गाजामा इजरायलको हवाईसँगै स्थल आक्रमण, विपिनको रिहाइ कहिले ? 

चैत्र ७, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — गाजामा युद्धविराम सम्झौताको वेवास्ता गर्दै हवाई आक्रमण थालेको इजरायलले बिहीबारदेखि स्थल आक्रमण पनि सुरू गरेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सेनाले गाजामा बुधबार राति र बिहीबार बिहान गरेका आक्रमणमा कम्तिमा ८५ प्यालेस्टिनीहरू मारिएका छन् । 

इजरायली रक्षा बल (आईडीएफले) दक्षिणी गाजाको खान युनुस र रफाह सहर तथा उत्तरी सहर बेत लाहियामा आक्रमण तीव्र पारेको हो । आईएफडीले सोमबार र मंगलबार गरेका आक्रमणमा ४ सय ३० भन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाएका थिए । मारिनेमध्ये सयभन्दा बढी बालबालिका तथा महिला छन् । ती आक्रमणमा ६ सय ६० जना भन्दा बढी घाइते भएका थिए । 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी क्षेत्रमा लडाइँ पुनः सुरू गर्ने बताएलगत्तै इजरायली रक्षा बल (आईडीएफ)ले थप आक्रमण गरेको हो । नेतान्याहूले हमासविरुद्ध ‘पूर्ण शक्तिका साथ लडाईं गर्ने’ बताएका थिए । पछिल्ला आक्रमण ‘सुरुवात मात्र’ भएको उनको भनाइ छ । 

तीन दिनयता गरिएका आक्रमण १९ जनवरीमा दुई पक्षबीचको युद्धविराम सम्झौता लागू भएयताकै भीषण हो ।  उक्त सम्झौतामा युद्धविराम तीन चरणमा लागू हुने उल्लेख छ । युद्धविरामको पहिलो चरणमा नै दोस्रो चरणबारे वार्ता हुने भनिएको थियो । तर उक्त वार्ता हुन सकेको छैन । 

प्रस्तावित दोस्रो चरणमा इजरायलले गाजाबाट सेना फिर्ता गर्ने उल्लेख छ । तर इजरायल र अमेरिकाले पहिलो चरणको अवधि बढाउन जोड दिएका थिए । उक्त अवधिमा थप प्यालेस्टिनी कैदीहरूको बदलामा बाँकी बन्धक रिहा गर्ने उनीहरूको प्रस्ताव थियो । तर त्यसमा हमास सहमत नभएपछि युद्ध पुन: चर्केको हो । 

नेतान्याहुले बाँकी बन्धकहरूको फिर्तीका लागि लडाइँ पुनः सुरू गर्नुपरेको बताएका छन् । इजरायली सेनाले आक्रमण थप तीव्र पारेसँगै नेपाली युवा विपिनसहित हमासको नियन्त्रणमा रहेका बाँकी ५९ बन्धहरूको रिहाइ थप अनिश्चित बनेको छ ।

कान्तिपुर

Link copied successfully