कहिले सकिएला नारायणगढ–बुटवल सडक विस्तारको काम ?

फाल्गुन २२, २०८१

विमल खतिवडा

काठमाडौँ — नारायणगढ–बुटवल सडक विस्तारको काम थालेको ६ वर्ष भयो । तर निर्माण प्रगति ६० प्रतिशत कट्न सकेको छैन । २०७५ चैतमा ठेक्का सम्झौता भएअनुसार यसको काम ०७९ साउनभित्र सकिसक्नुपर्ने हो । तर, कोभिड–१९ र निर्माण सामग्री अभावको कारण देखाएर पहिलो पटक ०८० साउन ११ गतेसम्मका लागि म्याद थप भएको थियो ।

तर, उक्त समयभित्र पनि काम सकिएन । दोस्रो पटक ०८१ साउन ८ सम्म म्याद थप गरियो, काम सकिएन । तेस्रो पटक ०८२ साउन ८ सम्मका लागि म्याद थप गरिएको छ । अहिलेसम्म निर्माण प्रगति ५७.५० प्रतिशत मात्र छ । बर्खाअघि सबै काम नसकिए पनि एकतर्फी सडक कालोपत्र गरेर सवारी साधन सञ्चालनमा सहज हुनेगरी निर्माण व्यवसायीलाई काम गर्न ताकेता गरिरहेको आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चुडाराज ढकालले बताए ।

पुसपछि भने कामको गति बढेको उनको भनाइ छ । ‘सुरुका दिनमा निर्माण सामग्री अभाव, रुख कटान, विद्युत्‌का पोल सार्न ढिलाई हुँदा पनि कामले गति लिन सकेको थिएन,’ ढकालले भने, ‘पछि व्यवसायीले लो बिडमा ठेक्का लिँदा घाटा भएको भन्दै काममा ढिलाई गरिरहेका थिए, पटक/पटक चिठ्ठि लेखेर काम सक्नभन्दा पनि नगरेपछि मन्त्रालय तहबाटै निर्माण व्यवसायीको मुख्य कार्यालयमै ध्यानाकर्षण गराएपछि कामले गति लिएको छ ।’

निर्माण कम्पनीको मुख्य कार्यालयबाट पैसाको समेत व्यवस्थापन गरेका कारण अहिले कामको गति बढेको दाबी उनको छ । १ सय १३ किलोमिटर दूरी रहेको सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का गरिएको छ । ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको हो । यसको दुई खण्ड गरेर ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ छ ।

‘धुँवा, धूलो र ट्राफिक जामको सास्ती छ, हामीले बुझेका छौं,’ उनले भने, ‘यही बुझेर नै काम छिटो सक्न दबाब दिइरहेका छौं, निर्माण सकिएपछि पनि ५ वर्षसम्म ठेक्का लिने व्यवसायीले नै सडकको मर्मत सम्भारको काम गर्नुपर्ने छ ।’

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully