद्ध भएर काम नर्गने हो भने युट्युबका लागि भिडियो बनाएर मात्रै सफल हुन सकिन्न् ।
कन्टेन्ट क्रिएटर मनिसले कान्तिपुरको भिडियो कार्यक्रम वियोन्ड द फिड्समा कन्टेन्टका क्रिएटटिभ आईडिया, स्ट्राटेजी र कन्टेन्ट क्रिएटरको रुपमा कसरी स्थापित हुन सकिन्छ भन्नेबारे आफ्नो अनुभवहरु साटेका छन् ।