नेपाल र नेपाली महिलालाई चिनाउन नेपालका १७ हिमाली जिल्लाको १७ सय किलोमिटर लामो पदयात्रामा पहिलोपटक निस्कियो नेपाली महिला टोली
काठमाडौँ — विश्वमै सबैभन्दा लामो तथा चुनौतीपूर्ण पदमार्गमध्ये नेपालको ग्रेट हिमालयन ट्रेल (जीएचटी) विश्वभर पर्यटक तथा व्यवसायीहरुमाझ लोकप्रिय छ । कोशी प्रदेशको ताप्लेजुङबाट सुरु भएर १७ वटा हिमाली जिल्लाहरुको फेदैफेद सुदूरपश्चिम प्रदेशको दार्चुलामा टुंगिने १७ सय किलोमिटर लामो यो रुटमा सिन्धुपाल्चोकी आरोही माया गुरुङको नेतृत्वमा १२ जना नेपाली महिलाहरु सहभागी भएका छन् ।
अन्तर्राष्ट्रिय महिला दिवस २०२५ को छेको पारेर सुरु भएको पदयात्राको नेतृत्व गरेकी माया गुरुङ सन् २००८ मा आयोजित पहिलो समावेशी महिला सगरमाथा आरोहण दलकी सदस्य हुन् । त्यस्तै यो साहसिक पदयात्रामा सिन्धुपाल्चोककै शान्ति थिङ तामाङ, संगिता विश्वकर्मा, दिपा लामिछाने, रंजिता लामा, वर्षा बिक, सरस्वती तामाङ, श्रृष्टी तामाङ, अनिशा श्रेष्ठ, संगीता तामाङ, प्रमिता सापकोटा र मनमाया तामाङ छन् । १९ वर्षदेखि ४५ वर्ष उमेर समूहका यी महिलामध्ये शान्ति मात्र एक सन्तानकी आमा हुन् ।
नेपाली महिलाहरुलाई अझ बढी हिमाल आरोहण, साहसिक पदयात्रालगायत पर्यटन व्यवसायमा सहभागी गराउनका लागि प्रोत्साहन दिलाउन यो पदयात्राको एउटा मुख्य उद्देश्य रहेको मायाले बताइन् । पदयात्रामा निस्केका सबै महिला पेसाले केही माउन्टेन गाइड केही ट्रेकिङ गाइड छन् । मनमाया भने संचारकर्मी हुन् ।
विश्वमाझ नेपाल पनि चिनाउने उद्देश्य पनि रहेको यो पदयात्रामा उनीहरु सबैले आफैं खर्च जुटाएर यो कार्यक्रम आयोजना गर्न लागेको बताएका छन् । ‘सय दिन हाराहारीको यो पदयात्रामा हामीले झण्डै डेढ करोड रुपैयाँ लाग्ने अनुमान गरेका छौं,’ हिमालकी छोरी उपनामले चिनिएकी मायाले भनिन्,‘यो हिसाबले प्रत्येकको भागमा १२ देखि १५ लाख रुपैयाँ खर्च पर्ने छ । यो रकम हामी सबैले आ–आफै संकलन गरीरहेका छौं ।’
यी महिलाई सघाउन करिब २० जना अतिरिक्त भरिया लगायतको टोली सहभागी छ । पदयात्रामा दाङ घर भएका ६२ वर्षका सुन्दरकुमार चौधरी पनि सहभागी हुँदैछन् । जो अर्को वर्ष सगरमाथा आरोहणको तयारीका लागि पदयात्रामा सहभागी हुँदैछन् ।
६१ सय मिटर उचाइसम्मको पदयात्रा गर्ने यो टोलीले पदयात्राको रुटलाई पूर्व ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्म १० वटा हिमखण्डमा विभाजन गरेको छ । हरेक खण्डको नेतृत्व १२ जनाको भागमा परेको छ । ‘हरेक खण्डमा टोली नेता फेरिँदै जाने छ । यी खण्डमा हामीसँग पदयात्रा गर्न विभिन्न क्षेत्रबाट चासो व्यक्त भएको छ । बाहिरबाट पदयात्रा गर्न चाहनेलाई हामीले स्वागत गरेका छौं ।’