काठमाडौँ — एमाले सासंद ईश्वरी घर्तीका निम्ती उति बेला माओवादी केन्द्रको उद्गम थलो रोल्पामा बसेर एमालेको राजनीति गर्नु तरबारको धारमा हिँड्नु जस्तै थियो । किनकी उनी त्यही गाउँमा नुवागाउँमा जन्मिएकी थिइन् । जहाँ माओवादीले जिल्लाकै पहिलो समानान्तर सरकार गठन गरेर आफ्नो पकड विस्तार गरेको थियो ।
सुरुवाती दिनमा जानी/नजानी माओवादीका आँखा छल्दै एमालेको भ्रातृसंगठन अनेरास्ववियुको राजनीति सुरु गरेकी ईश्वरीले पछि राजनीतिको शक्ति र महत्व बुझ्दै गइन् । माओवादीको शसस्त्र युद्ध अघि बढदै गएपछि साठीको दशकमा उनले धेरै नै अप्ठ्यारोहरुको सामना गरिन् । माओवादीको आधार क्षेत्रमा एमाले राजनीति जोगाउन उनका निम्ती त्यति सजिलो थिएन ।
एमालेको संगठित सदस्य बन्न आवश्यक २५० रुपैयाँ जुटाउन कठिन भएका दिनहरुबाट गुज्रेकी ईश्वरी २०७८ मा चितवनमा भएको एमालेको दशाैं महाधिवेशनमा सबभन्दा कान्छो केन्द्रीय सदस्यमा निर्वाचित भइन् । ‘माओवादीको प्रभावका कारणले होला, आफ्नो राजनीति अघि बढाउनुपर्छ भन्ने लागेको थियो,’ उनले भनिन्, ‘म ३३ वर्षको उमेरमा केन्द्रीय सदस्य चयन हुन त्यही राजनीतिक प्रतिबद्धताले काम गरेको हुनुपर्छ ।’
केन्द्रीय सदस्यका लागि दौडादौड भइरहेका बेला रोल्पामा कहिलै माओवादीसँग सीधा नजुधेरै उनले एमाले राजनीतिलाई अघि बढाइन् । उनको राजनीति यतिबेला संसद्सम्म पुगेको छ । केन्द्रीय सदस्य भएको अर्को वर्ष उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन् । भन्छिन्, ‘राजनीतिक भनेको त्याग, इमानदारी र प्रतिबद्धता रहेछ । माओवादीको चर्को दबाब भएका बेला राजनीति छोडेको भए त्यही सकिन्थ्यो होला ।’
देशमा केही भएन भन्नेहरुको जवाफ कामले दिनुपर्ने बुझाइ राख्ने ईश्वरीले कान्तिपुरसँगको भिडियो कुराकानीमा कतिपय युवावर्गमा जिउँदाे इतिहासबारे भ्रम सिर्जना भईरहेको बताइन् । देशमा केही पनि भएन भन्ने भाष्य किन बनिरहेको छ ? अनि यस्तो भाष्य कति सत्य छ भन्नेदेखि आफ्नो राजनीतिक यात्रासम्मका उकालीओराली बुझ्नका लागि भिडियो हेर्नुहोस् ।