काठमाडौँ — दीपक रौनियार त्यस्ता निर्देशक हुन्, जसले पहिलो पटक नेपाली फिल्मलाई विश्वका प्रमुख फिल्म महोत्सवमा पुर्याएका थिए । उनको निर्देशनमा बनेको फिल्म हाइवे (२०१२) विश्व प्रतिष्ठित फिल्म महोत्सव बर्लिनमा प्रिमियर गरिएको थियो । यो फिल्म लोकार्नो फिल्म महोत्सवमा पनि देखाइएको थियो ।
सन् २०१६ मा उनले निर्देशन गरेको 'सेतो सूर्य' त भेनिसको ओरिजोन्टी विधातर्फ छनौट भइ विभिन्न अन्तर्राष्ट्रिय महोत्सवहरु लोकार्नो, टोरोन्टो, रोट्रोड्राममा देखाइएको थियो ।
उनको पछिल्लो फिल्म 'राजागंज' पनि भेनिसमा छनौट भएको थियो । यो फिल्मलाई विश्व बजारमा 'पूजा सर' शीर्षकमा देखाइएको हो । निर्देशक रौनियार आफ्ना तीन फिचर फिल्मलाई 'ट्रियोलजी'का रुपमा चर्चा गर्छन् । लघु फिल्म 'चौकठि'मा निर्देशन गरेका रौनियार, समाजका विभिन्न मिहिन विषयवस्तुमा फिल्म बनाउँछन् । उनका फिल्ममा मधेस, महिला र समाजका जटिल विषयहरु समेटिएका हुन्छन् ।
समाजका यस्तै जटिल पक्षहरुलाई सरल ढंगमार्फत प्रस्तुत गर्ने रौनियारका फिल्म राजनीतिक पक्षले पनि सशक्त हुन्छन् । 'हाइवे, सेतो सूर्य र राजागंज अन्तरसम्बन्धित फिल्महरु थिए, ट्रियोलजी थियो यो खासमा । अब यो ट्रियोलजी पूरा भयो,'रौनियारले भने । 'हाइवे'मा बन्दले पार्ने असर देखाइएको थियो । त्यस्तै सेतो सूर्यमा माओवादी द्वन्द्व थियो, राजागंजमा मधेस आन्दोलन ।
समाजका विभिन्न पात्रहरुको कथा भन्दै गर्दा निर्देशक रौनियारले यी पक्षहरुलाई पृष्ठभूमिमा राखेर फिल्म बनाए । निर्देशक रौनियार अहिले मास्टरसेफ सन्तोष शाहमाथि फिल्म बनाउँदैछन् ।
कान्तिपुरको भिडियो कुराकानी गर्दै रौनियाले राजागंजको निर्माणको अन्तरकुन्तरदेखि भविष्यको योजनासम्मका कुरा साटे ।